शुक्रबारदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोले विभिन्न १५ वटा आयोजनामा दुई अर्ब ३१ करोड रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
यो समाचार तयार पार्दासम्म २० वटा आयोजना प्रभावित भएको र सबै आयोजनाको विवरण आइनसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले जनाएको छ।
इप्पानका अनुसार मान्डु हाइड्रोपावरले निर्माण गरेको २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजनाको पावर हाउस पूर्णरूपमा डुबेको छ। बाँध क्षेत्रमा समेत क्षति पुग्दा यो आयोजनामा करिब एक अर्ब रूपैयाँ क्षति भएको उल्लेख गरिएको छ।
माउन्टेन हाइड्रोले निर्माण गरेको २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनामा २५ करोड रूपैयाँ बराबरको क्षति भएको उल्लेख छ।
यो आयोजनामा गत वर्षको बाढीले समेत क्षति पुगेको थियो।
पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ। यो आयोजनामा कति क्षति भयो भनेर विवरण आइसकेको छैन।
साहस ऊर्जाले बनाएको ८६ मेगावाटको सोलु दूधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु हेड वर्कसमा क्षति पुगेको छ।
उत्पादन समेत बन्द भएको छ। कति रूपैयाँ बराबर क्षति भन्ने विवरण आइसकेको छैन।
३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनामा बाढीका कारण पाँच करोड रूपैयाँ बराबर क्षति भएको छ।
९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनामा ७ करोड रूपैयाँ बराबर क्षति भएको आयोजनाले जनाएको छ।
फेमे खोला जलविद्युत आयोजनामा करिब १० करोड रूपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ।
५ मेगावाटको सिउरीखोला जलविद्युत आयोजनाको टेलरेस, इन्टेक र टनेलमा क्षति हुँदा करिब दुई करोड रूपैयाँ क्षति भएको अनुमान छ।
४० मेगावाटको सुपरन्यादी जलविद्युत आयोजना पहुँचमार्गमा क्षति पुगेको छ। त्यस्तै प्रोटेक्सन वालमा क्षति पुग्दा कति रूपैयाँ बराबर क्षति भयो भन्ने यकिन भइसकेको छैन।
२५ मेगावाटको इलेप खोला तातोपानी जलविद्युत आयोजनाको पहुँच मार्गमा ठूलो क्षति भएको छ। कति क्षति भयो विवरण आइसकेको छैन।
२१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा करिब १० करोड रूपैयाँ क्षति भएको उल्लेख गरिएको छ।
यो आयोजनाको क्याम्प हाउस, पहुँचमार्गमा क्षति पुगेको छ। त्यस्तै तीन वटा कन्टेनर बगाएको छ।
हेवाखोला जलविद्युत आयोजनाको क्रसर पुरिएको छ। पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाउँदा करिब १० करोड रूपैयाँ क्षति भएको आयोजनाले जनाएको छ।
१५.१ मेगावाटको सभाखोला बी जलविद्युत आयोजनामा करिब सात करोड रूपैयाँ बराबर क्षति भएको उल्लेख गरिएको छ। पाँचथरमा रहेको यो आयोजनाको पनि पहुँचमार्ग, पावरहाउस पुरिएको छ। बाँधमा क्षति पुगेको छ भने अस्थाई पुल बगाएको छ।
६.३ मेगावाटको सभाखोला सी जलविद्युत आयोजनामा करिब तीन करोड रूपैयाँ बराबर क्षति भएको अनुमान छ।
८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा करिब ८ करोड रूपैयाँ बराबरको क्षति भएको आयोजनाले जनाएको छ।
१०० मेगावाट सुपर त्रिशूली जलविद्युत आयोजनामा करिब २५ करोड रूपैयाँ बराबरको क्षति भएको छ।
यो आयोजनाको दुइटा स्काभेटर, दुइटा लोडर र ३ वटा ट्रिपर बगाएको छ।
त्यस्तै बेलीब्रिज पनि बाढीले बगाएको आयोजनाले जनाएको छ। पावर हाउस पुरिएको छ।
२० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाको बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति भएको उल्लेख गरिएको छ। यो आयोजनामा भएको क्षतिको विवरण आएको छैन।
२ मेगावाटको खानीखोला जलविद्युत आयोजनाको पावर हाउस डुबेको छ।
प्रसारण लाइनको टावर ढलेको, स्विचयार्डमा क्षति पुगेको छ।
ड्याम र हेडरेस टनेलमा समेत क्षति पुगेको र पहुँचमार्ग धेरै ठाउँमा क्षत विच्छेद हुँदा करिब १० करोड रूपैयाँ बराबरको क्षति भएको आयोजनाको भनाइ छ।
४.३६ मेगावाटको टुङ्गुन ठोस्ने जलविद्युत आयोजनाको पावर हाउस डुबेको, प्रसारण लाइनको टावर ढलेको, ड्याम र हेडरेस टनेल लगायत क्षति हुँदा करिब १५ करोड रूपैयाँ बराबरको क्षति भएको आयोजनाले जनाएको छ।
१४.९ मेगावाटको माया खोला जलविद्युत आयोजनाको बाँध र पहुँचमार्गमा क्षति हुँदा करिब दुई करोड रूपैयाँ बराबरको क्षति भएको जानकारी आयोजनाले गराएको छ।