त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरू गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ।
रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्रीबी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणका काम भइरहेको आयोजनाले जनाएको छ।
बाँकी काम सकेर दसैं अगाडि नै सञ्चालनमा ल्याउने गरी निर्माण गरिएको उल्लेख छ।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतनै २२०/१३२/३३ केभीका चिलिमे हव र त्रिशूली थ्रीबी हब सबस्टेसन निर्माण सकिएका छन्।
प्रसारण लाइनमा पर्ने ७६ वटा टावरमध्ये ७५ वटाको निर्माण सकिएको छ।
एउटा टावर जडान कार्य अन्तिम चरणमा छ। २८ किलोमिटर प्रसारण लाइनमध्ये पाँच किलोमिटर मात्र तार तान्न बाँकी रहेको उल्लेख छ। टावर जडान र बाँकी रहेको तार तान्न करिब दुई सय जना श्रमिकहरू खटाइएका छन्।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ लगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार प्रसारण लाइनको स्थलगत अनुगमन गरेको थियो।
आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माणमा ढिलाइ नगर्न निर्देशन दिएको हो।
प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको विद्युत यही प्रसारण लाइनमा जोडिने छ। दुवै आयोजना निर्माण सकिएका छन्। प्रसारण लाइन नहुँदा ती आयोजनाले विद्युत उत्पादन गरेका छैनन्।
जसकारण जतिसक्दो छिटो प्रसारण लाइन सक्नुपर्ने दबाबमा प्राधिकरण छ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा निर्माणाधीन प्रसारण लाइन निरन्तरको प्रयासपछि अब अन्तिम चरणमा पुगेको बताए।
'यो लाइन बन्न नसक्दा दुई जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरू गर्न सकिरहेका छैनन्, विकट भौगालिक अवस्थालाई पार लगाउँदै लाइन निर्माण अन्तिम चरणमा पुगेको छ, बाँकी काम सक्न सबैले अन्तिम प्रयास गरौं। दसैं अगाडि जसरी पनि निर्माण सकौं,' घिसिङले भने।
उत्तरगया गाउँपालिका–१ तिरूबाट सोही वडाको सिरूचेतसम्म एक हजार दुई सय ३५ मिटर लम्बाइमा तार तान्नु पर्नेछ।
मैलुङ खोलामाथि पर्ने उक्त खण्डमा ड्रोनको प्रयोग गरी तार तानिने छ। मैलुङ क्रसिङका लागि सबै तयारी पूरा भइसकेको प्राधिकरणले जनाएको छ।
प्रसारणलाइन समुद्री सतहबाट ६८० देखि २६०० मिटरसम्म पर्ने भू–भागमा निर्माण गरिएको छ। ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नुपर्ने अवस्था थियो। उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ।
आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक बनाएको छ।
खच्चड र मानिसबाट निर्माण सामग्री र उपकरणहरू ढुवानी गरी ९ वटा टावर निर्माण गरिएको छ। २ वटा टावर हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरी निर्माण गरिएको छ।
प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्रीबी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ।
कोरियन कम्पनीहरूको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो। माथिल्लो त्रिशूली–१ ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ।
प्रसारणलाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुपअफ कम्पनीजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो।
ठेक्का सम्झौता २०७४को पुसमा कार्यान्वयनमा आएको थियो। ठेक्का सम्झौताको सात वर्ष बितिसक्दा पनि निर्माण सकिएको छैन।