बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र २७ महिनामा बनाइसक्ने भनिएको थियो। तर निर्माण सुरू भएको साढे ६ वर्ष भइसक्दा पनि यो बन्न सकेको छैन।
यसको शिलान्यास २०७६ जेठ १३ गते भएको थियो। त्यही बेला २०७८ भदौसम्म बनाइसक्ने बताइएको थियो। तर अहिलेसम्म प्रदर्शनी केन्द्रको ९३ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।
प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाईका सूचना अधिकारी शोभाकर ज्ञवालीका अनुसार पाँचौं पटक थप गरिएको म्याद पनि निर्माण कम्पनीले गुजारिसकेको छ। गत वर्ष मंसिरमा थपिएको म्याद यही मंसिर ८ गते सकियो।
यो म्यादमा पनि ७ प्रतिशत काम बाँकी रहेपछि निर्माण कम्पनीले ५ महिना म्याद थप गर्न भन्दै निवेदन पेस गरेको छ।
पछिल्लो पटक एक वर्षको म्याद थप गर्दा १५ प्रतिशत काम बाँकी थियो। थप गरिएको एक वर्षमा निर्माण कम्पनीले ८ प्रतिशत मात्र काम गर्यो। उसले अहिले माग गरेको ५ महिना थप भए पनि बाँकी काम पूरा गर्छ भन्नेमा कार्यान्वयन इकाई विश्वस्त हुन सकेको छैन।
निर्माण कम्पनीले भने पछिल्लो पटक थपिएको समय सकिनै लाग्दा कामलाई तीव्रता दिँदै पुनः म्याद थपका लागि वातावरण बनाउने प्रयास गरिरहेको छ।
'अहिले प्रदर्शनी केन्द्रमा एक सय हाराहारीले काम गरिरहेका छन्,' सूचना अधिकारी ज्ञवालीले भने।

निर्माण कम्पनीले म्याद थपका लागि पठाएको निवेदन सहरी विकास मन्त्रालयमा पठाइएको छ। यो निर्माण कार्य यही मन्त्रालय मार्फत अगाडि बढाइएकाले निर्माण व्यवसायीसँग म्याद थप गर्ने वा नगर्ने भन्ने निर्णय पनि सोही मन्त्रालयबाटै हुने ज्ञवालीले बताए।
'समयमा बजेट व्यवस्था भयो भने अबको ५ महिनामा निर्माण सक्छु भनेर कम्पनीले निवेदन बुझाएको छ। सो निवेदन हामीले माथि नै पठाएका छौं। अब म्याद थप गर्ने वा नगर्ने भन्ने विषय केन्द्रबाटै निर्णय भएर आउँछ,' उनले भने।
निर्माण व्यवसायीले म्याद थप गर्ने समयमा कामलाई तीव्रता दिए जस्तो गर्ने र म्याद थपिइसकेपछि सुस्ताउने प्रवृत्तिको मारमा प्रदर्शनी केन्द्र पनि परेको उनले बताए।
निर्माण कम्पनी क्यापासिट इन्फ्रा प्रोजेक्ट–गौरी पार्वती जेभरले भ्याट बाहेक एक अर्ब दुई करोड रूपैयाँ लागतमा निर्माण जिम्मा लिएको थियो। भौतिक प्रगति ९३ प्रतिशत हुँदा निर्माण कम्पनीले हालसम्म ७६ प्रतिशत अर्थात् करिब ८० करोड रूपैयाँ लगेको छ।
काम सम्पन्न हुँदासम्म भ्याट सहित २५ करोड रूपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी भए पनि सरकारले चालु वर्षका लागि बजेट पर्याप्त विनियोजन गरेको छैन। सोही कारण पनि निर्माण कार्यमा ढिलाइ भइरहेको प्रदर्शनी केन्द्रका सूचना अधिकारी ज्ञवालीले बताए।
उनका अनुसार प्रदर्शनी केन्द्र निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा गैरआवासीय भवन निर्माण शीर्षकमा जम्मा ८ करोड रूपैयाँ विनियोजन गरेको थियो। त्यसमध्ये २ करोड रूपैयाँ भुक्तानी गरिएको छ।
निर्माण कम्पनीले थप भुक्तानीका लागि ६ करोड रूपैयाँ हाराहारीका बिल–भौचर पेस गरिसकेको छ।

पेस भएका बिल–भौचर अनुरूपको रकम भुक्तानी गर्दा केन्द्रका लागि चालु आर्थिक वर्षमा छुट्टयाएको सबै बजेट सकिन्छ।
यो आयोजनाले सुरूदेखि नै बजेट अभाव झेल्दै आएकाले पनि निर्माण कम्पनीले ढिलासुस्ती गरेको सूचना अधिकारी ज्ञवालीले बताए।
'नेपालको बजेट प्रणालीमा अर्बभन्दा माथिका आयोजनामा बजेट अभाव हुँदै आएको छ। प्रदर्शनी केन्द्र पनि त्यो समस्याबाट बाहिर छैन। विगतदेखि नै अघिल्लो वर्ष सम्पन्न कामको भुक्तानी अर्को वर्षमा लिने गरी काम भइरहेकाले अन्तिम समयमा आएर बजेटका कारण काम नरोकिने उनले बताए।
बुटवल मण्डपको १६ बिघा जग्गामध्ये ६.४ बिघामा बनिरहेको केन्द्रमा अहिले टायल–मार्बल बिछ्याउने, मुख्य हललाई तीन भागमा विभाजन गर्न मिल्ने गरी पोर्टेबल पार्टेसन गर्ने, भित्र र बाहिर नाली निर्माण, विद्युत जडान लगायतत काम भइरहेका छन्।
बुटवल मण्डपको पूर्वतर्फको ९.६ बिघामा भने यसअघि नै अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र सञ्चालनमा आइसकेको छ।
केन्द्रका बाहिरी संरचनाको निर्माण गत वर्ष नै सकिइसकेको छ। नेपालकै ठूलो भनिएको यो प्रदर्शनी केन्द्र नवीन प्रविधियुक्त बन्ने छ।
बुटवलका व्यावसायिक संघसंस्थालाई हरेक वर्ष खुला आकाशमुनि औद्योगिक प्रदर्शनी तथा मेला महोत्सव गर्दा बर्सेनि लाखौं रूपैयाँ अस्थायी संरचना निर्माणमै खर्च गर्नुपर्ने बाध्यता छऽ। यो समस्या समाधानका निम्ति स्थायी रूपमै केन्द्र बनाउन थालिएको थियो।
साढे ६ वर्षसम्म पनि काम पूरा नभएपछि निर्माणाधीन प्रदर्शनी केन्द्रमै तीन वटा औद्योगिक प्रदर्शनी र व्यापार महोत्सव सम्पन्न भइसकेका छन्। रूपन्देही उद्योग संघले यस वर्ष पनि यही पुस ३ गतेदेखि निर्माणाधीन केन्द्रमै औद्योगिक प्रदर्शनी गर्दैछ।

पश्चिम क्षेत्रको प्रमुख सहर बुटवलमा नियमित औद्योगिक प्रदर्शनी र व्यापारिक मेला मार्फत आर्थिक गतिविधि बढाउन सहयोग होस् भनेर प्रदर्शनी केन्द्र निर्माण थालिएको थियो।
बाहिरबाट हेर्दा तीन वटा अलग अलग भवन देखिने गरी डिजाइन गरिएको केन्द्रको मुख्य भवनमा आवश्यकता अनुसार 'पार्टेसन' गरी अलगअलग गर्न मिल्ने गरी तयार गरिएको छ।
पश्चिमतर्फका तीन वटा भवनमा भने फुड कोर्ट, बैठक कक्ष र प्रशासनिक केन्द्र रहने छन्। फुड कोर्टमा २ हजार जनाले एकै पटक खाजा र खाना खान सक्ने छन्। प्रत्येक भवन भित्र अलग–अलग स्टेज छन्।
केन्द्रमा एकै पटक अटोमोबाइल्स बाहेक तीन प्रकृतिका मेला सञ्चालन गर्न सकिने छ। यहाँ हेभी इक्युपमेन्ट सहित कार, बस, डोजर लगायत गाडीको अटोमोबाइल्स प्रदर्शनीका लागि खुला प्रदर्शनी क्षेत्र समेत छ।
प्रदर्शनी केन्द्रको सबै निर्माण सकिँदा झन्डै साढे ८ सय स्टल सहभागी हुन सक्ने छन् भने एकै पटक १० हजार जनाले अवलोकन गर्न सक्ने छन्।
