हिमाल आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारले जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम)को परीक्षण सुरू गरिएको छ।
लामो समयदेखि आरोहणमा जिपिएस लागू गर्ने विषय उठेपनि पर्यटन विभागले यसपालीबाट जिपिएस सुरू गरेको हो।
विभागले यो सिजन (वसन्तयाम) बाट आरोहणमा जिपिएसको परीक्षण सुरू भएको बताएको छ। विभागका महानिर्देशक होम प्रसाद लुइँटेलकाअनुसार यही सिजनमा सगरमाथा आरोहणका लागि गएका १० वटा समूहले जिपिएस लगेका छन्।
'जिपिएस सिस्टमले कसरी र कहाँसम्म काम गर्छ हेर्नका लागि पाइलट प्रोजेक्टका रूपमा परीक्षण सुरू भइसकेको छ,' लुइँटेलले सेतोपाटीसँग भने, 'अब केही दिनमा आरोहीहरूलाई थप १० वटा डिभाइस दिन्छौं।'
विभागले यी डिभाइस तीन वर्षअघि नै खरिद गरेको हो। २०७७ साल साउनमा ४४ लाख ४९ हजार ९४० रूपैयाँ लागतमा यी डिभाइस खरिद गरेको थियो। यद्यपी आरोहणमा जाने आरोही, गाइड, लियाजन अफिसर, हाइ अल्टिच्युड वर्करमध्ये कसलाई ट्रयाकिङ डिभाइस दिने भन्ने बारे निष्कर्ष नहुँदा जिपिएस कार्यान्वयनमा आउन सकेको थिएन।
विभागले गत वसन्तयाममा नै पाइलट प्रोजेक्टको रुपमा जिपिएसलाई अगाडि बढाउन खोजेको थियो। तर, आन्तरिक तयारी नपुगेको भन्दै यस वर्षलाई सारिएको विभागका महानिर्देशक लुइँटेलले बताए।
विभागका महानिर्देशक लुइँटेलकाअनुसार यसपाली तालिम दिएरै लियाजन अफिसरलाई उक्त डिभाइस पठाइएको छ।
हाल सगरमाथा आधार शिविरसम्म डिभाइस पुगिसकेको उनले बताए।
आरोहणमा गएकामध्ये तत्काललाई आधार शिविरमा खटिने सम्पर्क अधिकृतलाई जिपिएस डिभाइस वितरण गरिएको छ।
आधार शिविरमा खटिएका सम्पर्क अधिकृतले यसको प्रयोग गरेर प्रतिक्रिया दिनेछन्। त्यसकै आधारमा आगामी दिनमा आरोहीलाई डिभाइस वितरण गर्ने उनले बताए।
'कहाँसम्म जिपिएस ट्रयाकिङ हुन सक्छ। त्यसको आधारमा आगामी दिनमा पर्वतारोहीलाई वितरण गर्ने योजना छ,' महानिर्देशक लुइँटेलले भने, 'वितरण गरिएको डिभाइसको सर्भर विभागमा हुनेछ। विभागबाट नै जिपिएस ट्रयाकिङ हुन्छ।'
परीक्षणका क्रममा आएको प्रतिक्रियाका आधारमा अर्को पटकबाट आरोहीलाई दिएर पठाउने/नपठाउने टुंगो लाग्ने उनको भनाइ छ।
विभागले पाइलट प्रोजेक्टका आधारमा सुरू गरेको जिपिएसले सम्पूर्ण आरोहीलाई पठाउन भने सम्भव छैन।
विभागको तथ्यांकअनुसार वार्षिक तीन हजारभन्दा बढी पर्यटकहरू हिमाल चढ्छन्। एउटा समूहमा १५ जना जाँदा पनि करिब दुई सय समूह हुन्छ। यी सबै समुहलाई पुर्याउन थप दुई सय वटा डिभाइस आवश्यक पर्छ।
'समूहमा पठाउने हो भने दुई सयवटा डिभाइस चाहिन्छ,' उनले थप भने, 'एउटा डिभाइसले कम्तिमा समूहमा गएकाहरूलाई केही असहजता भएमा मेसेज छोड्छ।'
आगामी वर्षबाट जिपिएस डिभाइस थप्ने विभागको योजना छ। यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती सकरात्मक रहेको महानिर्देशक लुइँटेलले बताए।
'मन्त्री ज्यूकै तदारूकता देखाएपछि हिमाल आरोहणलाई पहिलो पटक यो सिस्टममा जोड्दै छौं,' उनले सेतोपाटीसँग भने, 'भविष्यमा थप डिभाइस ल्याएर आरोहणलाई सुरक्षित बनाउने योजना छ।'
उनकाअनुसार जिपिएसले आरोहणलाई सुरक्षित मात्र नभइ सकरात्मक सन्देश पुर्याउनेछ। जसकारण आगामी दिनमा पर्यटकको आगमन बढ्नेछ।
'हिमाल आरोहणलाई पारदर्शी बनाउन र स्वस्थ आरोहण मापदण्डको आधार तय गर्न जिपिएस ट्रयाकिङ सुरू गरिएको हो,’ उनी भन्छन्, ‘नेपालका हिमाल सुरक्षित छन् ट्रयाकिङ हुन्छ भन्ने सन्देशले पर्यटक आगमनमा वृद्धि पनि हुनेछ।’
तर, अहिल्यै आरोहीले सिधै डिभाइस पाउँदैनन्। समूहमा एकजनाले डिभाइस बोकेर जानेछन्। विस्तारै आरोहण दलमा जाने आरोहीलाई जिपिएस सिस्टमको डिभाइस दिएर पठाइनेछ। यो व्यवस्था लागू भएसँगै आरोहण भए/नभएको तथा आरोहण टोलीको बारेमा सहज हुन्छ।
महानिर्देशक लुइँटेलकाअनुसार अब डिभाइसकै माध्यमबाट समस्यामा परेका आरोहीलाई उद्धार गर्न सहयोग हुनेछ। ‘आरोहणका क्रममा कतिपय आरोहीहरू हराउने र विभिन्न समस्यामा परेको घटना भइरहन्छ,’ उनले भने, ‘डिभाइस सञ्चालनमा आएपछि यस्ता घटना भइहाले पनि तत्काल उद्धार गर्न सकिनेछ।’
डिभाइसले माइनस ४५ डिग्री सेल्सियस तापक्रमसम्म पनि दोहोरो सञ्चार गर्न सक्छ। उनकाअनुसार एउटा डिभाइसको ब्याट्री २१ दिनसम्म टिक्छ। सोलारबाट पनि डिभाइस चार्ज गर्न मिल्छ। डिभाइसलाई 'स्याटलाइट'सँग सम्पर्क गराएर त्यसको रेकर्ड विभागको सर्भर सिस्टममा इन्ट्री हुने गरी तयारी भइरहेको उनी बताउँछन्।
डिभाइस प्रयोगमा आएपछि जो कोही आरोहीले पनि लैजान सक्छन्। विभागबाट आरोहणमा जुन आरोहीको नाममा दर्ता छ, त्यो डिभाइस सोही आरोहीले मात्र प्रयोग गर्न पाउनेछन्।
साथै डिभाइसले काम गर्न छोडेको अवस्थामा वा ब्याट्रीको चार्ज सकिनुअघि सर्भरमा आरोही रहेको अन्तिम ठेगानाको जानकारी प्राप्त हुन्छ। ‘यसकारण पनि जिपिएस ट्रयाकिङले आरोहणलाई थप व्यवस्थित बनाउनेछ,’ उनले भने।
जिपिएस डिभाइसले दुई तरिकाले काम गर्छ। पहिलो इमर्जेन्सी दोस्रो मेसेज सिस्टम।
उनकाअनुसार कुनै पनि यात्रुलाई आरोहणका क्रममा अप्ठयारो परेमा डिभाइसको इमर्जेन्सी बटम दबाए पुग्छ। आरोहीले जोखिममा परेको अवस्थामा डिभाइसको बटम थिचेमा उसको सबै जानकारी सर्भरमा रेकर्ड हुन्छ।
त्यस्तै समस्याबारे बताउन चाहेमा विस्तृतमा मेसेज पनि गर्न मिल्नेछ। यो मेसेज भने आरोहीले आफूले चाहेको सम्पर्क नम्बरमा पनि पठाउन सक्नेछन्।
महानिर्देशक लुइँटेलकाअनुसार आरोहणमा जिपिएस लागू भएसँगै दुइटा फाइदा हुनेछ। आरोहणका क्रममा हुने घटनालाई तत्काल उद्धार गर्न सहज बनाउँछ।
'घटना घटेको लामो समयसम्म पत्ता लगाउन कठिन भइरहेको छ,' उनले भने, 'जिपिएस मोबाइल नेटवर्कले यात्रा सुरक्षित मात्र नभइ यसको कम्युनिकेसनले तत्काल कुनै घटना भइहाले पनि रेस्क्यु गर्न सकिन्छ।'