दसैं लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफल गरेको छ।
चाडपर्वको समयमा ठूलो संख्यामा यात्रुहरू काठमाडौंबाट बाहिरिने र केही दिन लगत्तै फर्किने भएकाले त्यसस्तो समयमा सार्वजनिक यातायात सहज बनाउन छलफल भएको हो।
बुधबार मन्त्रालयमा आयोजित सरोकारवालाहरूको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रत्येक यात्रुलाई सुरक्षित रूपमा घर पुर्याउने व्यवस्था मिलाउन निर्देशन दिए।
सुरक्षित यात्राका लागि सडक सुरक्षा तथा यात्रुको सुविधामा ध्यान दिन उनले निर्देशन दिए।
चाडपर्वलाई दुर्घटना रहित बनाउन सडक मर्मतलाई अहिले मुख्य प्राथमिकतामा राखिएको उनले बताए।
टिकट काउण्टर, बसपार्क, राजमार्ग तथा बस बिसौनीहरूमा बलियो सुरक्षा व्यवस्था बनाउन प्रहरी प्रशासनसँग समन्वय गरिएको पनि उनले बताए।
मन्त्री दाहालले डर, त्रास र ठगीरहीत यात्राको प्रबन्ध मिलाउन सम्बद्ध सबै क्षेत्र लाग्नु पर्नेमा जोड दिए।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले हाल निर्माणाधीन सडकमा खाल्डा पुर्ने, सम्याउने, सुरक्षा प्रबन्ध गर्ने लगायतका काम भइरहेको बताए।
विशेष परिस्थिति बाहेक दुई घण्टाभन्दा बढी सडक जाम हुन नदिइएको बताए।
उनले चाडपर्व नजिकिएसँगै यस कार्यलाई थप प्राथमिकतामा राखिएको जनाए। यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले सडक सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिएको बताए।
प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले चाडपर्वलाईनै लक्षित गरी सुरक्षाकर्मी परिचालनलाई सुदृढ पारिएको, आवश्यक स्थानहरूमा चेकजाँचको व्यवस्था मिलाइएको र बढि यात्रुको चाप हुने ठाउँमा सुरक्षा प्रबन्ध समेत मिलाइएको बताए।
कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँर लगायत व्यवसायीहरूले सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनमा जोड दिए।