पूर्व ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले माथिल्लो अरूण सरकार आफैँले बनाउनुपर्ने सुझाव दिएका छन्।
मंगलबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पूर्व ऊर्जामन्त्रीहरू तथा सरोकारवालाहरूसँग राखेको छलफल कार्यक्रमम बोल्दै बस्नेतले माथिल्लो अरूण नेपाल आफैँले बनाउँदा धेरै कुरामा ब्यालेन्स हुने बताए।
आफैँले नबनाउने हो भने धेरै समस्या आउने उनले उल्लेख गरे।
त्यसैगरी बस्नेतले जलस्रोतको उपभोगमा समेत अहिलेदेखि ध्यान दिनुपर्ने बताए।
'पानीमा राज्यको कहीँ न कहीँ राज्यको स्वामित्व रहेन भने समस्या देखापर्छ। केही वर्षपछि पानी हाम्रो आवश्यकतामा उपयोग गर्न नपाइने हो कि! ५० वर्षपछि पानीको यही स्रोत रहिरहने हो कि होइन यसमा ध्यान दिएर काम गर्नुपर्छ,' उनले भने।
अब जलाशययुक्त जलविद्युत आयोजनमा जानुपर्नेमा पनि उनले जोड दिए।
जलाशययुक्त आयोजनाहरूमा निजी क्षेत्रलाई प्रोत्साहन गरी अघि बढ्न उनले सुझाव दिए।