बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिमको)बर्दघाट नगरपालिका–५ दाउन्ने स्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको प्रसारण लाइनको टावर ढलेको हो।
टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत आपूर्ति सोमबार साँझ साढे ६ बजेबाट बन्द भएको छ।
होङ्शीले १३२ केभी प्रसारण लाइनबाट सिधै विद्युत आपूर्ति लिइरहेको थियो।
उद्योगले ३१ मेगावाटको विद्युत भार (लोड) स्वीकृत लिएको छ। त्यसमध्ये अहिले दैनिक रुपमा १० मेगावाट लोड लिइरहेको नेपाल विद्युत प्राधिकरण, कावासोती वितरण केन्द्रले जनाएको छ।
उक्त उद्योगले मासिक रूपमा ७/८ करोड रूपैयाँ विद्युत महसुल तिर्दै आएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमेन्ट उद्योगसँग विद्युत पुर्याउने घोषणाअनुसार होङ्शीलाई विद्युत आपूर्तिका लागि बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको थियो।
डबल सर्किटमध्ये एउटा सर्किट मात्र सञ्चालन (चार्ज)मा थियो।
उद्योगलाई वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति दिने तयारी भइरहेको प्राधिकरण बुटवल ग्रीड महाशाखाले जनाएको छ।