बंगलादेशमा भोलि (शुक्रबार) देखि बिजुली निर्यात सुरू हुने भएको छ। यो वर्ष भोलि एकदिन मात्रै ४० मेगावाट बिजुली निर्यात गरेर सुरू गरिने र आगामी वर्षको जुनबाट नियमित निर्यात गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्।
भारतको प्रसारण प्रणाली प्रयोग गरी भोलि दिउँसोदेखि बिजुली निर्यात गरिने भएको हो।
यसअघि गत असोज १७ गते बंगलादेशमा ४० मेगावाट बिजुली बिक्रीका लागि नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत व्यापार निगमबीच काठमाडौंमा त्रिपक्षीय सम्झौता भएको थियो।
प्राधिकरणले वर्षायामको ६ महिना अर्थात् हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ।
बंगलादेशलाई बिजुली बिक्री गरेर नेपालले वार्षिक ९.२ मिलियन अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा लिइएको छ।
प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत् निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्नेछ।
यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन्।
बंगलादेश विद्युत बिक्री गरी प्राधिकरणले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने छ। नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा पाउने छ।
अर्थात् बंगलादेश निर्यात हुने विद्युतको मिटर मुजफ्फरपुरमा रहने छ। ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ।
मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत् बहरामपुर (भारत–भेरमारा–बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत पुग्नेछ।
मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएनले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै बेहोर्ने प्राधिकरणले जनाएको छ।
बंगलादेशको सीमासम्म पुग्दा विद्युतको प्रतियुनिट दर करिब ७.६ सेन्ट पुग्ने उल्लेख छ।
प्राधिकरणले मुजफ्फरपुर विन्दुमा ६.४० सेन्ट पाउनेछ। डलरमा भुक्तानी पाउने हुँदा मुद्रा सटहीको समेत जोखिम नहुने उल्लेख गरिएको छ। नेपालमा वर्षायाममा खेर जाने बिजुली उचित मूल्यमा बिक्री गर्न सकिनेछ।