ललितपुरको कुपन्डोलमा भासिएको सडक १२ घन्टा नपुग्दै मर्मत गरियो।
मेलम्चीको खानेपानी आयोजनाको पाइप फुट्दा शनिबार कुपन्डोलस्थित सडक भासिएर भल नै बगेको थियो।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड र सडक डिभिजन कार्यालय ललितपुरले भासिएको सडक शनिबार नै मर्मत गरे।
सडक भासिएर बनेको खाल्डो पुरिए पनि कालोपत्र गर्न भने केही समय लाग्नेछ। त्यो पनि छिट्टै गरिने सडक विभागले जानकारी दिएको छ।
कुपन्डोलबाट नजिकै काठमाडौंको कमलादीमा भने सडक भासिएको महिना दिनसम्म मर्मत हुन सकेको छैन। त्यो सडक घेराबार लगाएर राखिएको छ, सवारी साधन चल्न रोक लगाइएको छ।
यो सडक साउन २५ गते भासिएको थियो। एक महिनाभन्दा बढी समय भए पनि सडक मर्मत गरिएको छैन। यसको कारण छ- सडक विभाग टेण्डर प्रक्रियामा जानु।
सडक विभागले कमलादी सडक कुपन्डोलको जस्तो आफै बनाएन। ठेक्का प्रक्रिया अघि बढायो जसले मर्मतमा ढिलाइ भइरहेको छ।
सडक विभागले तीन कारण देखाउँदै कमलादीको सडक आफै मर्मत नगरेको हो।
पहिलो, बर्खा।
दोस्रो, तत्काल बनाइहाल्नु नपर्ने सडक (भित्री सडक) भएकाले।
तेस्रो, सार्वजनिक खरिद नियमावली।
सार्वजनिक खरिद नियमावलीले १० लाख रूपैयाँभन्दा बढी लागतका योजना टेन्डर प्रतिस्पर्धाबाट निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ। तर बनाइहाल्नुपर्ने अवस्था छ भने टेन्डर प्रक्रियामा नगई सडक विभाग आफैले बनाउन पनि सक्छ। विभाग सजिलो बाटोतिर अघि बढेन, खरिद नियमावलीअनुसार ठेक्कातर्फ लाग्यो।
कमलादीको सडक मर्मत गर्न १० लाख रुपैयाँले नभ्याउने देखिएको छ।
‘बर्खाको बेला भएकोले तत्काल सडक मर्मत गर्दा थप सडक भासिन सक्ने जोखिमले पनि हामीले बनाएनौं, १० लाखभन्दा बढी लाग्ने भएकोले पनि ठेक्का प्रक्रियामा गयौं,’ सडक डिभिजन काठमाडौंका सूचना अधिकारी महानन्द जोशीले सेतोपाटीसँग भने।
सडक डिभिजनले कमलादीमा 'बक्स कल्भर्ट' बनाउन साउन ३० गते टेण्डर आह्वान गरेको थियो। भदौ २९ गते टेण्डर खुलेर काठमाडौंकै डिजी प्रकाश कन्स्ट्रक्सनले ठेक्का पाएको र कम्पनीलाई आशयपत्रको चिठ्ठीसमेत गइसकेको उनले जानकारी दिए।
कलभर्ट बनाउन डिजी प्रकाश कन्स्ट्रक्सनले ४९ लाख ६३ हजार ६९४.९ रूपैयाँ लागतको टेण्डर हालेको थियो। पछि १८ प्रतिशत कम गरेर 'मोडिफाइड टेण्डर' हालेका थिए।
त्यसअनुसार ४१ लाख हाराहारी लागत तोकेर हालेकोमा उसैलाई टेण्डर परेको उनले बताए। अब डिभिजनले आकलन गरेको लागतभन्दा २० प्रतिशत कम लागतमा ठेकेदार कम्पनीले सडक मर्मत गर्ने उनले बताए।
सडक मर्मतलाई कति लाग्छ समय?
कमलादीमा भासिएको सडक बनाउने ठेकेदारको सुनिश्चितता भइसके पनि सम्झौता भएको छैन।
सूचना अधिकारी जोशीले प्रक्रियाअनुसार छिटो कलभर्ट बनाएर सडक खुलाउने तयारी छ।
टेण्डर खोलिएकै दिन सूचना जारी गरी ठेकेदार कम्पनीलाई सात दिनभित्र सम्झौताका लागि सम्पर्कमा आउन भनिएको उनले बताए। 'ढिला हुँदा अबको ८ दिनभित्र काम सुरू हुन्छ,' उनले भने।
कमलादीमा भासिएको सडकमुनि टुकुचा खोला बगिरहेको छ। त्यहाँ राणाकालीन संरचना रहेको अनुमानमा सडक विभाग आफैले पुरातत्व विभागलाई पत्र पठाएर समन्वय गर्न आग्रह गरेको थियो।
'हामीले पत्र पठाएपछि उहाँहरूले पनि चासो राख्नुभएको छ, त्यहाँ रहेका पुरातात्विक महत्वका संरचना जोगाउनुपर्ने भन्ने आशयको पत्र पठाउनुभएको छ। उहाँहरूले पनि यही एक साताभित्रमा हेर्नुहोला। त्यसपछि निर्माणको काम अघि बढ्छ,' जोशीले भने।
एक साताभित्र बन्न सुरू भएपनि बनिसक्न कम्तिमा तीन महिना समय लाग्ने उनको अनुमान छ।
'खोलाको दुवैतर्फबाट वाल उठाउने हो, ढलान गर्नुपर्छ। त्यो सुकेपछि माथिबाट स्ल्याब हाल्ने हो। प्रक्रियाअनुसार बनाउँदा कम्तिमा त्यति समय लाग्छ,' उनले भने।
यद्यपि कति समयमा बनाइसक्ने भन्ने विषय ठेकेदार कम्पनी र कार्यालयबीच सम्झौता भएपछि निर्क्योल हुने उनको भनाइ छ। 'काम सुरू भएपछि निरन्तर रहन्छ, दसैं तिहारमा पनि रोकिँदैन,' उनले भने,'त्यसो हुँदा काम छिट्टै सकिन्छ।'