तनहुँको बन्दिपुरमा अब पाँचतारे होटल सञ्चालनमा आउने भएको छ। यही वर्षबाट सञ्चालनमा ल्याउने गरी बन्दिपुर केबलकार एन्ड टुरिजम लिमिटेडले बरालथोकमा पाँचतारे होटल बनाइरहेको हो।
यो बन्दिपुरकै पहिलो पाँचतारे होटल हुनेछ। नाम 'क्वीन टावर' राखिएको छ।
'पहाडकी रानी' नामले परिचित बन्दिपुरमा अब यो होटलले थप शोभा बढाउने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए।
उनका अनुसार होटलको सबभन्दा टुप्पामा रानीको ताज लगाइएको छ। यसको नाम क्वीन टावर राखिनुको अर्को कारण यो पनि हो।
'बन्दिपुर भन्नासाथ पहाडकी रानी जोडिन्छ। यो नामलाई हामीले होटलसँगै जोडेका छौं,' अध्यक्ष शर्माले भने, 'अब बन्दिपुर आउने पाहुनाले क्वीन टावरबाट पहाडसँगै विभिन्न हिमशृंखला अवलोकन गर्न सक्नेछन्।'
सत्रतले क्वीन टावरको मुख्य विशेषता यहाँ भएको 'भ्यू रूम' हो। यो १७ औं तलामै हुनेछ। यहाँबाट निलगिरि, गणेश, लाङटाङ र सगरमाथा लगायत आधा दर्जन हिमशृंखला देखिने अध्यक्ष शर्मा बताउँछन्।
प्रविधि प्रयोगमार्फत यो कोठाका सिसामै विभिन्न हिमालहरू देखाइनेछ।
'टेलिस्कोप जस्तै भनौं न, सिसा लगाएर आँखैअगाडि हिमाल देखाउँछौं,' अध्यक्ष शर्मा भन्छन्।
उनका अनुसार त्यो कोठामा कृत्रिम हिउँ पनि राखिनेछ। हिमालको दृश्य हेर्दै गर्दा कोठामा हिउँ झर्छ।
'यसको छुट्टै आनन्द हुनेछ,' उनले थपे, 'हिउँ खेल्ने चाहना धेरैमा हुन्छ। तर अब हिउँ खेल्न हिमालमै पुग्न पर्दैन। भर्चुअल भ्यू रूमबाट जुनसुकै बेला, हिमाल नै नखुल्दा पनि हिउँमा रमाउन सकिन्छ।'
नेपालको हस्पिटालिटीमा यस्तो प्रविधि पहिलो पटक भित्र्याएको उनको भनाइ छ।
९५ रोपनीमा बनिरहेको यो होटल पुग्न केबलकार चढेर र हिडेर पनि पुग्न सकिन्छ। बन्दीपुरको डाँडामा रहेको क्वीन टावर होटल मुलुकभर हाल सञ्चालनमा रहेका होटल भन्दा फरक रहेको उनले बताए। 'केबलकारमा चढेर डाँडामा पुग्दा छुट्टै आनन्द लिन सकिन्छ,' उनी भन्छन्, 'यो पनि होटलको नयाँ फिचर हो।'
चार वर्षमा सम्पन्न गर्ने गरी २०७६ सालबाट यो होटल बनाउन थालिएको थियो। तर कोभिडका कारण निर्माणमा ढिलाइ हुँदा एक वर्ष पछाडि धकेलिएको अध्यक्ष शर्माले बताए।
यही वर्ष माघसम्म सञ्चालनमा ल्याउने गरी हाल धमाधम काम भइरहेको छ। हालसम्म ८० प्रतिशत काम सकिएको उनले बताए।
तनहुँको हाइटमा रहेको क्वीन टावर बेसमेन्टसहित १७ तलाको हुनेछ। बेसमेन्ट र सेमिबेसमेन्टमा पार्किङ हुनेछ। केबलकारको बटम स्टेसनमा पार्किङको व्यवस्था गरिनेछ। होटल पुग्ने धेरैजसो पाहुँना केबलकार नै चढेर जाने हुँदा ६०० भन्दा बढी पार्किङ क्षमता बटन स्टेशनमै हुने अध्यक्ष शर्माले बताए।
होटलमा 'क्याप्सुल लिफ्ट' पनि हुनेछ। यो होटलभित्र नछिरी, बाहिरैबाट सिधै टुप्पामा पुगेर वरपरको दृश्य अवलोकनका बनाइएको हो। होटलका पाहुनाबाहेक अरू व्यक्तिहरूका लागि पनि यो आकर्षण बन्ने उनी बताउँछन्।
'होटलबाहिर र भित्र छुट्टाछुट्टै लिफ्ट हुनेछ,' अध्यक्ष शर्मा भन्छन्, 'बाहिरको लिफ्ट चढ्नेहरूले विशेष १६ र १७ औं तलामा पुगेर दृश्यहरू हेर्न पाउने व्यवस्था हुनेछ।'
होटलको भुइँ तलामा दुइटा रेस्टुरेन्ट हुनेछन्। यी रेस्टुरेन्ट निर्माण कम्पनी आफैंले वा अरू कुनै कम्पनीले चलाउने भन्नेबारे निश्चित भइसकेको छैन।
यी रेस्टुरेन्टमा एकैपटकमा दुई सय जना बसेर खाना मिल्छ।
पहिलो तलामा पाहुनाका लागि बस्ने र आराम गर्ने ठाउँ हुनेछ। यो तलामा दुई सय जना बस्न मिल्ने सेमिनार हल पनि हुनेछ। साथै आधुनिक भान्सा अटाउनेछ। यो भान्सा भने निर्माण कम्पनीले नै सञ्चालन गर्नेछ।
अध्यक्ष शर्माका अनुसार होटलमा बन्दिपुरका रैथाने परिकार पकाइनेछ। बन्दिपुरमा विभिन्न समुदायहरू छन्। यी समुदायको एउटा/एउटा विशेष परिकार राख्न सके ब्रान्डिङ पनि हुने उनको विश्वास छ।
उनले भने, 'रैथाने परिकार समेट्नु र प्रवर्द्धन गर्नु हाम्रो उद्देश्य पनि हो।'
यससँगै होटलमा नेपाली र कन्टिनेन्टल खाना पाइनेछ।
दोस्रो तलादेखि आठौं तलासम्म ८० वटा कोठा हुनेछन्। बन्दिपुरमा अहिलेसम्म कुनै एउटा होटलमा यति धेरै कोठा छैनन्। त्यसैले क्वीन टावर नै सबैभन्दा धेरै कोठा भएको होटल हुने शर्माले बताए। यहाँ बस्न कम्तीमा १५ हजारदेखि बढीमा एक लाख रूपैयाँसम्म लाग्नेछ।
प्रेसिडेन्टल स्विट रूममा बस्न एक रातको एक लाख रूपैयाँ पर्ने हो। यो कोठा अरूभन्दा लक्जरियस (आरामदायी) र थुप्रै सुविधासहितको हुनेछ। पूरा होटलमा यस्तो कोठा एउटा मात्र हुनेछ।
त्यस्तै चारवटा स्विट रूम हुनेछन्। सुपेरियर २४ वटा, २० वटा प्रिमियर, दुइटा हनिमुन रूम हुनेछन् भने बाँकी डिलक्स रूम। डिलक्स रूममा बस्न एक रातको १५ हजार रूपैयाँ पर्नेछ।
होटल भवनको नवौं र दसौं तलामा स्पा, हेल्थ क्लब, मेडिटेसन सेन्टर लगायत हुनेछ। आठ सय जना क्षमताको बैंक्वेट हल, विवाह घर पनि हुनेछ।
एघारौं तलामा 'स्वीमिङ पुल वीथ बार' हुनेछ। त्यसैगरी बाह्रौं तलामा अर्को रेस्टुरेन्ट।
'हामीले रेस्टुरेन्टलाई बढी प्राथमिकता दिएका छौं,' उनले भने, 'यो अरू कम्पनीले पनि चलाउन पाउनेछन्।'
यसभन्दा माथिल्ला तलामा भने दृश्यावलोकन र अन्य अतिरिक्त क्रियाकलापका लागि सुविधा राख्ने तयारी छ। होटलमा क्यासिनो पनि सञ्चालन गरिने अध्यक्ष शर्मा बताउँछन्।
क्वीन टावर केबलकार चढेर पनि पुग्न सकिन्छ। यसका निम्ति छुट्टै बाटो छ।
कम्पनीले बन्दिपुरमा केबलकार सञ्चालनको पनि तयारी गरिरहेको छ। हाल बनाइरहेको केबलकार अलग किसिमको छ। रेस्ट्रोकार नाम दिइएको यो केबलकारभित्रै बस्न, खाना र सुत्न मिल्छ। दिउँसो यात्रा गर्न मिल्ने र राती खान र सुत्न मिल्ने रेस्ट्रोकार यही महिनाबाट सञ्चालनमा ल्याउने तयारी छ।
'यही महिनाबाट परीक्षणका लागि सञ्चालनमा ल्याउँदैछौं,' उनले भने, 'जेठबाट व्यावसायिक रूपमा सञ्चालन हुनेछ।'
केबलकार र होटलको लागत तीन अर्ब ५० करोड रूपैयाँ रहेको उनले बताए।
त्यस्तै कम्पनीले होटलको सभाहल पछाडिको भिरमा थप एक अर्ब रूपैयाँ लगानीमा स्काइ-वाक र बन्जी जम्प निर्माण गर्दैछ। सिसाको पुल बनाउन अहिले चिनियाँ कम्पनीले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम गरिरहेको छ। डिपिआर तयारपछि निर्माणको काम सुरू हुने अध्यक्ष शर्मा बताउँछन्। एक वर्षमा सम्पन्न गरी सञ्चालनमा ल्याउने कम्पनीको योजना छ।
आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै बन्दिपुरमा साहसिक खेलहरू थपिरहेको शर्माले बताए।
हाल बन्दिपुरमा वार्षिक पाँच लाख पर्यटक आवतजावत गर्छन्। यिनै साहसिक खेलसँगै बन्दिपुर पुग्ने पर्यटकका लागि पाँचतारे होटल तयार गरिएको उनको भनाइ छ।
बन्दिपुरमा पर्यटक बढाएर अझ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य रहेको पनि उनले बताए।
'हाम्रो प्राथमिकता भनेकै बन्दिपुरलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउनु हो। धेरैभन्दा धेरै पर्यटक भित्र्याउनु हो,' अध्यक्ष शर्माले भने, 'यसका लागि बन्दिपुरलाई एड्भेन्चर हब नै बनाइरहेका छौं।'