पर्यटकीय नगरी पोखरामा पाँचतारे होटल थपिँदैछ। आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी बाराही सेदी लिमिटेडले पाँचतारे होटल बनाइरहेको छ।
सेदी हाइटमा बनिरहेको यो होटलको नाम 'होटल बाराही सेदी' हुनेछ। यहाँबाट फेवाताल र आसपासका मनोरम दृश्य अवलोकन गर्न सकिने निर्माण कम्पनीका कार्यकारी निर्देशक विप्लव पौडेलले बताए। यो होटल आन्तरिक र विदेशी पर्यटकका निम्ति आकर्षक गन्तव्य हुने उनको भनाइ छ।
'पोखराको मुख्य आकर्षण नै लेकसाइड हो। यहाँ आउने अधिकांश पर्यटकले यही ठाउँ रूचाउँछन्,' उनले भने, 'लेकसाइडसँगै आसपासका हिमाल हेर्न पाइने भएकाले बाराही सेदीमा पर्यटकको आकर्षण हुने देखिन्छ।'
कम्पनीले पहिलोपटक पाँचतारे होटलमा लगानी गर्न लागेको हो। हाल पोखरामा फूलबारी र पोखरा ग्र्यान्ड मात्र पाँचतारे होटल हुन्। यीमध्ये फूलबारी होटल लामो समयदेखि बन्द छ।
त्यसैले पनि बाराही सेदी यहाँको आकर्षण बन्ने पौडेल बताउँछन्।
६३ रोपनीमा फैलिएको यो होटल बनाउन पाँच अर्ब २५ करोड रूपैयाँ हाराहारी लगानी अनुमान छ। होटलमा बाराहीको ५१ प्रतिशत सेयर स्वामित्व रहने छ। ३९ प्रतिशत संस्थापक र बाँकी १० प्रतिशत सर्वसाधारणलाई प्राथमिक सेयर जारी गर्ने पौडेलले जानकारी दिए।
बाराही सेदीको मुख्य आकर्षण यहाँका कोठा हुन्। होटलका सबै कोठाबाट फेवाताल देखिन्छ।
'उचाइमा भएकाले यहाँका सबै कोठाबाट फेवातालसँगै वरपरका हिमशृंखला अवलोकन गर्न सकिन्छ,' उनले भने।
होटलमा चार वटा ब्लक हुनेछन्। अहिले पहिलो र दोस्रो ब्लकको काम आधाजसो सकिइसकेको होटलका प्रोजेक्ट म्यानेजर विमल लम्सालले बताए।
उनका अनुसार चार ब्लकमध्ये पहिलो, दोस्रो र तेस्रोमा गरी कुल एक सय पचास वटा कोठा हुनेछन्। डिजाइनअनुसार पहिलो ब्लक ६ तलाको हुनेछ। यसमा ६० वटा कोठा हुनेछन्। सात तलाको दोस्रो र दस तलाको तेस्रो ब्लक दुवैमा गरी ९० वटा कोठा हुनेछन्।
यी कोठामध्ये एक सय ४० वटा डिलक्स र सेमी डिलक्स हुनेछन्। बाँकी दस वटालाई स्विट र जुनियर स्विट बनाइनेछ।
होटल प्रवेशका लागि दोस्रो ब्लकमा लिफ्ट हुनेछ। वरपरका दृश्य अवलोकनका लागि मात्र पनि लिफ्ट प्रयोग गर्न सकिनेछ। त्यस्तै दसतले तेस्रो ब्लकमा सबभन्दा माथि हेलिप्याड हुनेछ। यसका लागि पाँच रोपनी जग्गा छुट्याइएको छ। प्राइभेट हेलिकप्टर लिएर पनि बाराही सेदी जान सकिन्छ।
नौ तलाको चौथो ब्लकमा भने क्यासिनो सञ्चालन हुनेछ।
बाराही सेदीको अर्को आकर्षण भनेको 'सर्भिस हाउस' हो। यहाँ ११ वटा सर्भिस हाउस हुनेछन्। छुट्टाछुट्टै यी भवन लामो समय बस्न आउने पर्यटकका लागि हो। लामो समय बस्ने पर्यटकले होटलमै घरको जस्तो सहजता खोज्ने भएकाले यो सुविधा थपेको पौडेल बताउँछन्।
'चार वटा बेडरूम सहितको घर लामो अवधि बस्ने पाहुना, विमान चालक दलका सदस्य लगायतलाई लक्षित छ,' उनले भने, 'होटलले सबै सेवा दिनेछ। तर घरमै बसेजस्तो महसुस हुनेछ। यस्तो सेवा पोखरामा पहिलो हुनेछ।'
बाराही सेदीमा १२ सय जना अटाउने सभा हल, तीन वटा रेस्टुरेन्ट, स्पा, हेल्थ क्लब, स्वीमिङ पुल लगायत सुविधा छ।
यहाँ एक रात बस्न कोठा र सुविधा हेरेर कम्तीमा १८ हजारदेखि एक लाख ८० हजार रूपैयाँसम्म लाग्नेछ।
'होटल सञ्चालनमा आएपछि तीन सयभन्दा बढीले रोजगारी पाउनेछन्,' पौडेलले भने।
सन् २०१८ बाट बन्न थालेको होटल सन् २०२५ अप्रिलसम्म सञ्चालनमा ल्याउने कम्पनीको योजना छ।
चार दशकदेखि पर्यटन उद्योगमा सक्रिय बाराही ग्रुपको अगुवाइमा निर्माण भइरहेको यो होटल गण्डकी प्रदेशको पहिलो पब्लिक लिमिटेड कम्पनी हो। बाराही ग्रुपले सन् १९९३ मा पोखरामा चारतारे 'होटल बाराही' सञ्चालनमा ल्याएको थियो। त्यस्तै सन् २०१९ मा चितवनको सौराहामा 'बाराही जंगल लज' र सराङकोटमा 'सराङकोट माउन्टेन लज' सञ्चालनमा ल्याएको छ।
बाराहीले काठमाडौंमा पनि होटल खोल्न लागेको छ। संघीय राजधानीमा आफ्नो उपस्थिति देखाउन ठमेलमा बिजनेस कम्प्लेक्ससहितको चारतारे होटल 'बाराही प्लाजा' सञ्चालनको अन्तिम तयारीमा रहेको पौडेलले जानकारी दिए। यो प्लाजा नौ तला अग्लो छ।
यसबाहेक मुस्ताङ र लुम्बिनीमा पनि होटल खोल्ने योजना कम्पनीको छ।