अहिले पृथ्वी राजमार्गको कृष्णभिरमा दबिएको सडक उकास्ने काम चलिरहेको छ। गत असोजको वर्षाले करिब एक सय मिटर सडकको छेउको दुई मिटर भाग दबिएको थियो।
नागढुंगा–मुग्लिन सडक योजनाले सडक वर्खाअघि नै उकास्ने गरी काम अघि बढाएको छ। मुग्लिनस्थित नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का प्रमुख इञ्जिनियर केदारप्रसाद नेपालले विज्ञहरूको अध्ययनका आधारमा सडक उकास्ने काम सुरू गरिएको जानकारी दिए।
'सडक छेउको दुई मिटर भाग ५० सेन्टिमिटर दबिएको थियो। नदीले सडकलाई असर गर्न नदिने गरी किनारमा लगाइएको टो–प्रोटेक्सन वालमा पनि क्षति पुगेको थियो। सडक विभागले जियोटेक इञ्जिनियरहरूको टोली लगाएर अध्ययन गरायो। अध्ययनको निष्कर्षका आधारमा तत्कालका लागि माथिल्लो भागको मात्रै काम गर्ने निर्णय भएको छ,' इञ्जिनियर नेपालले भने, '१५ दिनदेखि हामी काम गरिरहेका छौं।'
अस्ट्रेलियाको स्मेक एन्ड पेक जेभीले दबिएको सडकको विषयमा अध्ययन गरेको थियो। त्यही अध्ययनका आधारमा यहाँ अहिले हरिजेन्टल रक एंकरेज र माइक्रो पायलिङ प्रविधिबाट काम भइरहेको नेपालले बताए। उनका अनुसार यो फलामको बिम राखेर चट्टानमा छेडेर सडक दब्न नदिन अपनाइने प्रविधि हो।
उनका अनुसार असोजको वर्षाले पहिले नदी किनारमा बनाइएको टेवा पर्खालमा पनि क्षति पुर्याएको छ। तर अध्ययनले नदीले कटान गरेको कारण भन्दा पनि धेरै पानी परेका कारण माथिबाट पानी छिरेर दबिएको हो भन्ने निष्कर्ष निकाल्यो। नदीले टेवा पर्खाल काटेका कारण दबिएको भए बाटो सबै जान्थ्यो भन्ने अध्ययनबाट देखियो।
'त्यही राय अनुसार तत्कालका लागि दबिएको ठाउँमै काम गर्ने गरी डिजाइन बन्यो,' उनले भने, 'अहिले धमाधम काम भइरहेको छ। हामी जेठ मसान्तसम्ममा हरिजेन्टल रक एंकरेज र माइक्रो पायलिङको काम सक्छौं।'
पाँच करोड ८५ लाख रूपैयाँ बजेटमा उक्त काम भइरहेको छ। त्रिशूली नदी किनारको टो–प्रोटेक्सन वालको काम दोस्रो चरणमा गर्ने तयारी छ।
'हामीसँग समय अभाव थियो। एउटै आर्थिक वर्षमा अध्ययन, डिजाइन गरेर निर्माण गर्नुपर्ने भएकाले चुनौती थियो। टेवा पर्खाल बनाउन समय र लागत बढी लाग्ने भएकाले दुई चरणमा काम गर्ने निर्णय भएको हो,' इञ्जिनियर नेपालले भने, 'डिजाइन प्राप्त भएपछि दोस्रो चरणको काम सुरू गर्छौं।'
पहिलो चरणको काम मुग्लिनदेखि मलेखुसम्मको सडक निर्माणको काम गरिरहेको एम/एस शर्मा–जेडआइसिजी जेभीले नै गरिरहेको छ।
'पहिलो चरणको कामबाट तत्कालका लागि नियमित रूपमा यातायात सञ्चालन गर्छौं। वर्खाअघि नदी किनारको पर्खालको काम सुरू गर्न सकिँदैन होला। वर्खामा बाढी कत्रो आउँछ, त्यसको असर के पर्छ, त्यो आधारमा दोस्रो चरणको काम हुन्छ,' उनले भने।

२०८१ असोज १०, ११ र १२ गते अप्रत्याशित रूपमा भएको भीषण वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बनाएको थियो। अविरल वर्षा र त्यसपछि आएको बाढी र पहिरोमा परेर देशभरमा २४४ जनाले ज्यान गुमाएका थिए। हजारौंलाई विस्थापित बनाएको थियो।
बाढी, पहिरोले जलविद्युत आयोजना, सडक, पुलहरूमा पनि ठूलो क्षति पुर्यायो। त्यो अप्रत्याशित वर्षाले यात्रुहरूलाई कृष्णभिरको जाम पुनः स्मरण गराएको थियो।
२०५७ साउन २७ गते खसेको पहिरोका कारण यहाँ ११ दिनसम्म गाडी चल्न सकेका थिएनन्। त्यसपछिका केही वर्ष कृष्णभिरले मान्छेलाई तर्साइरह्यो। पृथ्वी राजमार्गको यात्रामा कृष्णभिर आइपुग्न लाग्दा यात्रुहरूको सातो जान्थ्यो। पछि जियोटेक र बायो इञ्जिनियरिङ प्रविधिबाट कृष्णभिरको पहिरो रोकथाम गरियो। २०६४ सालपछि कृष्णभिरले दुःख दिन छाड्यो। मान्छेहरूले यो ठाउँको नाम भुल्दै गएका थिए।
गत असोजको वर्खाले भने फेरि २४ वर्ष पहिले गएको पहिरो र त्यसपछिका सात वर्षसम्म यात्रुले भोगेको 'कृष्णभिरको जाम' पुनः स्मरण गराइदिएको हो। कृष्णभिरको सडक भासिँदा यातायात बन्द त भएन तर लामो समयसम्म यातायात एकतर्फी मात्रै सञ्चालन हुँदा यात्रुले सास्ती बेहोरेका थिए।


