असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण ३ प्रदेशका १० जिल्लामा ३२ जलविद्युत आयोजना प्रभावित भएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले संकलन गरेको सोमबार दिउँसोसम्मको प्रारम्भिक तथ्यांक अनुसार हाल विद्युत उत्पादन गरिरहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत आयोजना बाढीबाट प्रभावित भएका छन्।
विगतका वर्षहरूमा बाढीको पूर्वसूचना नहुँदा तथा प्राप्त सूचनाप्रति पनि विश्वस्त नहुँदा ठूलो मानवीय क्षति समेत हुँदै आएकोमा यस वर्ष पूर्वसूचना पाएका कारण आयोजनाहरूमा मानवीय क्षति नभएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए।
समयमै आवश्यक पूर्वतयारी गर्दा यसपटक भारी वर्षाको तुलनामा जलविद्युत आयोजनाहरूमा निकै कम मात्र भौतिक क्षति भएको पनि अध्यक्ष कार्कीले बताए।
बाढी पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको कोशी प्रदेशको इलाम जिल्लामा जलविद्युत आयोजनाहरू पनि धेरै प्रभावित भएका छन्। इलाममा मात्रै सञ्चालनमा आएका १५ वटा जलविद्युत आयोजनाहरूको उत्पादन बन्द भएको छ।
जसमा ४.५ मेगावाटको माइखोला, ८ मेगावाटको माइखोला क्यासकेड, २२ मेगावाटको माइखोला (सानिमा माइ), ७ मेगावाटको माइ क्यासकेड, ७.८ मेगावाटको सुपरमाइ, ९.६ मेगावाटको सुपरमाइ ए, ३ मेगावाटको सुपरमाइ ए क्यासकेड, ७.६ मेगावाटको जोगमाइ खोला, ५.२ मेगावाटको जोगमाइ क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाइ, ९.५ मेगावाटको माइबेनी, ९.९ मेगावाटको माथिल्लो माइ, ५.१ मेगावाटको माइ सी क्यासकेड, ४.९६ मेगावाटको पुवा २ र ३ मेगावाटको अपर पुवा १ जलविद्युत आयोजना इलाम जिल्लाका हुन्।
बाँकी दुई आयोजना मध्ये कोशी प्रदेशकै पाँचथर जिल्लामा रहेको १४.९ मेगावाटको हेवाखोला र बागमति प्रदेशमा रहेको ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजना प्रभावित भएका छन्। हाल लिखु बाहेक सबै आयोजनाको उत्पादन बन्द रहेको इप्पानले जनाएको छ। लिखु ४ को भने १ घण्टाभन्दा केही बढी समय मात्र उत्पादन बन्द भएको इप्पानको भनाइ छ।
निर्माणाधीन जलविद्युत आयोजनाहरूमा सबैभन्दा धेरै क्षति पहुँचमार्गमा देखिएको छ। मनाङमा रहेको ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत आयोजनाले बनाएको १२ किलोमिटर पहुँच सडकको धेरै ठाउँमा पहिरो गएको प्रवर्द्धक कम्पनी लालुपाते हाइड्रोपावरका सञ्चालक मोहनकुमार डाँगीले जानकारी दिए।
यही वर्षदेखि आयोजनाको निर्माण सुरू भएकाले पहुँच सडक सेट नभइसकेको अवस्थामा वर्षाले धेरै ठाउँमा बाटो बगाएको डाँगीले बताए।
निर्माणाधीन अवस्थामा रहेका आयोजना मध्ये सिद्धि हाइड्रोपावरद्वारा प्रवर्द्धित इलाममा रहेको १० मेगावाटको सिद्धिखोला जलविद्युत आयोजना १० दिनभित्र व्यवसायिक उत्पादनमा जाने तयारीमा रहेकोमा बाढीले क्षति पुर्याउँदा यसको विद्युत उत्पादन मिति पर सरेको छ।
पाँचथरमा रहेको २१.५ मेगावाटको सभाखोला बी र ९.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजनाको निर्माण सामाग्री र निर्माण उपकरणहरू नै बगाएको छ।
सिन्धुपाल्चोकमा रहेका ४ जलविद्युत आयोजनाको पहुँचमार्ग पनि बाढीले बगाएको छ। जसमा ३६.५१ मेगावाटको ब्रम्हायणी, १५.१५ मेगावाटको माथिल्लो ब्रम्हायणी, ४० मेगावाटको बलेफी र २२.५ मेगावाटको तल्लो बलेफी जलविद्युत आयोजनाको पहुँचमार्ग बाढीले बगाएको छ।
रसुवामा रहेको २० मेगावाटको लाङटाङ खोला, भोजपुरमा रहेको १५.५ मेगावाटको इर्खुवा खोला बी, १४.५ मेगावाटको माथिल्लो इर्खुवा, म्याग्दीमा रहेको २२.५ मेगावाटको माथिल्लो ठूलो खोला, लमजुङमा रहेको ६.८२ मेगावाटको हिडी खोला, रामेछापमा रहेको ४८.८ मेगावाटको खिम्ति २ र धादिङमा रहेको ४.५ मेगावाटको गसाली खोला जलविद्युत आयोजनाको पहुँचमार्ग लगायतका विभिन्न संरचनामा क्षति पुगेका कारण यी आयोजनाको विद्युत उत्पादन मिति पर सरेको छ।
सञ्चालनमा रहेका तथा निर्माणाधीन अवस्थाका आयोजनाहरूसम्म पुग्ने पहुँचमार्गहरू अवरुद्ध भएका कारण क्षतिको विस्तृत विवरण आउन भने अझै केही समय लाग्न सक्ने इप्पानले जनाएको छ।