पछिल्लो बाढीका कारण विभिन्न १६ वटा जलविद्युत आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले सार्वजनिक गरेको विवरण अनुसार मान्डु हाइड्रोपावरले निर्माण गरेको २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजनाको मकवानपुरस्थित पावर हाउस पूर्णरूपमा डुबेको छ।
त्यस्तै, माउन्टेन हाइड्रो नेपालले निर्माण गरेको २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनाको पावर हाउस पनि डुबानमा परेको छ। यो जलविद्युत आयोजना गत वर्षको बाढीबाट समेत प्रभावित बनेको थियो।
पाँचथर पावरले बनाएको १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजा, पाँचथर गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना हो। यो आयोजना पुनर्निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त भएको आयोजनाले जनाएको छ।
साहस ऊर्जाले बनाएको ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु (हेडवक्र्समा पनि क्षति भएको छ। यो आयोजनाबाट बिजुली उत्पादन नै बन्द भएको छ।
सगरमाथा जलविद्युत कम्पनीले बनाएको ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाको बाँध र टेलरेसमा क्षति पुगेको छ। यो आयोजनाको उत्पादन बन्द समेत बन्द छ।
त्यसैगरी, सगरमाथा जलविद्युत कम्पनीले बनाएको ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, इलामको बाँध र प्रसारण लाइनमा क्षति पुगेको छ।
पाँचथर स्थित १ मेगावाटको फेमे खोला जलविद्युत आयोजनाको बाँध र विद्युतगृह पूर्णरूपमा क्षति पुगेको छ।
सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङको टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको छ।
सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लामुजुङको पहुँचमार्गमा क्षति पुगेको छ। यो आयोजनाको प्रोटेक्सन वालमा पनि क्षति पुगेको छ।
धादिङस्थित २५ मेगावाटको इलेप खोला तातोपानी जलविद्युत आयोजनाको पहुँच मार्गमा ठूलो क्षति पुगेको उल्लेख छ।
नुवाकोट स्थित २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ। यो आयोजनाको क्याम्प हाउस, पहुँचमार्गमा क्षति पुगेको त्यस्तै ३ वटा कन्टेनर बगाएको आयोजनाले जनाएको छ।
त्यसैगरी पाँचथरस्थित १० मेगावाटको हेवाखोला जलविद्युत आयोजनामा क्रसर पुरिएको, पहुँचमार्गमा क्षति पुगेको उल्लेख छ। यो आयोजनाको प्रसारणलाइनको टावर ढलेको तथा पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको उल्लेख छ।
पाँचथरकै १५.१ मेगावाटको सभाखोला बी जलविद्युत आयोजनाको पहुँचमार्गमा क्षति पुगेको छ। त्यस्तै यो आयोजनाको पावरहाउस समेत पुरिएको छ। बाँधमा पनि क्षति पुगेको र आयोजनाका लागि बनाइएको अस्थाई पुल बगाएको उल्लेख छ।
६.३ मेगावाटको सभाखोला सी जलविद्युत आयोजनाको पहुँच मार्गमा समेत क्षति पुगेको छ।
लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाट, कास्कीको पहुँचमार्गमा पनि क्षति पुगेको उल्लेख छ।
त्यस्तै सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट, नुवाकोटको २ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको छ। त्यस्तै बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको उल्लेख छ।
यतिबेला कतिपय जलविद्युत आयोजनामा सम्पर्क हुन नसकेका कारण सबै आयोजनाको क्षति विवरण आइनसकेको इप्पानले जनाएको छ।