दोलखामा पहिलो पटक 'सोक्ला रक क्लाइम्बिङ महोत्सव २०८०' सुरू भएको छ।
बिहीबार र शुक्रबार हुने रक क्लाइम्बिङ महोत्सवमा सोक्ला क्षेत्रमा आन्तरिक तथा विदेशी पर्यटकको उपस्थिती हुने सोक्लाश्वरी पर्यटन विकास समाजले बताएको छ।
क्लाइम्बिङ हवका रूपमा सोक्ला गाउँ बनाउने उद्देश्यसाथ दुई दिने महोत्सव आयोजना गर्न लागिएको समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए।
'साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले सोक्लामा रक क्लाइम्बिङ सुरू गरिएको हो', उनले भने, 'सोक्ला पहाड हो। अब दोलखा आउने पर्यटकले सोक्ला पुगेर एडभेन्चरको मज्जा लिन सक्नेछन्।'
उनकाअनुसार चार सय मिटरको उचाइमा रहेको सोक्लाको भीरमा आयोजना गरिने रक क्लाइम्बिङको लागि २५÷२५ मिटरको दुई वटा सिंगल पिचको रक रुट तयार गरिएको छ।
रक क्लाइविङ महोत्सवमा झण्डै तीन सयको सहभागिता रहने अपेक्षा गरिएको छ। यस अवसरमा निःशुल्क रूपमा रक क्लाइम्बिङमा सहभागि हुन पाउनेछन्।
सदरमुकाम चरिकोटबाट आठ किलोमिटर दुरीमा रहेको सोक्ला गाउँ धार्मिक एवं सांस्कृतिकरूपमा समेत महत्वपूर्ण रहेको उनले अध्यक्ष प्राखिनले बताए।
सोक्ला गाउँ विशेषगरी कृषि पर्यटनसँगै, पर्यापर्यटन, साहसिक पर्यटन, चरा पर्यापर्यटन, गौरिशंकर शृंखलाको दृश्य हेर्ने गन्तव्य र धार्मिक अध्ययन अनुसन्धानका लागि यो क्षेत्र प्रसिद्ध छ।
यहाँ सत्य युगमा तामाकोसी रोकेर ताल बनाउनका लागि कालिञ्चोक क्षेत्रबाट आएका डिलढुंगाहरु अहिले पनि इतिहास भएर उभिएको उनले जानकारी दिए।
नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजना हुन लागेको सोक्ला रक क्लाइम्बिङ महोत्सवका लागि माउन्टेन गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष सञ्जीव गुरुङ, उपाध्यक्ष तथा आठौंपटक सगरमाथा आरोही पासाङ भोटे र महासचिव रामकाजी तिवारीको टिमले दुईवटा रुट निर्माण गरेको हो।
रक क्लाइम्बिङ महोत्सवमा १० लाख खर्च हुने र क्लाइम्बिङ गर्न कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ।