आयषा र अनुष्का मल्ल दिदीबहिनी हुन्। उनीहरूको प्रारम्भिक बाल्यकाल काठमाडौंको लैनचउरस्थित 'द मल्ल होटल' को परिसरमा बित्यो। होटलमा आउने पाहुनासँग गफ गर्दै, त्यहीँ उफ्रिँदै हुर्के। उनीहरूका लागि होटलका कर्मचारी निकटका आफन्त बने।
पाँचतारे मल्ल होटल आयषा र अनुष्काकी हजुरआमा रमाकुमारीले २०३२ सालमा स्थापना गरेकी हुन्। चार वर्षअघि मात्र रमाले सक्रिय व्यवस्थापकीय जिम्मेवारीबाट फुर्सद लिइन्। संस्थापक अध्यक्ष रहेकी रमाले आफ्ना दुई नातिनीहरू आयषा र अनुष्कालाई होटल सञ्चालनको जिम्मेवारी दिएकी छन्।
'हजुरआमाले होटल चलाउन सुरूमा बुबालाई जिम्मा दिनुभएको थियो,' ३० वर्षीया आयषाले भनिन्, 'हामी नेपाल फर्केपछि उहाँहरूको सल्लाहअनुसार व्यवस्थापन हामीलाई सुम्पिनुभएको हो।'
पढाइका सिलसिलामा सानै उमेरमा उनीहरू भारत पुगे। भारत जाँदा आयषा नौ वर्ष र अनुष्का ६ वर्षका थिए। त्यहाँ माध्यमिक शिक्षा पूरा गरेर उच्च शिक्षाका लागि स्विट्जरल्यान्ड गए। १३ वर्ष जति देशबाहिर बसेर २०७३ सालमा स्वदेश फर्के। यसपछि उनीहरूले होटल व्यवस्थापनको जिम्मेवारी पाए।
'हाम्रो प्रेरणाको स्रोत हजुरआमा नै हुनुहुन्छ। उहाँको काम देखेर हामी प्रभावित थियौं,' २७ वर्षीया अनुष्काले भनिन्, 'अहिले जिम्मेवारी दिनुभएको छ। यसलाई आधुनिक बनाएर टप फाइभ-स्टार बनाउने सोचमा छौं।'
करिब पाँच दशक पुरानो मल्ल होटललाई आयषा र अनुष्काले केही भौतिक र व्यावसायिक परिमार्जनसहित उच्च प्रविधियुक्त बनाउँदै छन्। होटलका सबै कोठा डिजिटल र अत्याधुनिक बनाएको अनुष्काको भनाइ छ।
दिदी आयषा होटलको 'प्रोडक्ट डेभ्लपमन्ट डाइरेक्टर' को जिम्मेवारीमा छिन्। बहिनी अनुष्काले 'बिजनेस डेभलपमन्ट' को जिम्मेवारी सम्हाल्छिन्। उनीहरू हजुरआमाले सुरू गरेको होटलको गौरव बढाउन चाहन्छन्।
हस्पिटालिटी सेवाको पारिवारिक पृष्ठभूमिमा हुर्केका यी दिदीबहिनीले पढाइ पनि हस्पिटालिटी क्षेत्रमै गरेका हुन्। पाँच वर्षदेखि हजुरआमा र बुबाको मार्गदर्शनअनुसार काममा लगनशील छन्।
'हामी सँगै हुर्किएर होला, सोच पनि एउटै भइदियो,' अनुष्काले भनिन्, 'परिवारमा कसैले पनि के पढ्छौ भनेर कहिल्यै सोध्नुभएन। दिदीबहिनीले सल्लाह पनि गर्नु परेन। हाम्रो प्राथमिकता र रोजाइ नै हस्पिटालिटी भयो।'
पढाइकै क्रममा आयषाले हैदरावादको ताज होटल र बैंककको एक होटलमा इन्टर्नसिप गरेकी थिइन्। अनुष्काको इन्टर्नसिप दिल्लीको मेरिडियन होटल र पोर्चुगलको एक होटलमा पूरा भयो। अन्तर्राष्ट्रिय चेन होटलमा काम गर्दा दुबैले हस्पिटालिटीको महत्व नजिकबाट बुझ्ने अवसर पाए। अनुभव बटुले।
'इन्टर्नसिपमा धेरै कुराहरू बुझ्ने अवसर पाइयो। हस्पिटालिटी भनेको खुसी बाँड्ने सेवा रहेछ,' आयषाले भनिन्, 'त्यही अनुभवले आफ्नै व्यवसाय सम्हाल्ने दुबैले योजना बनायौं।'
औपचारिक शिक्षा पूरा गरी अनुभव पनि बटुलेर दिदीबहिनी स्वदेश फर्के। नातिनीहरूमा उच्च शिक्षा र अनुभव भएकैले हजुरआमाले होटलको जिम्मेवारी सुम्पिन उनीहरूलाई योग्य ठानिन्।
पूर्ववर्ती दुई पुस्ता हजुरआमा र बुबाले अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको होटलको ब्रान्ड अझ प्रवर्द्धन गर्नु दिदीबहिनीका लागि चुनौतीको काम थियो। हजुरआमाले जिम्मेवारी दिन खोज्दा उनीहरू सुरूमा अलमलमा परे। आँट गरेर हुन्छ भन्न सकेनन्।
उनीहरूलाई हजुरआमा र आमाबुबाले प्रेरणा र आँट दिए।
आयषाले भनिन्, 'तिमीहरू गर्न सक्छौ, अब तिमीहरू अघि बढ्नुपर्छ भनेर हजुरआमा र बाबाआमाले हौसला दिनुभयो। अनि हामी अघि बढ्यौं।'
रमाले २०७३ सालमै होटल सञ्चालनको जिम्मवारी छोरा सञ्जय मल्ल (आयषा र अनुष्काका बुबा) लाई सुम्पेकी थिइन्। रमा र सञ्जयले नै सल्लाह गरेर २०७६ सालमा होटल दुई छोरीलाई सुम्पेका हुन्।
अभिभावकको साथ र हौसला पाएर जिम्मेवारी लिएपछि होटल केही फरक तरिकाले चलाउन दिदीबहिनीले आपसमा छलफल गरे। आफ्नो अनुभव र सोचका आधारमा होटलको सेवा र स्वरूपलाई परिमार्जन गर्ने आफ्नो प्रस्ताव घरमा सुनाए। प्रस्ताव सर्वसम्मत पारित भयो।
'उता (विदेशमा) हामीलाई कसैले चिन्दैन थियो। यहाँ आएपछि हामीले आफूलाई प्रमाणित गर्नु थियो,' अनुष्का भन्छिन्, 'ठूलो होटल चलाउनु निकै चुनौतीको काम हो। आफ्नै कम्पनीमा काम गर्दाको दबाब छँदै थियो। सबै परिवेशले हामीलाई कडा मेहनतका लागि प्रेरित गर्यो।'
दिदीबहिनी मिलेर होटल केही नयाँ र केही फरक स्वरूपमा प्रस्तुत गर्दैछन्। हस्पिटालिटीमा आफूहरूलाई पनि चिनाउँदै उचाइतिर लैजाने प्रयासमा छन्। व्यवस्थापनसँगै केही भौतिक स्वरूप पनि परिवर्तन गर्ने उनीहरूको सोच थियो। कामको तयारी हुँदै गर्दा कोरोना लकडाउन भइदियो। होटल सुनसान भयो।
यसलाई मौका ठानेर उनीहरूले होटलको रिनोभेसन (परिमार्जन) थाले।
'बुबाको सोच पनि होटललाई केही रिनोभेसन गर्ने नै रहेछ,' आयषाले भनिन्, 'त्यही बेला हामी आइपुग्यौं। सल्लाह गरेर कोभिडकै समयमा काममा लाग्यौं। होटलमा कफी सप, ब्यांक्वेट र अन्डरग्राउन्ड पार्किङ थप्यौं।'
होटल पछाडिको खुला ठाउँको पूर्वी कुनामा 'एवेरी रेस्टुरेन्ट' छ। यसअघि त्यहाँ चराचुरूंगी र जनावर राखिएका थिए। चराचुरूंगी र जनावरलाई स्वतन्त्र छाडेर रेस्टुरेन्ट चलाएका हुन्। आठ सय जना अटाउने ब्यांक्वेट हल पनि बनेको छ।
कुल २४ रोपनी जमिनमा फैलिएको होटलमा ४४ वटा स्ट्यान्डर्ड, ४३ वटा डिलक्स, तीन वटा जुनियर स्विट र चार वटा डिलक्स स्विट कोठा छन्। यिनको भौतिक परिमार्जन गरी डिजाइन फेरिएको छ। पछाडिपट्टिको भागमा शान्त बगैंचा बन्यो। उनीहरू सकेसम्म पर्यटकहरूलाई होटल परिसरमा प्राकृतिक परिवेश दिन चाहन्छन्।
'सहरको कोलाहलभित्र पनि शान्त वातावरण, खुला ठाउँ र बगैंचासहितको हरियाली होटल मल्लमा पाइन्छ,' अनुष्काले भनिन्।
समग्र परिमार्जन र पुनर्संरचनासहित एक वर्षअघि होटल खुला भएको हो। अहिले होटलमा आन्तरिक पर्यटकको आगमन उत्साहजनक रहेको आयषाले बताइन्।
'नेपालीहरू तारे होटलमा बसेर रमाउन थालेका छन्,' उनले भनिन्, 'हाम्रो जोड विदेशी पर्यटकमा छ। आन्तरिक पर्यटक पनि आकर्षित गर्न चाहन्छौं। आन्तरिक पर्यटकका लागि विभिन्न प्याकेज बनाएका छौं।'
पाँच दशकअघिदेखिको होटल सम्हालेर अगाडि बढिरहेका दिदीबहिनी हस्पिटालिटीमै क्षेत्रमा समर्पित देखिन्छन्। परिवार र पारिवारिक पृष्ठभूमि उनीहरूको प्रेरणा र ऊर्जाको स्रोत हो। यो क्षेत्रमा परिवारको लगाव देखेरै आफूहरू भिजेको र योबाहेक अरू क्षेत्रमा जाने सोच नै नआएको अनुष्का बताउँछिन्।
अहिले पनि उनीहरूले आफ्ना योजना सुनाउने र सल्लाह लिने हजुरआमा र बुबासँगै हो।
'हजुरआमाले आफ्नो लक्ष्यअनुसार होटललाई एउटा स्तरमा पुर्याउनुभयो। अब हाम्रो पालो आएको छ,' आयषाले भनिन्, 'होटल मल्ललाई देशकै उत्कृष्ट होटलका रूपमा चिनाउने लक्ष्य छ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी