नारायणी नदीमा बन्ने भनिएको 'सिग्नेचर ब्रिज' को डिजाइन दुई वर्षमा पनि बन्न सकेको छैन।
चितवनको नारायणघाटबाट नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैंडाकोट जोड्ने पूर्व–पश्चिम राजमार्गको नयाँ पुल निर्माणका लागि २०८० जेठ २० गते सम्झौता भएको थियो।
यो पुलको लागत १ अर्ब ६८ करोड रूपैयाँ छ।
सम्झौता अनुसार निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक वर्षमा डिजाइन तयार पारेर बाँकी काम तीन वर्षमा सक्नुपर्ने थियो। सम्झौतापछि दुई बर्खा गए। तेस्रो बर्खा पनि सकिन लाग्यो तर पुलको डिजाइन तयार भएको छैन।
सडक विभागको पुल महाशाखाका प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर ललिजन खनाल निर्माण कम्पनीले काममा ढिलासुस्ती गर्दै आएको बताउँछन्।
'अहिले चिनियाँ कन्सल्टेन्टमार्फत डिजाइनको काम भइरहेको छ। डिजाइन अन्तिम चरणमा पुगेको जानकारी पाएका छौं। आशा गरौं छिट्टै डिजाइन हामीलाई प्राप्त हुनेछ,' खनालले सेतोपाटीसँग भने।
आगामी साउनभित्र डिजाइन पेस नगरे ठेक्का तोड्ने प्रक्रिया सुरू गर्ने चेतावनी निर्माण कम्पनीलाई दिइसकेको उनले बताए।
'नयाँ प्रविधिको पुल भएकाले चित्त बुझ्दो डिजाइन बनाउन समय लागेको पनि हो। अर्को कुरा, काममा निर्माण व्यवसायी जुन किसिमले अघि बढ्नुपर्थ्यो त्यस्तो देखिएन। निर्माणको काम द्रुत गतिमा गरौंला भनेर डिजाइनमा आवश्यक शक्ति खर्चिएन,' खनालले भने, 'अब ऊसँग विकल्प छैन। यो बर्खा सकिनेबितिक्कै काम सुरू नगरी सुख छैन।'
डिजाइन स्वीकृत भएपछि कार्यतालिका नै बनाएर कडाइ गर्ने उनले बताए।
पुल निर्माणस्थलमा निर्माण कम्पनीका सामान तथा मेसिनहरू
आगामी आर्थिक वर्षभित्र जगको मुख्य काम सक्नेगरी कार्यतालिका बनाएर दिइनेछ। र, म्याद थप्नुपरे कार्यतालिकाको सर्त अनुसार जरिवाना लगाउने योजना छ।
निर्माण व्यवसायीले भने पुलको डिजाइन परिवर्तन गर्नुपरेकाले ढिलो भएको दाबी गरेको छ।
भारतीय कन्सल्टेन्टले तयार पारेको डिजाइन चित्त नबुझेपछि नयाँ डिजाइन तयार पार्न समय खर्च भइरहेको कम्पनीका साइट इन्जिनियर मञ्जिल मिश्रले जानकारी दिए।
'भारतीय कन्सल्टेन्टको डिजाइनमा प्रुफ चेकिङ गर्दा धेरै नै परिवर्तन गर्नुपर्ने देखियो। त्यसलाई अरू थप समय दिनुभन्दा प्रुफ चेक गर्नेलाई नै डिजाइनको जिम्मा दिइएको छ। चीनका प्रोफेसर डाक्टर चेन डुवेईले अहिले डिजाइन तयार पारिरहनुभएको छ,' मिश्रले भने।
उनका अनुसार पहिलो चरण (जग) को डिजाइन पेस गरिसकिएको छ। बाँकी दुई चरणको डिजाइन अबको ४० दिनभित्र तयार पारेर पेस गरिनेछ।
पुल निर्माणको क्षेत्र चुरे सुरू हुने ठाउँ भएकाले भूकम्पको जोखिम हुनसक्ने देखिएपछि डिजाइनमा परिवर्तन गर्नुपरेको हो। त्यसैगरी गत वर्ष नारायणीमा आएको ठूलो बाढी कन्सल्टेन्टले आधार मानेको बाढीको अधिकतम तहभन्दा माथिको रहेकाले पनि डिजाइन परिवर्तन गर्नुपरेको मिश्रले बताए।
'ढिलाइको अर्को कारण ठूला नदीमा पुल बनाउँदा तलबाट पानीजहाज छिर्नसक्ने हुनुपर्ने सरकारको नीतिमा अलमल धेरै हुनु पनि हो। सरकारले पानी जहाज छिर्नुपर्छ त भन्यो, तर विस्तृत मापदण्ड बनेको थिएन। पानीजहाज कार्यालयसँग छलफल गर्दागर्दै ढिलो भयो। पछि हामीले भारत र बंगलादेशमा भइरहेको अभ्यासलाई आधार मान्यौं,' उनले भने।
बर्खालगत्तै पुल निर्माणको काम सुरू गर्न तयारी अवस्थामा रहेको उनले दाबी गरे।

'सामान्यतया अरू पुलमा सबै डिजाइन बुझाइसकेपछि मात्रै काम सुरू हुन्थ्यो। नारायणीमा बन्न लागेको खास किसिमको पुल हो। यसमा पुलको सबै भार हिसाब गरेर जग बनाइन्छ। माथिको भार अनुसार तलको डिजाइन गरिन्छ। त्यसैले जगको डिजाइन स्वीकृत भए काम सुरू गरिहाल्न सकिन्थ्यो,' उनले भने, 'हाम्रो तयारी बर्खाअघि नै काम सुरू गर्ने थियो। मेसिनहरू निर्माणस्थलमा पुर्याइसकेका पनि थियौं। तर डिजाइन स्वीकृत नहुँदै बर्खा सुरू भयो।'
डिजाइनले करिब १४ महिना बढी समय खाएकाले पुल निर्माण सक्न सम्झौता गरिएभन्दा एक वर्षजति बढी समय लाग्न सक्ने मिश्रले बताए।
सिग्नेचर पुल हाल पुल रहेको स्थानको आडैमा बनाइँदैछ। यहाँ २०८१ वैशाख ३१ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले तामझामका साथ पुल शिलान्यास गरेका थिए। हालको पुल २०३८ सालमा शिलान्यास भएर चार वर्षपछि सञ्चालनमा आएको थियो।
नयाँ पुल बने पनि हालको पुल कायमै रहने सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर कृष्ण आचार्यले बताए।
चार सय २० मिटर लामो नयाँ पुल दुई लेनको हुनेछ। यसको चौडाइ फुटपाथ बाहेक साढे सात मिटर हुनेछ। फुटपाथ साढे तीन मिटरको हुनेछ।
नदीमा २१० मिटरको दुरीमा दुइटा मुख्य पिल्लर खडा गरेर आकर्षक सिग्नेचर पुल बनाउने तयारी छ। दुई मुख्य पिल्लर र केबल (तार) सपोर्ट रहनेगरी नेपालमै पहिलो सिग्नेचर पुल नारायणी नदीमा बनाउन लागिएको हो। चिसापानीस्थित कर्णालीमा बनेको सिग्नेचर पुल एक पिल्लर र केबल सपोर्ट लिएर बनेको छ।
पुल निर्माणस्थलमा चिनियाँ कन्सल्ट्यान्टहरू