नेपाल एसोसियसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेको छ।
नाट्टाका अध्यक्ष रमेश थापाले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै यही जेठ १५ गते सरकारले सार्वजनिक गरेको बजेट भाषणमा विदेश भ्रमण गर्दा लाग्ने शुल्क र टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेका हुन्।
विदेश जानका लागि सरकारले लिँदै आएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त भ्याट लिने व्यवस्था बजेटमा गरिएको छ।
नेपालबाट टिकट काट्दा भ्याट तिनुपर्ने र विदेशबाट टिकट काट्दा भ्याट तिर्नु नपर्ने व्यवस्थाले नेपाली टुर तथा ट्राभल कम्पनी मारमा पर्ने अध्यक्ष थापाले बताए।
नाट्टाले कोरोना महामारीपछि तंग्रिदै गरेको नेपालको पर्यटन व्यवसायमा साविककै आन्तरिक तथा अन्तर्राष्ट्रिय भाडादर महँगो रहेको अवस्थामा भ्याट थप्दा भाडादर झनै महँगो पर्ने र यात्रुले खरीद गर्न नसक्ने अवस्था देखिएको जनाएको छ।
पर्यटन व्यवसाय र सम्बन्धित सरोकारवाला निकायसँगको छलफल र समन्वय बिना ल्याइएका नीति, नियमले उपभोक्ता, पर्यटन व्यवसायी र समग्र पर्यटन क्षेत्रलाई नै प्रतिकुल असर पर्ने नाट्टाले जनाएको छ।
बजेटले सुविधा सम्पन्न तथा तारे होटलमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्था गर्नु गलत भएको अध्यक्ष थापाको भनाइ छ।
गत आर्थिक वर्षको तुलानामा आर्थिक वर्ष २०८०/८१ का लागि पर्यटन क्षेत्रमा साढे २ अर्ब रुपैयाँभन्दा बढी रकम थप गरिनु नेपालको समग्र पर्यटन उद्योगीका लागि खुशीको कुरा भएको नाट्टाले जनाएको छ।