उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन्।
अरूण तेस्रो जलविद्युत आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग ‘भर्चुअल बैठक’मा बोल्दै मन्त्री खड्काले समस्या देखाउने मात्र नभई समाधानमा केन्द्रित हुन निर्देशन दिएका हुन्।
'बिजुली उत्पादन गर्ने समय एक दिनमात्र ढिला हुँदा पनि राज्यले करोडौंको घाटा बेहोर्नुपर्छ, आयोजना र सिंगो मुलुकमा यसको प्रभाव पर्ने भएकाले समयमै सम्पन्न र वितरण हुनेगरी सानातिना समस्यालाई समाधान गर्नुपर्छ,' उनले भने।
उर्जामन्त्री खड्काले सन् २०३५ सम्म नेपालमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले जानकारी दिए।
उक्त लक्ष्य पुरा गर्न आयोजना, प्रमुख जिल्ला अधिकारी र लगानी बोर्डको योगदान महत्वपूर्ण रहेकोसमेत प्रष्ट पारे। उनले स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनीसँग सहकार्य गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए।
'आयोजनालाई अगाडि बढाउन कहाँ-कहाँ अवरोध छन्, त्यससँग सम्बन्धित व्यक्तिहरू को-को हुन्, त्यसको पहिचान गरेर प्रमुख जिल्ला अधिकारीले समाधान गर्न लाग्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु,' उनले भने स्थानीय स्तरमा देखिएका समस्या समाधानका लागि सरकारले सहयोग गर्नेछ।'
उर्जामन्त्री खड्काले अरूण तेस्रो जलविद्युत आयोजनालाई अगाडि बढाउने कुरामा प्रधानमन्त्रीको समेत चासो र चिन्ता रहेकाले यसलाई समयमै सम्पन्न गर्नुपर्ने बताए।
उर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि मन्त्रालयले सहयोग गर्ने बताए।
ऐलानी जग्गा प्राप्तीका लागि मन्त्रीपरिषदमा प्रस्ताव लैजाने गरिएको भन्दै त्यस्ता जग्गा भए लगानी बोर्डमार्फत मन्त्रीपरिषद प्रस्ताव पेश गर्नुपर्ने उनको भनाइ छ।
बैठकमा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारी, संखुवासभाका प्रमुख जिल्ला अधिकारी धुब्रबहादुर खड्का, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीया, खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, भोजपुरका प्रमुख जिल्ला अधिकारी नरबहादुर थापा, उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, अरूण तेस्रो आयोजनाका प्रमुख कार्यकारी अधिकृतलगायतले प्रसारण लाईन विस्तारका क्रममा देखिएका समस्याबारे कुरा राखेका थिए।