भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै एक महिनादेखि जजिरा एयरवेजले उडान बन्द गरेको छ। जजिराले वैशाख ७ गते (अप्रिल २०)देखि भैरहवा–कुवेत उडान बन्द गरेको विमानस्थल कार्यालयले बताएको छ।
पछिल्लो समय जजिराले कुवेत–भैरहवा सातामा तीन उडान गर्दै आइरहेको थियो। तर उडान अवतरणमा समय तालिका नमिलेपछि स्थगन गरेको एयरलाइन्सले बताएको छ।
एयरलाइन्सका जिएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवि चन्द्र सिंहकाअनुसार समयमै ट्रान्जिट गराउनका लागि एयरलाइन्सले उडान तालिका परिवर्तन गर्दैछ।
'एयरलाइन्समा साउदी, कतार, युएइलगायत मुलुक पुग्ने यात्रुहरू बढी हुन्छन्। कुबेत पुगेपछि तीनवटै फ्लाइटमा पठाउनुपर्ने हुन्छ,' उनले भने, 'त्यसकारण रिसेड्युल तयार नहुन्जेलसम्म उडान स्थगित गरिएको हो।'
यसअघि जजिराले मंगलबार, बिहीबार र शुक्रबार बिहान ७:१५ बजे विमानस्थलमा ल्यान्ड हुने र ८:०५ मा कुवेतका लागि उड्ने गरिरहेको थियो।
तर यात्रु सुविधाका लागि भन्दै जजिराले नागरिक उड्डयन प्राधिकरणसँग समय तालिका परिर्वतन गरेर उडान गर्न अनुमति मागेको थियो।
प्राधिकरणकाअनुसार जजिराले रातिको साढे १ बजे विमानस्थलमा ल्यान्ड र साढे २ मा कुवेतका लागि उड्ने तालिका मागेको हो। तर रातिको समय उपकरण र कर्मचारी थप चलाउनुपर्ने भएकाले तत्काल सम्भव नरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
हाल विमानस्थलमा दिउँसो आन्तरिक उडान हुन्छ। रात्रीकालीन उडानका लागि भने मासिक ४० लाखभन्दा बढी खर्च हुने देखिएको उनी बताउँछन्।
'दिउँसो आन्तरिकतर्फ उडान हुने हुँदा उपकरणहरू बन्द गर्न परेन। राति एउटा फ्लाइटका लागि ओभर टाइममा उपकरणहरू थप रन गर्दा खर्च धेरै निस्कन्छ' उनले भने, 'त्यसकारण समर सेड्युल भइसकेपछि उडान तालिकामा फेरबदल गर्नेबारे कुराकानी भएको थियो।'
अब उडान फेरि कहिलेबाट सुरू हुन्छ भन्नेबारे अन्योल देखिएको छ।
एयरवेजले भने यसअघि अप्रिलको २० बाट मे ७ सम्मका लागि उडान बन्द गर्ने र मे ८ बाट फेरि उडान गर्ने सूचना प्राधिकरणलाई दिएको थियो। तर, उडान भने हुन सकेको छैन।
यसअघि पनि जजिराको उडान नियमित भने हुन सकेको थिएन। कहिले मौसमका कारण त कहिले एयरवेजकै कर्मसियल कारण पटकपटक उडान रोकिँदै फेरि सञ्चालन हुँदै आइरहेको थियो।
पछिल्लो पटक मौसमका कारण झन्डै दुई महिना रोकिएको उडान गत फागुन २५ गतेबाट फेरि सुरू भएको थियो।
जजिराले कुवेतबाट उक्त विमानस्थलबाट उडान सुरू गरेको आगामी मंगलबार एक वर्ष पुग्दैछ।
२०७९ साल जेठ २ गतेबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरू गरेको थियो। व्यावसायिक उडान गरिरहेको जजिराले विमानस्थल सेवा शुल्कमा पनि छुट पाएको थियो।
जजिराले एक वर्षसम्मका लागि विमानस्थलमा लाग्ने अवतरण, पार्किङ, सञ्चार तथा उड्डयन सहायता सेवा र सुरक्षा जाँचमा शुल्क छुट पायो।
जेठ १५ बाट नेपाल एयरलाइन्स भैरहवा जाने तयारीमा
नेपाल एयरलाइन्स आगामी जेठ १५ (मे २९)बाट गौतमबुद्ध विमानस्थलमा जाने तयारी गरिरहेको छ। लामो समयदेखि गृहकार्य गरिरहेको निगमले अब भने भैरहवालाई दिल्ली र मलेसियासँग जोड्ने भएको छ।
निगमले दिल्ली र मलेसिया सातामा एकरएक उडान गर्ने बताएको छ।
यसका लागि सम्बन्धित मुलुकहरूसँग अनुमति प्रक्रियामा रहेको निगमका प्रवक्ता रमेश पौडेलले बताए।
'भैरहवलाई अन्तर्राष्ट्रिय उडानमा जोड्न निगम पर्खाइमा छ', उनले भने, 'अनुमति पाउना साथ टिकट बिक्री खुला गर्नेछ।'
निगमले हाल काठमाडौं–मलेसियामा सातामा पाँचवटा उडान गर्छ। त्यस्तै काठमाडौं–दिल्ली सातामा १४ उडान गर्छ।
गौतमबुद्ध विमानस्थलबाट उडान सुरू गरेपछि निगमले भैरहवा-दिल्ली-काठमाडौं र काठमाडौं-मलेसिया-भैरहवा उडान हुनेछ।