विज्ञ तथा सरोकारवालाहरूले मुलुकको अर्थतन्त्र विकासका लागि सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्ने औंल्याएका छन्।
शुक्रबार नेपाल उद्योग परिसंघ (सिएनआइ)ले आयोजना गरेको 'नेपाल पूर्वाधार समिट २०२४' को 'कन्स्ट्रक्सन इन्डस्ट्री प्रस्पेक्टिभ' सत्रमा निजी, सरकारी एवं विदेशका प्रतिनिधिले यस्तो बताएका हुन्।
पूर्वाधार विज्ञ डा. सूर्यराज उपाध्यायले अर्थतन्त्र विकासका लागि निर्माण उद्योग महत्त्वपूर्ण रहेको बताए। उनले विभिन्न विकसित मुलुकहरूको उदाहरण दिँदै निर्माण उद्योग चलायमान भए मुलुकले छिट्टै विकासको गति लिने उल्लेख गरे।
अब सरकारले निर्माणमा प्रविधिको प्रयोग तथा गुणस्तरीय निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गरे। त्यस्तै, पूर्वाधार विकासमा आन्तरिक लगानीलाई अधिकतम प्रयोग गर्नु पर्नेमा उनले जोड दिए। विदेशी लगानीकर्तासँग पनि साझेदार गरेर जतिसक्दो धेरै लगानी बढाउनुपर्ने उनले उल्लेख गरे।
उनले दक्ष जनशक्ति विकासमा पनि ध्यान दिनुपर्नेमा समेत जोड दिए।
'निर्माण उद्योगमा प्राविधिक जनशक्ति, ठेकेदार, परामर्शदाता र आपूर्तिकर्ताहरूमा क्षमता अभिवृद्धिका लागि विशेष नीति आवश्यक छ,' उनले भने।
एसियाली विकास बैंकका पूर्व वरिष्ठ सल्लाहकार मनमोहन प्रकाशले नेपालले अहिलेको प्रविधिलाई ध्यान दिएर पूर्वाधार विकासमा ध्यान दिने हो भने सन् २०५० सम्ममा नेपालको अर्थतन्त्र पूर्ण विकसिततर्फ अग्रसर हुने बताए।
जसका लागि सरकारले रणनीतिक योजना र नीतिहरू तय गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। त्यस्तै निर्माण परियोजनाहरूका लागि वित्तीय व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले औंल्याए।
'सरकारले सडक, पुल, पावर प्लान्ट र सार्वजनिक भवनहरू सहित पूर्वाधारमा ठूलो लगानी गर्नु पर्दछ। यो लगानीले रोजगारी सृजना गर्नुका साथै अर्थतन्त्र विकासका लागि ठूलो योगदान पुर्याउँछ,' उनले भने।
जापान कोरिया, चीन लगायत मुलुकले यस्तै ठूला पूर्वाधार आयोजनामा लगानी गरी विकासतर्फ फड्को मारेको पनि उनले बताए।
नेपालले आधुनिक सहरहरू निर्माण र जीवनस्तर सुधार गर्नमा ध्यान केन्द्रित गर्नुपर्ने र यसले निर्माणको माग अझ बढाउने उल्लेख गरे।
त्यस्तै, सार्वजनिक निर्माण परियोजनाहरू जस्तै राजमार्ग, विमानस्थल, रेलमार्ग र सार्वजनिक ट्रान्जिट प्रणालीको निर्माण जस्ता ठूला–ठूला सार्वजनिक निर्माण परियोजनाहरू आर्थिक विकास र रोजगारी सिर्जनाको केन्द्रविन्दु हुने पनि उनले प्रस्ट पारे।
उन्नत निर्माण प्रविधिहरू प्रयोग गरी दक्षता र गुणस्तरीय निर्माणमा जोड दिनुपर्ने उनले उल्लेख गरे।
टाटा प्रोजेक्टस लिमिटेड टिपिएल, भारतका प्रवन्ध निर्देशक एवं कार्यकारी अधिकृत विनायक पाइले निर्माण क्षेत्रमा ढिलाइ हुने तथा निर्माण गुणस्तर नहुने समस्या औंल्याए।
उनले नेपालमा मात्रै नभएर भारत तथा अन्य मुलुकमा समेत यस्तो समस्या रहेको बताए।
त्यस्तै, प्रविधिको प्रयोग, दक्ष जनशक्ति विकास लगायत कुरामा ध्यान दिँदै निर्माण उद्योगलाई चलायमान बनाउन जोड दिए।
हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिकी कार्यकारी निर्देशक अविज्ञा मल्लले जलविद्युत आयोजनामा पनि लगानीको खाँचो औंल्याइन्।
उनले लगानीमैत्री वातावरण बनाउन सरकारसँग आग्रहसमेत गरिन्।
निर्माण व्यवसायी निकोलस पाण्डेले निर्माण उद्योगले थुप्रै चुनौती सामना गर्नु परिरहेकाले सरकारले त्यसमा ध्यान दिनुपर्ने बताए।
लगानीको वातावरण बनाउन, निर्माण सामग्री आयात गर्ने लगायत कुरामा सरकारले सहजीकरण गर्नुपर्ने उनले उल्लेख गरे।
इन्जिनियर ठाकुरप्रसाद शर्माले निर्माण उद्योगलाई व्यवस्थित बनाउन देशभित्रकै निर्माण व्यवसायी, परामर्शदाता कम्पनीहरूलाई दक्ष र अनुभवी बनाएर काममा प्राथमिकता दिनुपर्ने बताए। विदेशी कम्पनीहरूसँग पनि समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिए।
भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयका सचिव केशवकुमार शर्माले पूर्वाधार सम्मेलनको यो सत्रमा निकै महत्त्वपूर्ण विषयमा छलफल भएको बताए।
यो सत्रमा उठेका विषयहरूबाट निर्माण क्षेत्रसम्बन्धी नीति निर्माणमा सरकारलाई थप सहयोग हुने बताए।