ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीबीच भेट भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइतबार भएको भेटमा नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो।
भेटमा मन्त्री खड्काले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको र बंगलादेशमा बढ्दो ऊर्जा आवश्यकता रहकोले दुई देशबीचको ऊर्जा सहकार्यलाई अझ गहिरो बनाउन भेटले सहयोग पुगेको बताए।
उनले आगामी दिनमा हुन लागेको दुई देशका सचिव तथा सहसचिवस्तरीय बैठकमा ठूला जलविद्युत आयोजना निर्माणमा सहकार्य, अन्तर्देशीय प्रसारण लाइनमा भारतीय पक्षको सहमति र विद्युत व्यापारको सुरूआत लगायत विभिन्न विषयमा छलफल हुने तथा निर्णय हुने भएकाले उक्त बैठक फलदायी हुने विश्वास व्यक्त गरे।
ऊर्जामन्त्री खड्काले चाँडै नै नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत व्यापार निगमबीच ऐतिहासिक त्रिपक्षीय विद्युत व्यापार सम्झौतामा हस्ताक्षर गरी नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गरी बर्खामा बंगलादेशमा विद्युत निर्यातले दुई देशबीच विद्युत व्यापारको ढोका खोल्ने बताए।
उनले ६८० मेगावाटको सुनकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढेकोमा राजदूतावासबाट आवश्यक पहल हुने विश्वास समेत व्यक्त गरे।
भेटमा राजदूत चौधरीले बंगलादेशले चाँडै नै ४० मेगावाट विद्युत खरिद सम्झौता गरेर नेपाल र बंगलादेशबीचको ऊर्जा सहकार्यलाई अगाडि बढाउन खोजेकोे बताए।
उनले विद्युत उत्पादन, व्यापार र प्रसारण लाइनको विकासमा बंगलादेशले नेपाललाई सहयोग गर्ने उल्लेख गरे।
राजदूत चौधरीले बंगलादेशले सिँचाइको नवीनतम माध्यमबाट कृषि क्षेत्रमा थोरै जमिनबाट धेरै उत्पादन गरिरहेको भन्दै उक्त प्रविधिलाई नेपालमा भित्र्याउनका लागि आवश्यक सहयोग गर्ने पनि बताए।
भेटमा ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी लगायतको उपस्थिति थियो।