उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले सहरी क्षेत्रमा सडक स्तरउन्नति गर्दा 'युलिलिटी करिडाेर' (सडकमा रहने निश्चित ठाउँ, जसका माध्यमबाट जनताका घरदैलोमा खानेपानीका पाइप वा तारलगायत लैजान सहज हुने) काे अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन्।
शुक्रबार पूर्वपश्चिम राजमार्गकाे ६ लेनमा विस्तारित चितवनस्थित गाेन्द्राङ- पुल्चाेक सडकखण्ड उद्घाटन कार्यक्रममा बोल्दै सिंहले 'युटिलिटी करिडाेर' अवधारणाले विकास निर्माणकाे कामलाई राम्राे गर्ने बताए।
सडक बनेलगत्तै ढल, खाेनपानीकाे पाइप, फाइबर विछ्याउनका लागि भत्काइहाल्ने प्रवृत्ति राेक्नका लागि पनि 'युटिलिटी करिडाेर'काे अवधारणामा जानुपर्ने उनले बताए।
‘खासकुरा सहरको बीचमा बाटाे बनाउँदा युटिलिटी करिडाेरकाे अवधारणालाई अब हामी हामीले अगाडि बढाउनुपर्छ। सडक बन्छ लगत्तै ढल, पाइपलाइन,फाइबर बिछ्याउन भत्काइन्छ जसले गर्दा जनतामा बाटाे बने पनि भत्किहाल्छ भन्ने परेकाे छ। यसलाई राेक्न युटिलिटी करिडाेरमा अब ध्यान दिनैपर्छ,´ उनले भने।
उपप्रधानमन्त्री सिंहले अहिले सरकारले पूर्वाधार निर्माणमा जोड दिइरहेकाे बताए। व्यवस्था बदलियाे अवस्था बदलिएन भन्ने भाष्य बनाउन खाेजिएकाे भन्दै उनले व्यवस्थासँगै जनताकाे अवस्थामा पनि परिवर्तन आएकाे दाबी गरे।