एबिपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको विद्युत खरिदबिक्री सम्झौता (पिपिए) सकिएको छ।
नेपाल विद्युत प्राधिकरण र एबिपी इनर्जीका प्रतिनिधिबीच सोमबार पिपिएमा हस्ताक्षर भएको हो।
यो आयोजनाको सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का महासचिव बलराम खतिवडा, सूचना प्रविधि विज्ञ असगर अली लगायत छन्।
प्रस्तावित जलविद्युत आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ ताँदीमा निर्माण हुनेछ।
यो आयोजनाको सबै खालको अध्ययन पूरा भएको छ। यो जलविद्युत आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) २०८० वैशाखमा तयार भएको हो।
यो ८ मेगावाट जडित क्षमता भएको परियोजना हो।
प्रस्तावित जलविद्युत आयोजनाको ग्रस हेड ४४६ मिटर छ। यो जलविद्युत आयोजनाका लागि २२८१.३६ मिटर हेडरेस पाइप राखिनेछ।
१६३२.०८ मिटर पेनस्टक पाइप निर्माण गरिनेछ। उत्पादित विद्युत ३३ केभी सिंगल सर्किटको १० किमी प्रसारणलाइन निर्माण गरेर समुन्द्रटार सबस्टेसनमा जोडिनेछ।
यो जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रूपैयाँ छ। आगामी असोज २९ गतेबाट निर्माण थाल्ने योजना छ। २०८४ वैशाख मसान्तमा व्यवसायिक उत्पादनको लक्ष्य छ।