सञ्चालनमा रहेका जलविद्युत गृहमध्ये सबभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत उत्पादन सुरू गर्न पहल थालिएको आयोजनाले जनाएको छ।
गत शुक्रबार र शनिबारको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा ठूलो क्षति गरेको थियो।
बाँध स्थलभन्दा केही तल रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रूम) भवन, बालुवा थिग्र्याउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट) मा पनि क्षति पुगेको छ। कन्ट्रोल रूम भवन र त्यहाँ रहेका उपकरण क्षतिग्रस्त भएका छन्। डिस्यान्डरमा रहेका दुइटा पोखरीमा लेदो, गेग्रान र ठुल्ठूला ढुंगा थुप्रिएका छन्। दुईवटा पोखरी प्रत्येकमा ७५/७५ हजार घनमिटर लेदो, ढुंगा लगायत थुप्रिएको अनुमान छ।
कन्ट्रोल रूम भवन, डिस्यान्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा क्षति पुगेको हो। कन्ट्रोल रूपमा कार्यरत कम्पनीका दुई कर्मचारी र सुरक्षाका लागि खटिएका दुई सैनिक गरी चार जनाको मृत्यु भएको थियो। खहरे खोलामा अझै माथिबाट लेदो आइरहेको र ढुंगासमेत खसिरहेको छ।
अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको थियो। बाँधका सम्पूर्ण ढोका खुला गरिएका थिए। यसले आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो।
बाँधबाट डिस्यान्डरबीच रहेको कल्भर्टमा पुगेको क्षति अझै यकिन गर्न सकिएको छैन। विद्युत् उत्पादन बन्द हुँदा माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको प्रवर्द्धक कम्पनीले दैनिक चार करोड रूपैयाँ आम्दानी गुमेको जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको टोलीले मंगलबार आयोजना स्थल पुगेर पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिएको थियो।
टोलीले संरचनाहरू मर्मतसम्भार गरी विद्युत गृह सञ्चालन गर्ने विभिन्न विकल्पबारे विज्ञ समूह र कम्पनी व्यवस्थापनसँग छलफल गरेको थियो। टोलीमा जलविद्युत् केन्द्रको सम्पत्ति बीमा गरिएको राष्ट्रिय बीमा संस्थानका सर्वेयर पनि सहभागी थिए।
राज्यमन्त्री तामाङले माथिल्लो तामाकोशी बन्द हुँदा समग्र राष्ट्रलाई नै ठूलो क्षति भइरहेकाले हरेक उपाय अवलम्बन गरी विद्युत् उत्पादन जतिसक्दो छिटो सुरू गर्नुपर्ने बताए। यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालय तयार रहेको राज्यमन्त्री तामाङले उल्लेख गरे।
आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्षसमेत रहेका कार्यकारी निर्देशक घिसिङले पहिरोले नियन्त्रण कक्ष, डिस्यान्डर, कल्भर्ट लगायत संरचनामा ठूलो क्षति पुर्याएको बताए।
अझै पनि खहरे खोलामा बाढी आइरहेको र ती संरचनाहरू रहेको स्थानभन्दा माथि ठुल्ठूला ढुंगाहरू देखिएको उल्लेख गर्दै घिसिङले उक्त क्षेत्र अझै जोखिमयुक्त रहेकाले लाइडार सर्वेमार्फत समग्र रूपमा भौगर्भिक अध्ययन गरी जोखिम पहिचान गर्न लागिएको बताए।
'डिस्यान्डरमा थुप्रिएको ढुंगा, लेदो हटाएपछि मात्र उक्त संरचनामा पुगेको क्षति यकिन गर्न सकिने देखिएको छ, त्यसैले सबैभन्दा पहिले ढुङ्गा, लेदो लगायतलाई हटाउन लागेका छौ,’उनले भने।
सञ्चालनमा रहेको सबैभन्दा ठूलो विद्युतगृह बन्द हुँदा आन्तरिक विद्युत् आपूर्तिका लागि समस्या परेको र यसबाट वर्षायामको विद्युत् निर्यात पनि नराम्ररी प्रभावित भइरहेको छ उनले बताए।
'विद्युतगृह चलाउन सकेनौं भने हिउँदमा आन्तरिक विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण हुने देखिएको छ,' उनले भने, 'त्यसैले जतिसक्दो छिटो विद्युतगृह सञ्चालन गर्न हरसम्भव उपाय लगाएका छौं।'
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहनप्रसाद गौतमले विज्ञ समूहबाट विद्युतगृह सञ्चालन गर्न विभिन्न सुझाव प्राप्त भएको र उक्त सुझाव समेटेर मर्मतसम्भारको कार्ययोजनाका साथ काम सुरू गरिसकिएको बताए।
'बाँधमा रहेका गेटलाई चलाउन र डिसेन्डरलाई सफा गर्न गोङ्गरबाट लगिएको ११ केभी विद्युत लाइन मर्मतसम्भार गरी चालू गर्ने र पावर ट्रान्सफर्मर तथा केबल प्राधिकरणबाट जडानको प्रक्रिया सुरू भइसकेको छ,' सिइओ गौतमले भने।
उनले विद्युतगृह रहेको गोङ्गरबाट बाँधस्थलतर्फ जाने प्रवेश सडकअन्तर्गत काभ्रे भीरनजिक करिब सय मिटर सडक भासिएकाले आगतजावत असहज भएको बताए।