ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बाढीपहिरोले क्षति पुर्याएको दोलखाको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन्।
मन्त्री खड्काले असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले क्षति पुगेको दोलखास्थित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम साइड, पावर हाउस, सडक लगायतका भागमा भएको क्षतिको स्थलगत निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा मन्त्री खड्काले अपर तामाकोशी जलविद्युत आयोजनामा क्षति पुग्दा राज्यले जलविद्युत क्षेत्रमा दैनिक ठूलो घाटा व्यहोर्नुपरेको भन्दै यथाशक्य चाँडो यसलाई मर्मतसम्भार गरी सञ्चालनमा ल्याउनुपर्ने बताए।
उक्त जलविद्युत आयोजना बन्द हुँदा राज्यले असोज महिनामा मात्र ८५ करोड ६ लाख ४७ हजार ९३० घाटा व्यहोर्नुपरेको बताइएको छ।
मन्त्री खड्काले बाढी पहिरोले आयोजनामा निम्त्याएको आर्थिक नोक्सानीको प्रत्यक्ष असर राज्य र जनतामा परेको भन्दै पहिरोको कारण उत्पन्न अवरोध चाँडो हटाई आयोजना सञ्चालनमा ल्याउन कर्मचारीलाई निर्देशन समेत दिए।
'आयोजना बन्द हुँदा भोलिका दिन देखिनसक्ने ऊर्जा सङ्कटलाई ध्यान दिएर आयोजना निर्माणको काम द्रुत गतिमा गर्नुहोस्, मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ,' मन्त्री खड्काले भने।
मन्त्री खड्काले उक्त आयोजनाको (हेडवर्क्स) बाँधस्थल, कन्ट्रोल विल्डिङ, आयोजनासम्म जाने बाटोको अवस्था अवलोकन गरे।
असोज ११ र १२ गतेको पहिरोमा परेर उक्त आयोजनामा मात्र चार जनाले ज्यान गुमाएका थिए।
आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहनप्रसाद गौतमले तीन हप्ताभित्र नै थोरै भए पनि विद्युत उत्पादन थाल्नेगरी काम गरिरेहको बताए।
उनले हेडवर्क्स क्षेत्रमा थुप्रिएर बसेको ढुंगा, माटो र ग्रेगान हटाउने काम आयोजनाले गरिरहेको बताए।
यस्तै, दोलखादेखि लामाबगर सडकखण्डस्थित काभ्रेभिर आसपासमा ठूला ढुंगा खसेकाले बाटो अवरूद्ध हुँदा आयोजना क्षेत्रमा जान/आउन समस्या परेको सिइओ गौतमको भनाइ थियो।