सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरू गर्न पहल थालिएको छ।
गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा ठूलो क्षति पुर्याएको थियो।
बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा ठूलो क्षति पुगेको छ।
कन्ट्रोल रुम भवन र त्यहाँ रहेका उपकरणहरू पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्। डिस्याण्डरमा रहेका दुईवटा पोखरीमा लेदो, गेग्र्यान, ठूल्ठूला ढुंगा थुप्रिएका छन्। दुईवटा पोखरी प्रत्येकमा ७५/७५ हजार घनमिटर लेदो, ढुंगालगायत थुप्रिएको अनुमान गरिएको छ।
कन्ट्रोल रुम भवन, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको हो। कन्ट्रोल रूपमा कार्यरत कम्पनीका दुई कर्मचारी र सुरक्षाका लागि खटिएका दुई सैनिक गरी चार जनाको मृत्यु भएको थियो।
खहरे खोलामा अझै माथिबाट लेदो आइरहेको र ढुंगासमेत खसिरहेको छ।
अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत उत्पादन उत्पादन बन्द गरिएको थियो।
बाँधका सम्पूर्ण ढोका (गेट)हरू खुल्ला गरिएको थियो जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो। बाँधबाट डिस्याण्डरबीचमा रहेको कल्भर्टमा पुगेको क्षति अझै यकिन गर्न सकिएको छैन। विद्युत उत्पादन बन्द हुँदा माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको प्रवर्द्धक कम्पनीले दैनिक चार करोड रूपैयाँ आम्दानी गुमाइरहेको छ।
ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ, सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोली विज्ञसमूहसहित मंगलबार आयोजनास्थल पुगी पहिरोले पुर्याएको क्षतिको जानकारी लिएको छ।
टोलीले संरचनाहरुको मर्मत सम्भार गरी विद्युतगृह सञ्चालन गर्ने विभिन्न विकल्पहरूबारे विज्ञसमूह र कम्पनी व्यवस्थापनसँग छलफल गरेको थियो।
टोलीमा जलविद्युत केन्द्रको सम्पत्ति बीमा गरिएको राष्ट्रिय बीमा संस्थानका सर्वेयरहरू पनि सहभागी थिए।
राज्यमन्त्री तामाङले माथिल्लो तामाकोशी बन्द हुँदा समग्र राष्ट्रलाई नै ठूलो क्षति भइरहेकाले हरेक उपाय अवलम्बन गरी विद्युत उत्पादन जतिसक्दो छिट्टो सुरू गर्नुपर्ने बताए।
यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालय तयार रहेको राज्यमन्त्री तामाङले उल्लेख गरे।
आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर सञ्चालक समितिका अध्यक्षसमेत रहेका कार्यकारी निर्देशक घिसिङले पहिरोले नियन्त्रण कक्ष, डिस्याण्डर, कल्भर्टलगायतका संरचनामा ठूलो क्षति पुर्याएको देखिएको बताए।
अझै पनि खहरे खोलामा बाढी आइरहेको र उक्त संरचनाहरुरहेको स्थानभन्दा माथि ठूल्ठूला ढुंगाहरू देखिएको उल्लेख गर्दै घिसिङले उक्त क्षेत्र अझै जोखिमयुक्त रहेकाले लाइडार सर्वेमार्फत समग्र रुपमा भौगर्भिक अध्ययन गरी जोखिम पहिचान गर्न लागिएको बताए।
'डिस्याण्डरमा थुप्रिएको ढुंगा, लेदोलगायतका हटाएपछि मात्र उक्त संरचनामा पुगेको क्षति यकिन गर्न सकिने देखिएको छ, त्यसैले सबैभन्दा पहिले ढुंगा, लेदोलगायतलाई हटाउन लागेका छौं,' उनले भने।
'सञ्चालनमा रहेको सबैभन्दा ठूलो विद्युतगृह बन्द हुँदा आन्तरिक रुपमा विद्युत आपूर्तिका लागि समस्या त परेकै छ, यसबाट वर्षायामको विद्युत निर्यात पनि नराम्ररी प्रभावित भइरहेको छ, विद्युतगृह चलाउन सकेनौं भने हिउँदमा आन्तरिक रुपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहने देखिएको छ, त्यसले जतिसक्दो छिट्टो विद्युतगृहलाई सञ्चालन गर्न हरसम्भव उपायहरू लगाएका छौं।'
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहन प्रसाद गौतमले विज्ञसमूहबाट विद्युतगृह सञ्चालन गर्न विभिन्न सुझावहरू प्राप्त भएको र उक्त सुझावहरूलाई समेटेर मर्मत सम्भारका उपायहरू अबलम्बन गरी कार्ययोजनाका साथ काम सुरू गरिसकिएको बताए।
'बाँधमा रहेका गेटलाई चलाउन र डिसेन्डरलाई सफा गर्न गोङ्गरबाट लगिएको ११ केभि विद्युत लाइन मर्मतसम्भार गरी चालू गर्ने र पावर ट्रान्सफर्मर तथा केबल प्राधिकरणबाट जडानको प्रक्रिया सुरु भइसकेको छ,' सिइओ गौतमले भने।
उनले विद्युतगृह रहेको गोङ्गरबाट बाँधस्थलतर्फ जाने प्रवेश सडकअन्तर्गत काभ्रे भीर नजिक करिब एक सय मिटर सडक भासिएकाले आगतजावत असहज भएको बताए।