दसैं, तिहार जस्ता चाडपर्वमा हुन सक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो देखाएको छ।
चाडपर्वको समयमा काठमाडौंबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुने र त्यस्तो समयमा दुर्घटनाको समेत जोखिम उच्च हुने भएकाले नियन्त्रणका लागि मन्त्रालयले चासो देखाएको हो।
आइतबार मन्त्रालयमा सरोकारवालाहरूबीच छलफल कार्यक्रम आयोजना गरिएको थियो।
छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चाडपर्व सुरू हुनु अघि नै सडकका खाल्डा पुर्न निर्देशन दिए।
जोखिम रहेका स्थानमा सडक सुरक्षाका पूर्वाधार निर्माण र मर्मत गर्न पनि उनले निर्देशन दिए।
विभिन्न कारण दुर्घटना भई हाले उद्धार र अस्पतालसम्म पुर्याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह गरे।
सडक सुरक्षाको दीर्घकालिन व्यवस्थापनका लागि नीतिगत र कानुनी व्यवस्था गर्न मन्त्रालयले अगुवाई लिने भन्दै मन्त्री दाहालले सडक सुरक्षा परिषदलाई क्रियाशील र प्रभावकारी बनाइने बताए।
'सुरक्षित सडक, चुस्त सवारी साधन, दक्ष चालक र सचेत यात्रुहरू भए मात्र सडक सुरक्षा कायम गर्न सकिन्छ। यसका लागि तीनै तहका सरकार र सम्बद्ध निकायबीच सहकार्यको खाँचो छ,' उनले भने।
मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्वहरू नजिक आइरहेकाले सडक तथा सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि विशेष ध्यान दिन आवश्यक रहेको बताए।