सडक विभागले समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्प्नीलाई जरिवाना गराउने र त्यसपछि पनि अटेर गर्नेसँगको सम्झौता रद्द गर्ने बताएको छ।
विभागले बुधबार पत्रकार सम्मेलन आयोजना गरी हालसम्म ठेक्का सम्झौता अनुरुप कार्य सम्पन्न नगर्ने ठेकेदार कम्पनीसँगको सम्झौता क्रमिकरुपमा रद्द गरिँदै जाने बताएको हो।
‘सडक निर्माण कार्यको सम्झौता गर्दादेखि नै हाम्रो मूख्य ध्येय भनेको त्यसलाई गुणस्तरीय र समयमै सम्पन्न गराउनु हो’, विभागका प्रवक्ता मुक्ती गौतमले भने, ‘त्यसैले यी दुई कसीभित्र रहेर कार्य नगर्ने ठेकेदार स्वत कारबाहीमा पर्छन्।’
गौतमले भूकम्प र नाकाबन्दीका कारण समयमै कार्य सम्पन्न गर्न नसेकाका ठेकेदार कम्पनीलाई काममा तिब्रता दिन दबाबस्वरुप सचेत गराउने, स्रोत साधन थप गरेर तिब्र कार्य गर्न लगाउने र पेश्की रकम जफत गर्ने कार्य पहिलो चरणमा राखिएको बताए।
त्यसपछि पनि काम नगर्ने कम्पनीलाई कारबाही थाल्ने र सम्झौता रद्दसम्मको कार्य गरिने उनले दाबी गरे।
गौतमले हालै मात्र समयमै कार्य सम्पन्न नगरेकोमा बालाजु¬ त्रिशुली सडक खण्डको आराभाली सैलुङ निर्माण सेवालाई १८ लाख जरिवाना तिराइएको बताए। सो कम्पनीले जरिवानाबाहेक अब जति दिन ढिला गर्छ त्यसका आधारमा प्रत्येक दिनको एक लाख ५० हजारका दरले थप रकम हर्जना तिराउँदै लगिने गौतमको भनाई छ।
त्यस्तै भक्तपुर–नगरकोट सडकको कार्य नसक्ने कम्पनीलाई ७ लाख हर्जना तिराइएको उनले जानकारी दिए। कोहलपुर–नेपालगन्ज निर्माण सेवाले निर्धारित समयमै कार्य नसकेकोप्रति ४ करोड जरिवाना गराइएको स्मरण गर्दै उनले अब यी कम्पनीलाई थप गरिएको समयमा पनि काम नसकेमा स्वतरुपमा ठेक्का सम्झौता रद्द हुने बताए।
देशभर अन्य थुप्रै कम्पनीलाई कारबाही थालिएकाले अब सडक निर्माणको कार्यमा ढिलासुस्ती गर्नेप्रति विभाग कडारुपमा प्रस्तुत हुने उनले दाबी गरे।
देशभरीका सडकलाई खाल्डाखुल्डी विहिन बनाउने कार्य समेत तिब्र रुपमा अघि बढाइएको गौतमको भनाइ छ।
‘खाल्डाखुल्डी पुर्ने कार्यलाई अभियानमार्फत अघि बढाएका छौँ। यो कार्य तिब्र रुपमा भइरहेको छ’, गौतमले भने, ‘यदि कसैले खाल्डाखुल्डी बारे विभागसँग गुनासो गर्छ भने उसको गुनासो तत्काल सुनुवाई गर्छौँ।’