राष्ट्रिय तथ्यांक कार्यालयले एक महिनाअघि सार्वजनिक गरेको देशव्यापी औसत आयुको तथ्यांकबारे प्रतिनिधिसभामा प्रश्न उठेको छ।
जनगणना २०७८ अन्तर्गत कर्णालीको औसत आयुसम्बन्धी तथ्यांकमा माओवादी सांसद छिरिङ लामा तामाङले आइतबार प्रश्न उठाएकी हुन्। उनी जुम्लाबाट प्रतिनिधित्व गर्छिन्।
'जनगणना २०७८ ले कर्णालीको औसत आयु नेपालको औसतभन्दा बढी देखाएको छ। यो निकै रोचक तथ्यांक हो। दस वर्षअघि सबभन्दा कम औसत आयु भएको कर्णालीको आयु कसरी बढ्यो? यो तथ्यांक प्रकाशित हुने समय राज्यले खासै ध्यान नदिएको कर्णाली क्षेत्रमा के कारणले औसत आयुमा सुधार आयो?' माओवादी सांसद लामाले संसदमा भनिन्।
यसअघि पनि कर्णालीको औसत आयुलाई लिएर धेरैले चासो राखेका थिए। स्वास्थ्य सुलभता, शिक्षामा पहुँच, पूर्वाधार विकासको अवस्था लगायत सूचकमा अन्य प्रदेशभन्दा पछाडि परेको कर्णाली जिल्लाका मान्छेको आयु के कारणले बढी छ भन्नेमा धेरैको चासो थियो।
तथ्यांक कार्यालयको प्रतिवेदनअनुसार नेपालको औसत आयु ७१ वर्ष ३ महिना छ। कर्णालीको भने १४ महिना बढी अर्थात् ७२ वर्ष ५ महिना छ। तथ्यांकले सात प्रदेशमध्ये सबभन्दा बढी औसत आयु नै कर्णालीको देखाएको छ।
तथ्यांक कार्यालयसँग २०६८ को जनगणनाका आधारमा कर्णालीको औसत आयु कति थियो भन्ने तथ्यांक छैन।
त्यति बेला पाँच विकास क्षेत्रअनुसार औसत आयु निकालिएको थियो। मध्य-पश्चिम विकास क्षेत्रको औसत आयु ६४ वर्ष ५ महिना थियो। मध्य-पश्चिम विकास क्षेत्रमा अहिले कर्णाली प्रदेशअन्तर्गत रहेका १० जिल्लासहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पाँच जिल्ला पनि थिए।
राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डिराज लामिछाने भने धेरैलाई आश्चर्यजनक लागे पनि जनगणनाले यही देखाएको र यसैलाई आधिकारिक मान्नुपर्ने बताउँछन्।
'केही महिनामै विस्तृत प्रतिवेदन आउँदै छ,' राष्ट्रिय जनगणना अभियानको नेतृत्व गरेका लामिछानेले भने, 'कर्णालीको औसत आयु राष्ट्रिय औसतभन्दा कसरी कम देखियो भन्ने अब विस्तृत प्रतिवेदनबाट थाहा हुन्छ।'
उनका अनुसार जन्मदर, मृत्युदर र बसाइँसराइको प्रभावका आधारमा औसत आयु निकालिन्छ। यी तीन आधारबाट पनि कर्णालीको औसत आयु बढेको पुष्टि हुने उनको भनाइ छ।
'जनगणना तथ्यांकअनुसार देशको औसत जन्मदरको तुलनामा कर्णालीको जन्मदर बढी छ। देशको औसत मृत्युदरभन्दा कर्णालीको मृत्युदर कम छ। त्यहाँको आन्तरिक बसाइँसराइ अन्य प्रदेशको दाँजोमा सबभन्दा बढी छ। यिनै आधारमा कर्णालीको औसत आयु बढी देखिएको हो,' उनले भने।
२०७८ को जनगणनाअनुसार कोरा जन्मदर कर्णालीमा सबभन्दा धेरै छ। कोरा जन्मदर भनेको कुनै निश्चित अवधिमा जनसंख्याको अनुपातमा जन्मिएको शिशुहरूको संख्या हो। जनगणनाको समय (एक वर्ष अवधि) मा एक हजार बराबर कति जना शिशु जन्मिएका छन् भनेर उक्त तथ्यांक निकालिएको हो।
यस्तो जन्मदर नेपालभरि एक हजार जनसंख्या बराबर औसत १४.२१ जना छन्। कर्णालीका भने एक हजार जनसंख्या बराबर १८.६८ जना छन्।
प्रजनन् दरमा पनि कर्णाली अगाडि देखिएको छ। यहाँ १५ देखि ४९ वर्षसम्मको एक महिलाले प्रजनन् अवधिभर जन्माउने जीवित बच्चाको संख्या नै कुल प्रजनन् दर हो। यस्तो दर देशभरिमा औसत एक हजार बराबर १९ जना रहेकोमा कर्णालीमा २२ जना छ।
मृत्युदर भने कर्णालीमा कम छ। मृत्युदर पनि प्रतिहजार जनसंख्याका आधारमा निकालिएको हो। कुनै निश्चित ठाउँमा एक वर्षभरिमा एक हजार जनसंख्या बराबर मृत्यु हुने व्यक्तिहरूको संख्याका आधारमा कोरा मृत्युदर निकालिन्छ।
राष्ट्रिय रूपमा एक हजार मानिस बराबर ६.८१ जनाको मृत्यु हुने गरेको छ। तर कर्णालीमा ४.९९ जना छ।
यहाँ जन्मको हिसाब स्वाभाविकजस्तो लागे पनि कर्णालीको मृत्युदर किन अन्यत्रभन्दा कम छ भन्ने प्रश्न आउँछ। यसलाई लामिछाने बसाइँसराइसँग जोड्छन्।
एक वर्षमा कर्णाली प्रदेशको एक लाख जनसंख्या बराबर तीन हजार सात सयको बसाइँसराइ भएको छ। त्यसमा पनि बढी उमेरका मानिसको बसाइँसराइ बढी पाइएको लामिछाने बताउँछन्।
'हामीले भित्री तथ्यांक पनि केलायौं। उमेर छिप्पिएका पाका मानिसको कर्णाली प्रदेशबाट बढी बसाइँसराइ भएको पाइयो। स्वाभाविक रूपमा उनीहरूको मृत्युदर अर्को प्रदेशमा देखिने भयो,' उनले भने, 'यसले अर्को प्रदेशको मृत्युदर बढ्न गयो भने कर्णालीको घट्यो। यसले पनि कर्णालीको औसत आयुमा प्रभाव पार्यो।'