नेपाल विद्युत प्राधिरकणले अजै केही समय औद्योगिक ग्राहकहरूकोमा विद्युत कटौती गर्नुपर्ने अवस्था रहेको उल्लेख गरेको छ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले उद्योग वाणिज्य महासंघ तथा उद्योग परिसंघका प्रतिनिधिहरूसँग छलफल गर्दै यस्तो जानकारी गराएका हुन्।
भारतमा बढेको विद्युत मागको कारण नेपालले एक्सचेन्ज मार्केट मार्फत अधिकतम मूल्यमा विद्युत खरिद गर्न खोज्दा समेत नपाइएका कारण उद्योगीहरूको माग अनुसार पर्याप्त विद्युत उपलब्ध गराउन नसकेको उल्लेख गरेको छ।
नेपालका नदीनालामा बहाव बढ्न लागेको र भारतबाट विद्युत आपूर्ति सहज हुनासाथ समस्या हट्ने प्राधिकरणले जनाएको छ।
छलफलमार्फत् पनि प्राधिकरणले ढिलोमा १५ देखि २० दिनमा समस्या समाधान हुने जनाएको छ।
उपकार्यकारी निर्देशक श्रेष्ठले उद्योगीहरूलाई प्राथमिकतामा राखेर गुणस्तरीय, भरपर्दो र निरन्तर विद्युत उपलब्ध गराउन प्राधिकरण प्रतिबद्ध रहेको बताए।
सामाजिक सञ्जालमा फैलिएको हल्लामा कुनै सत्यता नरहेको उनले बताए।
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले प्राधिकरणले महासंघ तथा सरोकारवालालाई बोलाएर वर्तमान र भविष्यको योजनाबारे जानकारी दिएकोमा खुसी व्यक्त गरे।
उनले प्राधिकरणले हाइड्रोमा मात्र नभइ सोलार लगायत अन्य वैकल्पिक ऊर्जाको क्षेत्रमा पनि कार्य गर्नुपर्ने बताए।