मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरले बिजुलीको पोल सार्न ढिलाई हुँदा सडक कालोपत्रको काम प्रभावित भएको बताएका छन्।
तनहुँको जामुनेदेखि पोखरासम्मको ३८.८ किलोमिटर सडकको तालचोकदेखि विजयपुर खोला लगतका स्थानमा बिजुलीका पोल सार्न ढिलाइ भएको उनले बताए।
सडकको सर्भिस लेनका पोल सार्न पनि पटक पटक नेपाल विद्युत प्राधिकरणलाई ताकेता गरेको उनले बताए।
‘मुग्लिन पोखरा सडकको पश्चिम खण्डमा लेखनाथ र कुडहरदेखि एयरपोर्टसम्म बिजुलीका पोल सार्न ढिलाइ भएको छ। सर्भिस लेनको पोल पनि हटाइएको छैन,’ उनले सेतोपाटीलाई भने, ‘पोला सार्न ढिलाइ हुँदा सडक कालोपत्रे गर्ने काम पनि ढिलो भएको छ।’
सडक विस्तार आयोजनाले अन्य ठाउँमा ४ लेन र सहरी क्षेत्रमा ६ लेन सडक कालोपत्र गरिरहेको छ। पोखराको सहरी क्षेत्रका सर्भिस लेनका पोल सार्न पनि प्राधिकरणले ढिलासुस्ती गरेको उनले बताए।
‘हामीले पटक पटक विद्युत प्राधिकरणलाई पोल सारिदिन ताकेता गरेका छौं। निजी जलविद्युत आयोजनाका पोल पनि सडकबाट हटाइएका छैनन्,’ उनले भने।
उनका अनुसार पोखराको तालचोकमा १२ वटा र सर्भिस लेनसहित गरेर २८० वटा पोल सार्न बाँकी छन्। प्राधिकरणले पोल सार्न ढिलाइ गरेका कारण सडकको मुख्य लेन र सर्भिस लेन कालोपत्र गर्न ढिलाइ भएको उनले बताए।
तालचोकमा रहेका घरहरूका क्षतिपूर्तिको निर्णय समेत भइसकेको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले घरको मुआब्जा निर्धारण गरेर निर्णय गरेको बताइन्।
उनले सडकमा पर्ने घर भत्काउन र बिजुलीका पोल भत्काउन निर्देशन दिइसकेकी छन्।
‘मुग्लिन पोखरा सडकको काम कुनै पनि बहानामा रोक्न मिल्दैन भनेर निर्देशन दिएकी छु,’ उनले भनिन्, ‘अब केही दिनमै बाँकी घर भत्काइने छ। बिजुलीका पोल सारिनेछ।’
मुग्लिन पोखरा सडक आयोजनाको पश्चिम खण्डमा जामुनेदेखि पोखरासम्म्म ३८.८ किलोमिटर सडक पर्छ।
यो खण्डमा हालसम्म २६ किलोमिटर सडक दुईतर्फी कालोपत्र सकिएको छ भने ३६.८ किलोमिटर एकतर्फी कालोपत्र सकिएको छ।
पश्चिम खण्डमा सेती नदी पुलबाहेक १२ वटा पुलमध्ये १० वटा निर्माण सकिएको छ भने एउटा यही असार महिनाभित्र सकिने आयोजना प्रमुख कुँवरले बताए।
अर्को एउटा पुल सकिन भने अझै करिब ७ महिना लाग्ने उनले बताए।
पश्चिम खण्डमा एकतर्फी कालोपत्र सकिन अझै १७५० मिटर बाँकी छ। जेठ मसान्तसम्म एकतर्फी कालोपत्र सक्ने लक्ष्य लिए पनि बिजुलीका पोल हटाउन ढिलासुस्ती हुँदा समस्या आएको कुँवरले बताए।
यता, नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका इञ्जिनियर निरज पौडेलले सडकलाई बाधा पर्ने ठाउँका बिजुलीका पोल प्राथमिकताका साथ हटाएको बताए।
उनका अनुसार तालचोकमा एउटा घरको मुआब्जा निर्धारण गरेर भत्काउन ढिलाइ हुँदा पोल हटाउन ढिलाइ भएको छ भने विजयपुरमा स्थानीयले अवरोध गर्दा पोल हटाउन सकिएको छैन।
‘तालचोकमा घरसँगै जोडिएका ३ वटा पोल र एउटा ट्रान्सफर्मर छ। घर भत्काएपछि मात्र पोल सार्न सकिन्छ,’ उनले भने, ‘विजयपुरमा ७ वटा पोल सार्न स्थानीयले अवरोध गरेका छन्। बाँकी ठाउँमा समस्या छैन।’
मुख्य सडकमा रहेका केही पोलहरू भने उखेल्न मात्र बाँकी रहेको उनले बताए।
मुख्य सडकका अधिकांश ठाउँका पोल सारेर तार टाँगिसके पनि उखेल्न बाँकी रहँदा पोल हटाउन बाँकी देखिएको उनको भनाइ छ।
‘सडक आयोजना कालोपत्र गर्न समस्या नहोस् भनेर हामीले समन्वय गरेर काम गरिरहेका छौं,’ उनले भने, ‘जहाँ जहँ पहिला काम हुन्छ, त्यहीँको पोल पहिले हटाउँदा सर्भिस लेनका पोल बाँकी रहेका हुन्।’
सर्भिस लेनको पोल पनि आागमी पुससम्म सबै हटाइसक्ने लक्ष्य राखेको इञ्जिनियर पौडेलले बताए।
विद्युत प्राधिकरणको लेखनाथ वितरण केन्द्रले सडक विस्तार आयोजना अन्तर्गत ११०० पोल हटाउनुपर्नेमा अब करिब १५० पोल हटाउन मात्र बाँकी रहेको उनले बताए।
मुग्लिन पोखरा सडकको पूर्वी खण्ड जामुनेदेखि मुग्लिनसम्मको सडक आयोजनाको काम भने सकिएको छ।
उक्त आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डे अनुसार पूर्वी खण्डमा मादी नदीमाथि पुल बनाउने काम बाहेक सडक निर्माण गरेर अस्फाल्ट बिच्छ्याउने काम पनि सकिएका छन्। अब सडक सुरक्षा र पहिरो नियन्त्रणका काम मात्र बाँकी रहेको उनले बताए।
‘पूर्वी खण्डमा अस्फाल्ट कालोपत्र सकिएको छ। अहिले सडक सुरक्षा र पहिरो नियन्त्रणका कार्यक्रम भइराखेको छ,’ उनले भने, ‘अब दमौलीमा मादी नदीमाथि पुल बनाउने काम मात्र सकिन बाँकी छ।’
पृथ्वी राजमार्गको निर्माण २०२१ सालमा निर्माण थालेर २०३० सालमा सम्पन्न गरिएको थियो। त्यतिबेला चिनिया सहयोगमा निर्माण भएको सडक दुई लेनमा सीमित थियो। अहिले एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडकलाई चार लेनमा विस्तार गरिएको हो।
पहिलेभन्दा दोब्बर फराकिलो पारिएको सडकको बीचमा डिभाइडर राख्ने र डिभाइडरमा फूल रोप्ने र हरियाली प्रवर्द्धन पनि ठेक्का सम्झौतामा उल्लेख छ।
पोखरामा सेती नदीमाथि र तनहुँको दमौलीमा मादी नदीमाथि पुल निर्माण गर्न छुट्टा–छुट्टै ठेक्का लगाइएको छ। बाँकी पुल भने सडक आयोजना निर्माण गरिएका ठेकेदार कम्पनीले नै बनाएका हुन्।
सडकको पूर्वी खण्ड जामुनेदेखि मुग्लिनसम्मको ४१ किलोमिटर सडक विस्तार गर्न चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ६ अर्ब २१ करोड रुपैयाँमा (मादी पुल बाहेक) ठेक्का पाएको थियो।
सडकको पूर्वी खण्डमा पर्ने मादी पुल बनाउनका लागि १ अर्ब २० करोडमा छुट्टै ठेक्का लगाइएको थियो।
पूर्वी खण्डको ठेक्का पाएको चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले २०७७ माघ १७ गते सम्झौता गरेर २०७८ बैशाख २ गतेदेखि काम थालेका थिए। उक्त खण्डको ठेक्का सम्झौता २०८१ वैशाखमा सकिएको थियो। त्यसपछि सरकारले उक्त सडक निर्माण गर्न ठेकेदार कम्पनीलाई तीन पटक म्याद थपेर यही असार मसान्तसम्म समय दिएको थियो।
पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड जामुने–पोखरा सडकको ३८ किमी सडक विस्तार गर्न पनि चिनियाँ कम्पनी एनहुई केयुयन हाइवे एण्ड ब्रिजले ७ अर्ब ४० करोड रुपैया (सेती पुलबाहेक) मा ठेक्का सम्झौता गरेको थियो। सेती नदीमा हाल भएको पुलभन्दा माथि र तल २/२ लेनको दुइटा पुल बनाउन १ अर्ब ७ करोड रुपैयाँमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको छ।
सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा ४ वटा ठुला र १२ वटा साना पुल पर्छन्।
सडक आयोजनाको पश्चिम खण्ड अर्थात पोखरादेखि जामुनेसम्मको सडक विस्तार गर्न २०७८ जेठ ३ गते संझौता भएको थियो।
सम्झौतामा २०८१ भदौ १२ गते सडक विस्तारको काम सक्नुपर्ने उल्लेख थियो। तोकिएको समयमा काम नसकिएपछि सरकारले एक पटक १०१ दिन र दोस्रो पटक ३९० दिन म्याद थप गरेको थियो।
थपिएको म्याद अनुसार पश्चिम खण्ड अर्थात पोखरादेखि जामुनेसम्म आउँदा पुस दोस्रो साता अर्थात् ३१ डिसेम्बर २०२५ मा काम सकिनुपर्ने आयोजना प्रमुख कुँवरले बताए।
‘थपिएको म्यादभित्रै सडक र पुल निर्माणको काम सक्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ,’ अयोजना प्रमुख कुँवरले भने।