अब भारतले लैजाने बिजुलीको शुल्क प्रतियुनिट आठ रूपैयाँ ७२ पैसा (५.४५ भारू) तोकिएको छ।
पछिल्लो पटक भारतको बिहार र हरियाणा राज्यसँग थप २५१ मेगावाट बिजुली निर्यातका लागि भएको सम्झौता अनुसार आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युतको शुल्क केही बढेको हो।
गत वर्ष हरियाणालाई बिक्रीका लागि स्वीकृति दिएको १०९ मेगावाटको शुल्क प्रतियुनिट आठ रूपैयाँ ४० पैसा (५.२५ भारू) छ। यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिन लगायतका सम्पूर्ण कर तथा शुल्क भारत आफैंले बेहोर्ने छ।
भारतको विद्युत मन्त्रालयअन्तर्गत केन्द्रीय विद्युत प्राधिकरणले हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न विद्युत प्राधिकरणलाई स्वीकृति दिएको हो।
सम्झौता अनुसार विभिन्न १० जलविद्युत आयोजनाबाट उत्पादित १२५ मेगावाट विद्युत बिहारलाई र दुई जलविद्युत आयोजनाबाट उत्पादित थप १२५.८९ मेगावाट विद्युत हरियाणा राज्यका वितरण कम्पनीहरूलाई बिक्री गरिने छ।
प्राधिकरणले हरियाण राज्यलाई हाल १०९ मेगावाट विद्युत बिक्री गरिरहेको छ।
नेपालमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत हरेक वर्ष जुनदेखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गरिने छ। यो सँगै मध्यकालीन सम्झौताअनुसार भारतका राज्यस्तरका वितरण कम्पनीहरूलाई बिक्री गरिने विद्युतको परिमाण ३६० मेगावाट पुगेको छ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ। भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल टाइम मार्केट, डे–अहेड बजारमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत सम्झौता बमोजिम हरियाणा राज्यलाई बिक्री गरिरहेको छ।
भारतबाट स्वीकृति पाएसँगै अब बिहारलाई पनि बिजुली बिक्री सुरू हुनेछ।
प्रतिस्पर्धी बजार र मध्यकालीन सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरूबाट उत्पादित ९४१ मेगावाट विद्युत बिक्री हुनेछ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय पक्षबाट स्वीकृति पाएसँग अब छिट्टै बिहार र हरियाणामा थप विद्युत निर्यात सुरू गरिने बताए।
'स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत निर्यात गर्न सक्ने हुँदा अब एक हजार मेगावाटभन्दा बढी निर्यात गर्न सक्ने अवस्था बनेको छ। थप २०० मेगावाट निर्यात स्वीकृतिको प्रक्रियामा रहेको छ। छिट्टै स्वीकृति पाउनेमा विश्वस्त छौं,' कार्यकारी निर्देशक घिसिङले भने, 'अब विद्युत निर्यातको परिणाम बढ्दै जानेछ, चालु आर्थिक वर्षमा २५ अर्ब रूपैयाँ बराबरको विद्युत निर्यात गर्ने लक्ष्य राखिएको छ।'