सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल दोभान सडक खण्डको सिद्धबाबामा निर्माणाधीन सुरुङ मार्गको निर्माणको कामले पछिल्लो समय गति लिएको छ।
पाँच वर्षमा निर्माणको काम सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग २०७८ साल फागुनमा ठेक्का सम्झौता भएको थियो।
ठेक्का सम्झौताअनुसार २०८३ सालभित्र सुरूङमार्ग निर्माणको काम पूरा गर्नुपर्छ। निर्माण अवधिको पाँच वर्षमध्ये तिन वर्ष ४ महिना पूरा भएको छ। सुरूङमार्ग निर्माण आयोजनाका अनुसार यो अवधिमा ५७.५१ प्रतिशत भौतिक निर्माणको काम पूरा भएको छ।
तर, ठेक्का सम्झौता भएको दुई वर्षमा जति काम पूरा भएको थियो त्यो भन्दा बढी भौतिक प्रगति पछिल्लो चार महिनामै भएको छ।
सुरुको दुई वर्षमा सुरूङमार्गको जम्मा ११ प्रतिशत मात्र काम भएको थियो भने पछिल्लो चार महिनामै झन्डै १२ प्रतिशत भौतिक प्रगति भएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानसम्मको करिब ५ किलोमिटर क्षेत्रमा वर्षा होस् या हिउँद बाह्रै महिना पहिरो झर्ने क्षेत्र पर्छ। सडकदेखि तल तिनाउ नदी तर्फ अप्ठेरो भीर सहितको छाँगो र माथितर्फ अग्लो चट्टान सहितको पहाड भएकोले वर्षामा मात्र होइन हिउँदमा समेत सुख्खा पहिरोको उत्तिकै जोखिम हुन्छ।
सोही जोखिमलाई मध्यनजर गरी सरकारले सुरक्षित आवागमनका लागि सुरुङ मार्ग निर्माणको योजना अघि बढाएको थियो। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरूङमार्ग निर्माणको काम गरिरहेको छ।
आयोजनाका प्रमुख कृष्णराज अधिकारीका अनुसार सुरूङमार्गको डिजाइनमै एक वर्ष समय खर्चिएको निर्माण कम्पनीले २०७९ फागुनदेखि मात्र सुरूङ खन्ने काम सुरु गरेको थियो। पहिलो वर्ष कछुवा गतिमा अगाडी बढेको सुरूङमार्ग निर्माणको काम पछिल्लो एक वर्षमै ४३ प्रतिशत थपिएको छ।
सरकारले सिद्धबाबा सुरुङ मार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडी बढाइरहेको छ। सोही अनुरूप ठेक्का सम्झौताको म्याद भित्रै सम्पन्न गर्ने गरी निर्माणको कामलाई तीव्रता दिइएको छ। आयोजनाका सूचना अधिकारी सविता ज्ञवालीले अहिले मुख्य सुरूङमार्गको इन्भर्ट (भुइँ ढलान) को काम पूरा गरी लाइनिङ ( सुरूङमार्गको भित्री भित्ता ढलान) को काम भइरहेको छ।
एक हजार १२६ मिटर लम्बाइको मुख्य सुरूङमार्गमा हालसम्म ९१८.८ मिटर लाइनिङको काम सकिएको छ।
त्यस्तै तीनवटा बाइपास सुरूङको इन्भर्ट र लाइनिङको काम पनि पूरा हुने क्रममा छ। १५१ मिटर लम्बाइको पहिलो बाइपास सुरूङमा १४५ मिटर इन्भर्ट र १२४ मिटर लाइनिङको काम पूरा भएको छ। त्यस्तै १३० मिटर लम्बाइको तेस्रो बाइपास सुरूङको १२५ मिटर इन्भर्ट र ४२.९ मिटर लाइनिङको काम पूरा भएको छ। त्यसै गरी १६१ मिटर लम्बाइको दोस्रो बाइपास सुरूङमा ४६.५ मिटर लम्बाइमा इन्भर्टको काम पूरा भएको छ।
सुरूङभित्रको काम भएकोले वर्षाको समयमा पनि निर्माणको काम रोक्नु नपरेको सूचना अधिकारी ज्ञवालीले जानकारी दिइन्।
‘वर्षाको पानी, पहिरो लगायतले पनि सुरूङभित्रको काममा कुनै अवरोध भएको छैन निरन्तर काम भइरहेको छ, इन्भर्ट र लाइनिङको काम पूरा भएपछि सुरूङभित्र भेन्टिलेसन र लाइट जडान गर्ने, अक्सिजन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडान लगायतका काम सुरु हुन्छ,’ ज्ञवालीले भनिन्।
सुरूङभित्रको काम पूरा भएर गाडीहरू सुरूङबाट सञ्चालन हुन थालेपछि रक सेड, पहुँच सडकको निर्माण, बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर, स्लोप प्रोटेक्सनको बाँकी रहेको काम अगाडि बढ्ने छ।
ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले यही आयोजना अन्तर्गत साढे ३ किलोमिटर सडकलाई सुरक्षित बनाउन विभिन्न प्रविधिहरू प्रयोग गरी संरचना बनाउनुपर्ने छ। उत्तरतर्फ हेड बक्स नजिकैको पोर्टलतर्फ १ हजार १ सय वर्ग मिटर र सिद्धबाबा मन्दिरतर्फको पोर्टलतर्फ २ हजार ३ सय वर्ग मिटर स्क्वायर क्षेत्रमा स्लोप निर्माण गर्नुपर्ने छ। त्यसमध्ये उत्तरमा ४९५ र दक्षिणमा १४९५ वर्ग मिटरमा निर्माण गरिएको छ।
सुरूङमार्ग निर्माण गरिएको चट्टान सहितको पहरोमा पनि १७ हजार ६० वर्ग मिटरमा स्लोप निर्माण गर्नुपर्ने छ। हालसम्म करिब दुई हजार वर्ग मिटरमा स्लोप निर्माण भएको छ। सडकभन्दा तल तिनाउ नदीतर्फको भागमा पनि एक हजार ८६० वर्ग मिटरमा स्लोप निर्माण गर्नुपर्ने छ।
सुरूङमार्गपछि दक्षिणतर्फको पोर्टलदेखि बुटवल चिडिया खोलासम्म ९१० मिटर र उत्तरतर्फको पोर्टलदेखि पाल्पाको दोभानतर्फ ५६० मिटर सडक दुई लेनमा निर्माण हुने छ। आयोजना अन्तर्गत नै उत्तरी र दक्षिणी प्रवेशद्वारमा दुइटा आकस्मिक हेलिप्याड र दुइटा प्राविधिक भवन निर्माण हुने छन्।
यो सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूको आवतजावत सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।