गुल्मीको रेसुङ्गा नगरपलिकाले 'जाँ हिँड रेसुङ्गा' अभियान सुरू गरेको छ।
जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल रेसुङ्गा र अन्य स्थलहरूको पर्यटन प्रवर्द्धनका लागि यो अभियान सुरू गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए।
रेसुङ्गाको पर्यटकीय पूर्वाधार विस्तार गर्दै धेरै पर्यटक आउने वातवरण बनाउन यस्तो अभियान सुरू गरिएको उनले बताए। यसले स्थानीय व्यवस्याको साथै रोजगारी वृद्धिमा पनि सहयोग पुर्याउने पन्थीको भनाइ छ।
यो अभियान अन्तर्गत आगामी आर्थिक वर्ष २०८०/८१ मा एक लाख आन्तरिक तथा जिल्ला बाहिरका पर्यटक संख्या पुर्याउने नगरपालिकाको लक्ष्य छ।
रेसुङ्गा विमानस्थलको नियमित उडान सुरू भएकोले पनि अभियानमा सहयोग पुग्ने बताइएको छ।
नगरप्रमुख पन्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै गुल्मीलाई पर्यटनसँग जोड्ने कार्यक्रमका रूपमा यो अभियान अघि बढाइएको बताएका छन्।
धार्मिक, जैविक र प्राकृतिक कारणले पनि पर्यटकको आकर्षक क्षेत्र हुने अपेक्षा गरिएको छ। धार्मिक हिसाबले त्रेता युगदेखि रामचन्द्र भगवानसम्मले सिद्धी प्राप्ति गरेको क्षेत्रको रूपमा चिनिन्छ।
प्राकृतिक हिसाबले नेपालमा मात्र पाइने 'काँडे भ्याकुर' चरा लगायतका सयौं चराहरू पाइने क्षेत्रका साथै सयौं जडिबुटी तथा ढकमक्क फुलेको लालिगुराँसले यो क्षेत्रको महत्व बढेको नगरप्रमुख पन्थीको भनाइ छ।