भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले सेवा शुल्कहरूमा थप एक वर्षसम्म छुट पाउने भएका छन्।
२०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको यो विमानस्थलले सुरूआती एक वर्षसम्म अवतरण, पार्किङ, सञ्चार तथा उड्डयन सहायक सेवा र सुरक्षा जाँच शुल्कमा छुट दिएको थियो।
विमानस्थलमा वायुसेवाको आकर्षण बढाउन सरकारले थप एक वर्षका लागि शुल्क छुट दिएको नागरिक उड्डयन प्राधिकरणले बताएको छ।
'नयाँ विमानस्थल भएकाले वायुसेवा कम्पनीहरू आकर्षित गर्न पहिलो वर्ष दिएको छुट थप एक वर्षसम्म निरन्तरता दिइएको हो,' प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सेतोपाटीसँग भने, 'अबको एक वर्षभित्र भैरहवा उडानमा जोडिने वायुसेवा कम्पनीले शुल्कहरूमा शतप्रतिशत छुट पाउनेछन्।'
अहिले भने यो विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान छैन। गत एक वर्षमा जजिरा एयरवेज र हिमालय एयरलाइन्सले यहाँ अन्तर्राष्ट्रिय उडान गरेका थिए। जजिरा एयरवेजले एक वर्षमा २५२ वटा उडान गर्दा शुल्कबापत एक करोड ६४ लाख रूपैयाँ बराबर छुट पाएको थियो। तर एक महिनादेखि यसले उडान रोकेको छ।
अरू एयरलाइन्स यो विमानस्थलमा जोडिन सकेका छैनन्। नियामक निकाय प्राधिकरणले यसअघि काठमाडौंमा दैनिक तीनभन्दा बढी उडान गर्ने विदेशी एयरलाइन्सलाई सातामा कम्तीमा एक उडान भए पनि भैरहवाबाट गर्न भनेको थियो। यसरी उडान नगर्ने एयरलाइन्सको काठमाडौंको उडान कटौती गरिने समेत भन्यो। यही प्रक्रियामा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका केही उडान कटौती पनि भए।
यसपछि हिमालय एयरलाइन्सले भैरहवा-क्लालाम्पुर-काठमाडौं दैनिक चार्टर्ड उडान गर्ने सहमति गर्यो र केही उडान भयो पनि। हिमालयले ग्राउन्ड ह्यान्डलिङ सेवा आफूले पाए मात्र नियमित चार्टर्ड गर्ने सर्तका साथ भैरहवाबाट उडान थालेको थियो। सर्तअनुसार काम नभएपछि हिमालयको भैरहवाबाट मलेसिया जोड्ने उडान लामो समय टिक्न सकेन। करिब डेढ महिनापछि रोकियो।
यसरी भैरहवामा एयरलाइन्सहरूलाई पठाउने प्राधिकरणको योजना सफल भएन। एक वर्षमा दुइटा एयरलाइन्सले उडान थाले पनि अहिले भैरहवा विमानस्थल शून्य छ।
यसबीच केही एयरलाइन्सले यहाँ उडानका लागि चासो पनि दिएका थिए। कतिपय अध्ययन नै गरेर फर्किए। आवुधावी-भैरहवा सातामा तीन उडान गर्न वीज-एयरले त अनुमति नै लिइसकेको थियो। त्यस्तै एयर अरेबियाले पनि तयारी थालेको थियो। तर यीमध्ये कुनैले पनि उडान सुरू गर्न सकेका छैनन्।
गत फागुनमा महाप्रबन्धक नियुक्त भएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हंशराज पाण्डे विमानस्थलमा अझै थुप्रै समस्या रहेको बताउँछन्।
उनका अनुसार विमानस्थलमा वैदेशिक रोजगारसँग सम्बन्धित र विशेष सुविधा प्रदायक संस्थाहरू त्यहाँ छैनन्। त्यसैले वैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि भैरहवा विमानस्थल पहुँचयुक्त हुन सकेको छैन।
‘यहाँ स्वास्थ्य परीक्षण संस्था त छन् तर कतिपय देशले मान्यता दिने स्वास्थ्य परीक्षण संस्थाहरू छैनन्। त्यसका लागि काठमाडौंमै पुग्नुपर्ने समस्या छ,’ पाण्डेले भने, ‘अर्को कुरा, अहिले माग कम भएकाले एयरलाइन्सहरूले उडान सुरू गर्न नसकेका हुन्। नेपाली कम्पनीले उडान सुरू गरेपछि विदेशी पनि थपिनेछन्।’
यही जेठ २९ (जुन १२) बाट नेपाल एयरलाइन्सले काठमाडौं-क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडान गर्दैछ। एयरलाइन्सले उडानका लागि टिकट बुकिङ खुलाइसकेको छ।
पर्यटकीय केन्द्र लुम्बिनीलाई लक्षित गरेर भए पनि आगामी दिनमा उडान हुने उनले बताए।
उनका अनुसार म्यानम्यार नेसनल एयरलाइन्सको टोलीले दुई दिने अध्ययन गरेर फर्किसकेको छ। म्यानमारसँगै भुटान, कम्बोडिया, थाइल्यान्ड लगायत मुलुकबाट पनि उडानका लागि अध्ययन गर्न निरन्तर आइरहेका छन्।
‘लुम्बिनी क्षेत्रमा आउनेहरूकै लागि लक्षित गरेरै भए पनि विभिन्न मुलुकका एयरलाइन्स यो विमानस्थलमा जोडिन पाइपलाइनमा छन्,’ महाप्रबन्धक पाण्डेले भने।
त्यस्तै विमानस्थल सेवा शुल्क छुटले सम्बन्धित एयरलाइन्स कम्पनीको सञ्चालन लागत कम हुने र विमानस्थलमा आकर्षण पनि बढ्ने उनको भनाइ छ।
किन रोकेको हो जजिराले उडान?
जजिराले सुरूदेखि नै भैरहवाबाट उडान थालेको थियो। बीचबीचमा केही प्राविधिक र प्रशासनिक समस्याले उडानमा अवरोध भए पनि जजिरा भैरहवाको नियमित एयरलाइन्सजत्तिकै छ। यसले पछिल्लो समय कुवेत–भैरहवा रूटमा सातामा तीन उडान गरिरहेको थियो।
हाल भने उडान र अवतरणको समय तालिका नमिलेपछि स्थगित गरिएको एयरलाइन्सले जनाएको छ। एयरलाइन्सका जिएसए सोसाइटी इन्टरनेसनल ट्राभलका अध्यक्ष रविचन्द्र सिंहका अनुसार समयमै ट्रान्जिट गराउन एयरलाइन्सले उडान तालिका परिवर्तन गर्दैछ।
'एयरलाइन्समा साउदी, कतार, युएइलगायत मुलुक पुग्ने यात्रुहरू बढी हुन्छन्। कुबेत पुगेपछि तीनवटै उडानमा पठाउनुपर्ने हुन्छ,' उनले भने, 'त्यसकारण उडान तालिका पुनर्संरचना नहुन्जेल स्थगित गरिएको हो।'
यसअघि जजिरा मंगलबार, बिहीबार र शुक्रबार बिहान ७:१५ बजे विमानस्थलमा अवतरण हुन्थ्यो र ८:०५ मा कुवेतका लागि उड्थ्यो। यात्रु सुविधाका लागि भन्दै जजिराले प्राधिकरणसँग समय तालिका परिर्वतन गरेर उडान गर्न अनुमति मागेको थियो।
प्राधिकरणका अनुसार जजिराले राति साढे १ बजे अवतरण हुने र साढे २ बजे उड्ने तालिका मागेको हो। तर रातीको समयमा थप उपकरण र कर्मचारी प्रयोग गर्नुपर्ने भएकाले जजिराको माग तत्काल सम्भव नरहेको सूचना अधिकारी भुलको भनाइ छ। रात्रीकालीन उडानका लागि भने मासिक ४० लाखभन्दा बढी खर्च हुने देखिएको उनी बताउँछन्।
'हाल यहाँ दिउँसो आन्तरिकतर्फ उडान भइरहेकाले उपकरणहरू बन्द गर्न पर्दैन। राती एउटा उडानका लागि सबै कुरा थप सञ्चालन गर्नुपर्दा खर्च धेरै निस्किन्छ,' उनले भने, 'त्यसकारण समर-सेड्युल सकिएपछि उडान तालिकामा फेरबदल गर्नेबारे कुराकानी भएको हो।'
उडानका लागि जजिरासँग प्राधिकरणको छलफल भइरहेको छ। तर कहिलेबाट दुई पक्षबीच सहमति भएर फेरि उडान सुरू हुन्छ भन्नेबारे अन्यौल नै छ।