अन्तर्राष्ट्रिय ब्राण्ड बिल्डिङ, मार्केटिङ र कम्युनिकेसन कन्फरेन्स- ब्राण्ड्स एण्ड वियोण्ड–२०२५ आयोजना हुने भएको छ।
भदौ १९ र २० गते ललितपुरको द प्लाजामा हुने सम्मेलनमा ब्राण्ड बिल्डिङ, ब्राण्ड पोजिसनिङ, मार्केटिङ, स्टोरी टेलिङ सँगै क्रियटिभ दुनियाँका व्यावसायिक व्यक्ति तथा जिज्ञासुहरू सहभागी हुने आयोजकले जनाएको छ।
ब्राण्ड गफले दोस्रो संस्करणको रूपमा सञ्चालन गर्न लागेको यो अन्तर्राष्ट्रिय कन्फरेन्स सन् २०२४ मा पहिलो पटक आयोजना गरिएको थियो। जसमा विश्वविख्यात क्रियटिभ डाइरेक्टर र ब्राण्ड स्टाटेजिष्टहरूको उपस्थिति रहेको थियो। यस संस्करणमा पनि अन्तर्राष्ट्रिय स्तरमा ब्राण्ड र मार्केटिङको क्षेत्रमा लामो समय काम गरी आफूलाई स्थापित गरेका ब्राण्ड क्रियटर्स र मार्केटर्सहरूको उपस्थिति रहने छ।
कार्यक्रममा मुख्य वक्ताका रूपमा दिल्लीका नरेश गुप्ता, मुम्बईका राजेश केभी, दुबईबाट सारा फोर्ब्स, श्रीलंकाबाट सोहन धर्मराजा सहभागी हुनेछन्। त्यस्तै, सिंगापुरबाट स्टेफन सेवार्ज र बंगलादेशबाट तफिक मुमद लगायत नेपाल आउँदैछन्।
उनीहरूले मार्केटिङको पछिल्लो ट्रेण्ड र स्टार्टेजी सँगसँगै केस स्टडीद्वारा सहभागीहरूको क्षमता विकास गर्नेछन्।
नेपाल विज्ञापन बोर्डको समेत सहकार्य रहेको यस कार्यक्रममा नेपालको विभिन्न ब्राण्ड क्रियटर्स र मार्केटर्सहरूसँगको अन्तर्क्रिया समेत समावेश हुनेछ।
२ दिनसम्म चल्ने कार्यक्रममा विभिन्न ८ विषयगत सेसनहरू सञ्चालन हुनेछन्। जसमा ब्राण्ड र मार्केटिङको क्षेत्रमा विश्वमा कहाँ के भैरहेको छ? अहिलको ट्रेण्ड के छ? डिजिटल मिडिया र एआई सम्मको आजको युगमा अबको मार्केटिङ बजार कस्तो छ? अवसर कस्ता छन् र चुनौतीहरू के छन् भन्ने जस्ता विषयहरूमा छलफल र मन्थन हुनेछ।