पछिल्लो एक महिनायता नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) एउटा मात्र जहाजले आन्तरिक उडान धानिरहेको छ।
दुर्गमका विभिन्न गन्तव्यमा उडान गर्न निगमसँग दुइटा जहाज थिए। त्यसमध्ये एउटा भने थन्किएको (ग्राउन्डेड) छ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार प्राविधिक समस्या देखिएकाले उक्त जहाज एक महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्क्याइएको हो। यो जहाज मर्मतसम्भार भएर उडान गर्न अझै केही समय लाग्ने उनले बताए।
'निगमसँग आन्तरिक उडान गर्न दुइटा जहाज थिए। एउटामा केही समयदेखि समस्या भएकाले एउटाले मात्र उडान गरिरहेको छ,' उनले भने, 'बिग्रिएको जहाज सम्भवत: यही साता मर्मतसम्भार भएर तयार हुनेछ र फेरि उडान गर्नेछ।'
तालिकाअनुसार नेपाल एयरलाइन्सको सातामा १५ वटा गन्तव्यमा २७ (दुईतर्फी ५४) वटा उडान छन्। निगमले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र बाँकेको नेपालगञ्ज विमानस्थलबाट यी ठाउँमा उडान गरिरहेको छ। तर जहाज नहुँदा पछिल्लो समय यी सबै गन्तव्यमा उडान गर्न नसकेको प्रवक्ता पौडेलले बताए।
त्यति मात्र होइन, उडान भइरहेका कतिपय गन्तव्यमा नेपाल एयरलाइन्सले संख्या पनि घटाएको छ।
सातामा सात उडान हुने काठमाडौं-दाङ (टारिगाउँ) मा अहिले चारवटा मात्र उडान भइरहेको छ। सातामा पाँचवटा उडान हुँदै आएको काठमाडौं-भोजपुरमा चारवटा मात्र उडान छ। त्यस्तै सातामा चारवटा हुँदै आएको काठमाडौं-ताप्लेजुङ उडान अहिले तीनवटामा झरेको छ।
उडानको माग भए पनि जहाज अभावका कारण निरन्तरता दिन नसकेको प्रवक्ता पौडेल बताउँछन्।
उसो त निगमसँग आन्तरिक उडानका लागि कुल तीनवटा ट्विनअटर जहाज छन्। एउटा चलिरहेको छ, एउटा एक महिनादेखि बिग्रेको छ भने अर्को एक दशकभन्दा लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको छ। यी तीनवटै जहाज करिब ४० वर्ष पुराना हुन्।
ट्विनअटर डिएचसी- ६/३०० कलसाइन एबिएक्स जहाजको २०६९ भदौ ९ गते लुक्लाबाट काठमाडौं अवतरण गर्ने क्रममा पंखामा समस्या आएको थियो। यो जहाज बनाउनेबारे भने निगमको कुनै योजना छैन।
सञ्चालनमा रहेका दुइटा जहाज बिग्रिँदा यही थन्किएको जहाजको पार्टपुर्जा निकाल्दै मर्मत गरिँदै आएको प्रवक्ता पौडेलले बताए।
'उडिरहेका जहाजमा बेलाबेला समस्या आइरहन्छन्। मर्मतका लागि तत्काल सामग्री पाइँदैन,' उनले सेतोपाटीसँग भने, 'त्यही पहिले ग्राउन्डेड जहाजको सामान हाल्दै अरू दुइटा उडिरहेका छन्।'
थन्किएको ट्विनअटर मर्मतका लागि निगमले केही समयअघि सोच बनाएको थियो। थुप्रै पटक कमिटी बनाए पनि सञ्चालनबारे ठोस योजना बनेन। त्यसैले यसलाई बनाउनुभन्दा बरू नयाँ जहाज किन्ने निधो निगमले गरेको हो।
'ग्राउन्डेड जहाज बनाउने, बेच्ने वा के गर्ने भन्नेबारे कुनै योजना छैन,' पौडेलले भने।
नियमित उडान हुन नसक्नु र भएका जहाजमा पटकपटक समस्या दोहोरिँदा दैनिक तालिका नै बिग्रिसकेको निगमकै कर्मचारी बताउँछन्। उडान कटौती त भएकै छ, भएको एउटा जहाजले सबै भ्याउनुपर्छ। त्यसमा केही समस्या आइहाल्यो भने पूरै उडान प्रभावित हुने समस्या छ।
'निगमको जहाज समयमा उड्दैन भन्ने गुनासा थुप्रै आउँछन्। हुन पनि जहाज कुन बेला कहाँ बिग्रिन्छ, कतिन्जेल ग्राउन्डेड हुन्छ भन्ने कुनै भर हुँदैन,' निगमका एक कर्मचारीले नाम नभन्ने शर्तमा भने, 'बिग्रिएको जहाज कहिलेसम्म बन्छ भन्ने समेत टुंगो हुँदैन।'
त्यसो त दुर्गममा उडान भर्न राष्ट्रिय ध्वजावाहक वायुसेवा जुनसुकै विमानस्थल पुगेको छ। नेपाल एयरलाइन्ससँग जहाज नहुँदानहुँदै पनि र केही गन्तव्यमा उडान संख्या घटाएरै पनि नयाँ विमानस्थलमा पुगेको ती कर्मचारीले बताए। उनका अनुसार निजी वायुसेवाका जहाज सुगममा मात्र जान खोज्ने भएकाले दुर्गममा निगमलाई भ्याइनभ्याइ भएको हो।
यो समस्या समाधानका लागि जहाज थप्नुपर्ने उनको भनाइ छ।
'जो कोही मन्त्री (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा) आए पनि उनीहरूको सपना आफ्नो जन्मभूमिमा विमानस्थल बनाउने र निगमको जहाज उडाउने हुन्छ। जहाज थप्नेबारे भने कसैले सोच्दैनन्,' ती कर्मचारीले भने, 'जनतालाई सुविधा दिन मागअनुसार उडान हुनुपर्छ। यसका लागि जहाज नथपी हुँदैन। एउटा, दुइटा जहाजले माग धान्दैन। संख्या थप्न अत्यावश्यक छ।'
जहाज अभाव भएकै अवस्थामा निगमले नयाँ गन्तव्य पनि थपेको छ।
निगमले शुक्रबारबाट गुल्मीको रेसुंगा विमानस्थलमा उडान गर्दैछ। हरेक शुक्रबार उडानका लागि रेसुंगा गाउँपालिकासँग सहकार्य भएको छ। गत माघदेखि हरेक बिहीबार नेपाल एयरलाइन्सले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा उडान गरिरहेको छ।
यसअघि निगमले नियमित उडान गरेका पाँचवटा विमानस्थलमा भने अहिले बन्द छ।
२०७५ साउनमा निगमले नगरपालिकासँग सम्झौता गरी बागलुङको बलेवामा उडान सुरू गरेको थियो। डेढ वर्ष पनि नहुँदै २०७६ मंसिरमा रोकियो। त्यस्तै ओखलढुंगाको रूम्जाटार, अछामको साङफे बगर, खोटाङको लामीडाँडुम्बुको कांगेल डाँडा र धनगढी विमानस्थलमा पनि उडान बन्द छ। यी ठाउँमा जहाज अपुग भएकाले उडान बन्द गरिएको पौडेलले जानकारी दिए।
कुनै पनि ठाउँमा विमानस्थल बन्दै गर्दा त्यसलाई कसरी चलाउने भन्नेबारे सम्भाव्यता अध्ययन गर्दा सरकारले निगमलाई नजोड्ने भएकाले उडान प्रभावकारी हुन नसकेको प्रवक्ता पौडेल बताउँछन्।
'जहाँ विमानस्थल बन्छ त्यहाँको सम्भाव्यता अध्ययनमा नेपाल एयरलाइन्सले कतिवटा उडान गर्छ, कसरी गर्छ र त्यति उडान गर्न कति जहाज आवश्यक छ भन्ने लगायत सबै कुरा जोडिनुपर्छ,' उनले भने, 'तर यस्तो भएको छैन। यति मात्र हुने हो भने पनि विमानस्थलहरू सफलतापूर्वक चल्न सक्छन्।'
हाल नेपाल एयरलाइन्सले काठमाडौं-भोजपुर र काठमाडौं-दाङ (टारिगाउँ विमानस्थल) मा सबभन्दा बढी उडान गर्छ। यी दुवै ठाउँमा सातामा चार/चारवटा उडान छ। यी ठाउँमा उडानको माग अझै धेरै छ। तर जहाज नभएकैले उल्टो उडान संख्या घटाएको उनले बताए।
निगमले काठमाडौं-ताप्लेजुङ र काठमाडौं-फाप्लु (सोलुखुम्बु) मा सातामा तीन उडान गरिरहेको छ।
सातामा दुइटा उडान हुने ठाउँ नेपालगञ्ज-ताल्चा (मुगु) र नेपालगञ्ज-सिमकोट (हुम्ला) हुन्। त्यस्तै एउटा मात्र उडान हुने ठाउँहरू काठमाडौं-खानीडाँडा (खोटाङ), काठमाडौं-रूकुम, काठमाडौं-थामखर्क (खोटाङ), नेपालगञ्ज-जुम्ला, नेपालगञ्ज-डोल्पा, नेपालगञ्ज-बाजुरा र नेपालगञ्ज रूकुम हुन्।
यी गन्तव्यमा यात्रुहरूको संख्या राम्रो भए पनि उडान बढाउन नसकेको प्रवक्ता पौडेलको भनाइ छ।
पाँच जहाज थप्ने तयारी
आन्तरिकतर्फ विभिन्न गन्तव्यमा उडान संख्या बढाउनकै लागि नेपाल एयरलाइन्सले पाँचवटा जहाज किन्दैछ। निगमले दुर्गम क्षेत्रमा उडान भर्ने तीनवटा 'स्टोल' (सर्ट टेकअफ एन्ड ल्यान्डिङ) जहाज र सुगममा उडान गर्ने दुइटा मध्यम जहाज किन्न लागेको हो।
जहाज किन्न कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएको सञ्चालक समिति बैठकले सात सदस्यीय उपसमिति गठन गरेको छ। वरिष्ठ क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा गठित उपसमितिले सञ्चालक समितिसमक्ष आफ्नो प्रतिवेदन पेस गरिसकेको र काम अघि बढाइसकेको निगमले जनाएको छ।
अब टेन्डर गरेर सिधै कम्पनीसँग जहाज किनिने प्रवक्ता पौडेलले बताए। एजेन्टलाई बीचमा राख्दा कमिसनको खेल हुने भन्दै निगमले उत्पादक कम्पनीसँग किन्ने योजना बनाएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन सचिव सुरेश अधिकारी निगमले जहाज किन्ने र उडान गन्तव्य बढाउने कुरा सकारात्मक भएको बताउँछन्। विमानस्थल संख्या बढिरहेका बेला नेपाल एयरलाइन्सले जहाज ल्याएर विस्तारमा ध्यान दिनुपर्ने समेत उनले बताए।
'अहिले निगमसँग दुइटा मात्र जहाज छन्, उडानको माग धेरै छ,' अधिकारीले भने, 'घाटा, नाफा जे भए पनि केही जहाज थपेर दुर्गममा उडान बढाउनुपर्छ।'
निगमका प्रवक्ता पौडेल पनि दुर्गम क्षेत्रका जनताको ठूलो माग सम्बोधन गर्न र हवाई सञ्जाल बढाउन जहाज खरिदको कार्ययोजना अघि बढाएको बताउँछन्।
हाल निगमसँग क्यानडियन कम्पनीका ट्विनअटर जहाज छन्। नेपाल एयरलाइन्सले अब ल्याउन लागेका जहाज कुन र कस्ता हुनेछन् भन्ने निश्चित भइसकेको छैन। पौडेलका अनुसार सुगम ठाउँमा उडान भर्ने जहाज भने ५६ देखि ७२ सिटे हुनेछन्। नेपालको प्रादेशिक (अन्तर प्रदेश) हवाई सञ्जाल बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान गर्न सक्ने जहाज किन्न लागिएको उनले बताए।
'निगमसँग सहरी क्षेत्रका विमानस्थलमा चल्ने जहाज छैन। त्यसैले हाल सहरी एवं व्यापारिक हिसाबले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन,' पौडेलले भने, 'अब नयाँ जहाज ल्याएर यो कमी पूरा गर्ने उद्देश्य हो।'