लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका पाँच जना सर्ट लिस्टमा परेका छन्।
आवेदन दिएका मध्येबाट पाँच जना सर्ट लिस्टमा परेका हुन्।
सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले सिइओ पदमा आवेदन खुलाएको थियो।
सिइओका लागि आठ जनाको आवेदन परेकोमा उनीहरूबाट पाँच जनालाई सर्ट लिस्टमा राखिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आवेदकमध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादवलाई सर्ट लिस्टमा राखेको हो।
सर्ट लिस्टमा परेका ज्ञवाली नगर विकास कोषका पूर्व कार्यकारी निर्देशक हुन्। उनी यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ पनि थिए।
त्यस्तै, ढुंगाना नेपाल राष्ट्र बैंक पूर्वकार्यकारी निर्देशक हुन्। उनी धितोपत्र बोर्डका पूर्वअध्यक्ष पनि हुन्।
काफ्ले तत्कालीन वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक थिए।
सूचीकृत उम्मेद्वारहरूको रणनीति र कार्ययोजना, रणनीति छलफल, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षण गरिने छ। यसका लागि स्थान, मिति र समय तोकेर सूचना प्रकाशित गरिने उल्लेख गरिएको छ।
यसरी नाम छनोट गरेर मन्त्रिपरिषदमा सिफारिस गरिने र मन्त्रिपरिषदले एक जनालाई नियुक्त गर्ने छ।