प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेशनलको 'वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट–२०२३' दीगो पर्यटन तथा डिजिटाइजेशनमा जोड दिँदै सम्पन्न भएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पाटा इन्टरनेशनलको मुख्य आयोजना एवं पोखरा महानगरपािलका र पोखरा पर्यटन परिषद्को संयोजनमा यही जेठ १६ गतेदेखि पोखरामा मार्ट सुरू भएको थियो।
चार दिनसम्म चलेको सम्मेलन तथा मार्टमा भएको बहस तथा छलफलमा आर्थिक विकासको दीगो पर्यटन आजको आवश्यकता भएकोमा विज्ञहरूले जोड दिएका छन्।
उनीहरूले बदलिँदो परिवेशमा पर्यटन विकास र प्रवर्द्धनको लागि डिजिटाइजेशनलाई समेत सगसँगै लैजानुपर्ने बताए।
उनीहरूले विश्व पर्यटन कोभिड अघिको लयमा फर्किन थालेपनि पर्यटनले आर्थिक मन्दिको असर ब्यहोरिरहेको बताए।
विज्ञहरूले विश्वको पर्यटनलाई कोभिड अघिको अवस्थामा फर्किन करिब एक वर्ष कुर्नु पर्ने धारणा समेत राखे।
पाटाले नेपालमा पहिलोपटक सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा विभिन्न २१ देशका अतिथि, क्रेता र बिक्रेतासहित २५० भन्दा बढीको सहभागीता थियो।
मार्टमा विभिन्न देशका पर्यटन विज्ञहरूले विश्वको पछिल्लो पर्यटनको अवस्था, चुनौती र अवसर, आर्टिफिसियल इन्टेलिजेन्स, सोशल मिडिया इन्फ्लुयन्स, महामारी र दीगो पर्यटनका विभिन्न आयामबारे बहस तथा छलफल गरे।
सम्मेलनमा पाटाको वार्षिक शिखर सम्मेलन, मुख्य कन्फेन्स, पाटा मार्ट बिटुबी, युथ सिम्पोजियम र नेपालको पर्यटकीय गन्तव्यको भ्रमण अनुभव साटासाट लगायतका कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रम समापनसँगै पाटा इन्टरनेसनलका अध्यक्ष पिटर साइमोनले भव्य र व्यवस्थित रूपमा पाटा शिखर सम्मेलन तथा एडभेन्चर मार्ट आयोजना गरेकोमा बधाई दिँदै यो सम्मेलनले नेपाललाई सुन्दर, सुरक्षित र साहसिक पर्यटनको गन्त्वयका रुपमा चिनाउन सघाउ पुग्ने बताए।
पाटा इन्टरनेशनल सुमन पाण्डेले वार्षिक सम्मेलन तथा एडभेन्चर मार्ट भव्यरूपमा सम्पन्न भएको र यसले नेपाललाई साहसिक गन्तव्यका रूपमा थप परिचित गराउने बताए।
बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले विभिन्न देशबाट सहभागी विज्ञ सदस्यहरूका बीचमा भएको छलफल र अन्तर्क्रिया सहितको पाटा मार्टले कोभिडपछि लयमा फर्किदै गरेको पर्यटनमा नयाँ आयाम थप्ने जानकारी दिए।