बाढीका करण क्षति पुगेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट आगामी पुस १० भित्र विद्युत उत्पादन गर्ने गरी मर्मत सम्भार तालिका तय भएको छ।
सञ्चालनमा रहेका जलविद्युत आयोजनामध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले क्षति पुगेको थियो।
बाढीले आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्स)मा ठूलो क्षति पुर्याएको छ। बाँधस्थल भन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रूम) भवन, बालुवा थिग्ग्राउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा ठूलो क्षति पुगेको छ।
दुइटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी पुस १० गतेभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरू गर्ने तालिका तय गरिएको आयोजनाले जनाएको छ। यसका लागि आंशिक क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिने उल्लेख छ। कल्भर्टको भित्ता र सिलिङमा देखिएका चिराहरूको ग्राउटिङ गर्ने काम अगाडि बढाइनेछ।
दायाँतर्फको अर्को डिस्याण्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रूमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइने आयोजनाको भनाइ छ। यो काम आगामी वर्षायाम सुरू हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य लिइएको छ। वर्षाले क्षति पुगेको आयोजनाको विद्युत प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ।
आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्षसमेत रहेका नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितको टोलीले बुधबार आयोजनाको स्थलगत अनुगमन गरी हाल भइरहेको मर्मतसम्भारको जानकारी लिएको छ।
टोलीबाट आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी पुस १० भित्र विद्युत उत्पादन सुरू गर्ने र त्यसको १५ दिनभित्रमा विद्युत् बढी माग हुने पिक समयमा चलाउने गरी मर्मत सम्भार सम्पन्न सक्ने समय तालिका तय गरिएको छ। विद्युत कम माग हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका ४ घण्टा पूर्णक्षमतामा चलाउन सकिने उल्लेख गरिएको छ।
हिउँदयाममा विद्युतगृह चलाउन नसकेमा आन्तरिक रूपमा विद्युत माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण देखिएकाले जतिसक्दो छिट्टो विद्युतगृहलाई सञ्चालनमा ल्याउन पहल गरिने प्राधिकरणको भनाइ छ।
कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशीबाट तोकिएको समयमा विद्युत् उत्पादन गर्न नसकिएमा देशभित्रको मागबमोजिम विद्युत् आपूर्ति गर्न नसकी अप्ठ्यारो अवस्था आउने भएकाले मर्मतसम्भारमा सबै गम्भीर र संवेदनशील भएर लाग्न आग्रह गरे। 'आगामी मार्चसम्म दिउँसो र राति मात्र भारतबाट विद्युत् आयात अनुमति पाएकाले आन्तरिक उत्पादनले हिउँदयामको साँझ र बिहान (पिक समय)को विद्युत् माग धान्न गाह्रो छ, मार्च र अप्रिलमा रातिमासमेत आयात गर्न अनुमति पाएका छैनौं, यस्तो अवस्थामा पिकिङ गर्न सकिने माथिल्लो तामाकोशी आएन भने अप्ठ्यारो अवस्था आउने छ,’ घिसिङले भने.
असोज ११ गते साँझ ७ बजेबाट यो आयोजनाको विद्युत उत्पादन उत्पादन बन्द गरिएको छ।