भौतिक, पूर्वाधार तथा यातयात मन्त्रालय र नेपाल उद्योग परिसंघका आयोजनामा काठमाडौंमा पाचौं संस्करणको नेपाल पूर्वाधार सम्मेलन हुने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलन आगामी भदौ २७ र २८ गते दुई दिन चल्नेछ।
परिसंघले सन् २०१४ देखि पूर्वाधार सम्मेलन आयोजना गर्दै आएको छ।
यसअघि सन् २०१४, २०१७, २०१९ र २०२२ मा गरी चार संस्करण भएका थिए।
सम्मेलनमा पूर्वाधारका लगि लगानी प्रवर्द्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्र विकासको अवरोध लगायत विभिन्न विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार तथा निजी क्षेत्रका प्रतिनिधिहरूबीच गहन छलफल हुनेछ।
त्यसैगरी, छोटो अवधिमै अन्य मुलुकले पूर्वाधार क्षेत्रमा कसरी प्रगति हासिल गर्न सके भन्ने विषयलाई ध्यानमा राखी सम्मेलन गरिनेछ।
'हाम्रा लागि पूर्वाधार विकास अपरिहार्य छ। लगानीको उत्तिकै आवश्यक छ। दीगो विकास लक्ष्य हासिल गर्न सन् २०३० सम्म वार्षिक २० खर्बभन्दा बढी लगानी आवश्यक रहेको राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा उल्लेख छ,' परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले भने।
परिसंघ र आइआइडिएस ले सन् २०१९ मा गरेको एक अध्ययनले पनि दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्ने गरी पूर्वाधार क्षेत्रमा मात्र एक खर्ब ३० अर्ब अमेरिकी डलर लगानी आवश्यक पर्ने देखाएको छ।
पूर्वाधार क्षेत्रमा मात्रै यति लगानी गर्न सरकारसँग पुँजी नभएको अध्यक्ष अग्रवालले बताए।
पूर्वाधार क्षेत्रमा लगानी आवश्यक भइरहेको तर स्रोत अभाव रहेको अवस्थामा पूर्वाधार क्षेत्रमा कसरी लगानी जुटाउन सकिन्छ, अन्तर्राष्ट्रिय अभ्यास के छन् भनेर सम्मेलनमा गहन छलफल गरिने उनले बताए।
सम्मेलनबाट प्राप्त सुझाव सरकारलाई बुझाउने र यसले विकास सहजता हुने विश्वास लिइएको छ।