चीनको सिचुवान प्रान्तका उद्यमीहरूले बुधबार नेपालमा भेटघाट गरेका छन्।
दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले व्यापार, लगानी लगायतका विषयमा छलफल गर्न काठमाडौंमा एक कार्यक्रम गरिएको हो।
चिनियाँ कम्युनिस्ट पार्टी सिपिसीका नेता तथा सिचुवान प्रान्तका पार्टी सचिव वाङ स्यावो हुइले भेटघाटले दुई देशबीचको सम्बन्ध थप प्रगढ बन्ने विश्वास व्यक्त गरे।
साथै हातोमालो गर्दै आपसी समझदारीमा दुई देशबीचको सुन्दर भविष्य निर्माण गर्न आवश्यक योगदान पुर्याउने बताए।
उनका अनुसार यस्तो उच्च स्तरीय भेटघाटले आगामी दिनमा व्यपार र आवश्यक लगानी विस्तारमा सहयोग पुर्याउनेछ।
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुई देशहरूबीच गहिरो आर्थिक तथा सामाजिक सम्बन्धलाई अझ बलियो बनाउने गरी महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे।
सिचुवान प्रान्तबाट आएका टोलीलाई स्वागत गर्दै गृहमन्त्री श्रेष्ठले उच्च स्तरीय भ्रमणले आगामी दिनमा दुई देशबिचको सम्बन्ध थप मजबुत बन्ने बताए।
भेटघाट र कार्यक्रमले आगामी दिनमा दुई देशबीचको सम्बन्धले नयाँ गति लिने बताउँदै गृहमन्त्री श्रेष्ठले कनेक्टिभिटी, व्यापार, लगानी, पर्यटन, संस्कृति एवम् जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा सम्झौता गरिसकेको बताए।
यसलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याएर दुई देशको विकास गर्न प्रतिवद्ध रहेको उनको भनाइ छ।
'चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार र वैदेशिक लगानीका हिसाबले सबैभन्दा ठूलो मुलुक हो। पर्यटनको लागि दोस्रो ठूलो मुलक हो,' उनले कार्यक्रममा भने, 'यसले आगामी दिनमा अझ उच्च र व्यापारीक बनाउन कार्यक्रम र विभिन्न नीति लिएर अघि बढ्नुपर्छ।'
उनले दुई देशबीच बढ्दै गएको उच्च स्तरीय घुमघाम, व्यापार र लगानी एवम जनस्तरको सम्बन्धलाई यो कार्यक्रमले अझ प्रगढ र अभिप्रेरित बनाउने बताए।
साथै नेपालमा लगानी गर्ने विदेशी कम्पनीहरूलाई हरसम्भव सहयोग गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ।
कार्यक्रममा दुई देशका राजनीतिज्ञ, कुटनीतिज्ञ, विभिन्न क्षेत्रका व्यवसायीहरूको उपस्थिति थियो।