कोरोना महामारीपछि पहिलोपटक एकै महिनामा झन्डै एक लाख पर्यटक नेपाल घुम्न आएका छन्।
पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल आएका हुन्। कोरोनाअघि, सन् २०१९ मार्चमा १ लाख ९ हजार पर्यटक आएका थिए। विस्तारै पर्यटक आगमन पुरानै अवस्थामा फर्किँदै गरेको बोर्डले जनाएको छ।
यस वर्ष जनवरीमा ५५ हजार र फेब्रुअरीमा ७३ हजार मात्र पर्यटक आएका थिए।
मार्चमा सबभन्दा धेरै भारतीय पर्यटक भित्रिएका छन्। भारतबाट झन्डै २६ हजार, अमेरिकाबाट साढे नौ हजार, बेलायतबाट ६ हजार, जर्मनी र थाइल्यान्डबाट चार/चार हजार, श्रीलंका, फ्रान्स र अस्ट्रेलियाबाट तीन/तीन हजार पर्यटक आएका छन्। त्यस्तै चीन र दक्षिण कोरियाबाट साढे दुई/साढे दुई हजार पर्यटक आएका छन्।
बोर्डका अनुसार पर्यटकीय सिजन सुरू भएसँगै आगमन बढेको हो। पर्यटनका लागि अंग्रेजी महिनाअनुसार वर्षमा दुइटा सिजन हुन्छन्।
पहिलो मार्च, अप्रिल र मे।
दोस्रो सेप्टेम्बर, अक्टोबर नोभेम्बर र डिसेम्बर।
यी दुवै सिजनमा नेपाल आउने पर्यटक विशेष पदयात्रा र पवर्तारोहणमा रूचाउने टानका प्रथम उपाध्यक्ष प्रदिप पण्डित बताउँछन्। मार्चमा हिमाल चढ्ने पर्यटक बढेका छन्। एकै महिनामा झन्डै एक हजारले अनुमति लिएका हुन्।
सबभन्दा बढी रूचाइएका गन्तव्य सगरमाथा, अन्नपूर्ण, कञ्चनजंघा, लाङटाङ लगायत हुन्।
'विदेशी पर्यटकले हिमालय शृंखला हेर्न मन पराउँछन्। त्यसकारण पनि उही गन्तव्यमा हरेक वर्ष पदयात्रा र पवर्तारोहणमा जानेहरू थपिन्छन्,' उनले भने।
२०७२ को भुइँचालोपछि लाङटाङ रूटमा भने पर्यटक बढ्न नसकेको उनले बताए।
नेपाल घुम्न आउनेमध्ये २० प्रतिशत पर्यटक ट्रेकिङ जान्छन्। कोभिडअघि ट्रेकिङ जाने पर्यटक संख्या निकै राम्रो थियो। टानको तथ्यांकअनुसार सन् २०१८ मा करिब एक लाख ७९ हजार र २०१९ मा एक लाख ७२ हजार पर्यटकले पदयात्रा तथा पवर्तारोहण गरेका थिए।
कोभिडका कारण सन् २०२० यो संख्या घटेर ३५ हजार ८ सयमा झर्यो। त्यस्तै सन् २०२१ मा १५ हजार पाँच सय पर्यटक पदयात्रामा गएको प्रथम उपाध्यक्ष पण्डितले जानकारी दिए।
सिजनमा पर्यटक आगमनले व्यवसायीहरू उत्साहित छन्। लामो समयदेखि थलिएको पर्यटन क्षेत्र अब पुरानै अवस्थामा फर्किने देखिएको छ।
आगामी दिनमा ट्रेकिङ जाने पर्यटक वृद्धि हुने पण्डित बताउँछन्।
'सिजन सुरू हुँदै गर्दा पर्यटक आगमन राम्रै देखिएको छ। यो हिसाबले पनि आगामी महिनामा अझ धेरै पर्यटक भित्रिने र पुरानै लयमा फर्किने संकेत छ,' उनले सेतोपाटीसँग भने।
सरकारले यो सिजनका लागि हिमाल आरोहण अनुमति खुलाइसकेको छ। हाल मुलुकका कुल चार सय १४ वटा हिमाल आरोहणका लागि खुला छन्। पर्यटन विभाग र नेपाल पर्वतारोहण संघले छुट्टाछुट्टै हिमालका लागि आरोहण अनुमति दिने गर्छन्। हालसम्म विभाग र संघमार्फत एक हजार जनाले विभिन्न हिमाल चढ्न अनुमति लिइसकेका छन्।
पर्यटन विभागले ६ हजार ५ सयभन्दा माथिका हिमाल आरोहणका लागि अनुमति दिन्छ। विभागबाट हालसम्म ५३ जना महिला र दुई सय ७० जना पुरूष गरी कुल दुई सय ७० जनाले विभिन्न हिमाल चढ्न अनुमति लिइसकेका छन्।
सरकारले संघलाई २७ वटा हिमाल व्यवस्थापनको जिम्मा दिएको छ। यसमा ६ हजार ५ सयभन्दा कम उचाइ भएका हिमाल पर्छन्। संघका अध्यक्ष निमा निरू शेर्पाका अनुसार हालसम्म सात सय ३० जनाले विभिन्न हिमाल चढ्न अनुमति लिएका छन्।
कोभिडपछि यसपालि हिमाल आरोहणमा पर्यटक संख्या उत्साहजनक देखिएको संघका अध्यक्ष शेर्पा बताउँछन्।
'कोरोनापछिका वर्षको तुलनामा यसपालि आरोहण तथा ट्रेकिङमा जाने पर्यटक बढेका छन्,' उनले भने, 'सिजनको पहिलो महिनामै पर्यटकको संख्या ह्वात्तै बढेको देखिन्छ। यसपालि पर्यटक सन् २०१९ कै हाराहारीमा पुग्ने देखिन्छ।'
पर्यटक बढैसँगै होटल व्यवसाय पनि लयमा फर्कने व्यवसायीहरूको अपेक्षा छ। हाल मुलुकभर होटलहरूको औसत 'अकुपेन्सी' २५ प्रतिशत मात्र छ।
चीनले गत मार्च १५ देखि आफ्ना नागरिकलाई विदेश घुम्न खुला गरेको छ। उसले घुम्नैपर्ने देशको सूचीमा नेपाललाई पनि समावेश गरेको छ। यसले आगामी दिनमा हामीकहाँ चिनियाँ पर्यटक बढ्ने संकेत दिएको संघ प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन्।
'लामो समयको प्रतीक्षापछि चीनले आफ्ना नागरिकलाई घुम्न जान दिएको छ। चीन हाम्रो दोस्रो ठूलो बजार हो। यसले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिएको छ,' उनले भने।
तर यसका लागि पनि प्याकेज र योजनाअनुसार काम भएन भने यो उत्साह निराशामा परिणत हुन सक्ने उनको भनाइ छ।
चीनबाट नेपाल आउने पर्यटकमध्ये धेरैजसोले 'एड्भेन्चर' मन पराउँछन्। यसलाई लक्षित गरेर हामीकहाँ साहसिक खेलहरू र सुविधा सम्पन्न होटल थपिइरहेका छन्। सरकारले अब चिनियाँ नागरिककै लागि कार्यक्रमहरू बनाउनुपर्ने र हवाई सेवा थप्नुपर्ने शाहले बताए।
पुराना नीतिअनुसार पर्यटन प्रवर्द्धन गरेर नहुने पनि उनको भनाइ छ।