धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टी सम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सकिएको छ।
ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालन (चार्ज) मा ल्याइएको छ।
धनुषा र महोत्तरीको विद्युत आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत माग व्यवस्थापन र विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल विद्युत प्राधिकरणको करिब एक अर्ब १३ करोड रूपैयाँ लगानीमा आयोजना निर्माण गरिएको हो।
डबल सर्किट प्रसारण लाइनको लम्बाइ २३ किलोमिटर छ। प्रसारण लाइनका लागि ९१ वटा टावर निर्माण गरिएका छन्।
सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए क्षमताका दुई थान पावर ट्रान्सफर्मर थान र १३२/११ केभी, २२.५ एमभिए क्षमताको एक थान ट्रान्सफर्मर छन्। समग्रमा सबस्टेसनको क्षमता ८२.५ एमभिए छ।
सबस्टेसनबाट विद्युत आपूर्ति सुरू भएपछि मुख्य रूपमा जनकपुर, जलेश्वर, गौशाला र यदुकुवा वितरण केन्द्र अन्तर्गतका करिब डेढ लाख ग्राहक लाभान्वित हुनेछन्।
अब त्यस क्षेत्रको चुहावट कम हुने, न्यून भोल्टेज तथा छिनछिनमा विद्युत विच्छेद (ट्रिपिङ) लगायतका समस्या समाधान भई समग्रमा विद्युत आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने प्राधिकरण मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले बताए।
यसअघि उक्त क्षेत्रमा ढल्केबरबाट जनकपुरको मुजलिया हुँदै विद्युत आपूर्ति हुँदै आएको थियो। लाइन लामो र क्षमताले नधान्दा न्यून भोल्टेज, ट्रिपिङ लगायतका समस्या थिए।
त्यहाँ स्थानीय विद्युत आपूर्तिका लागि ३३ केभीका चार वटा फिडर निकाल्न सक्ने गरी संरचना तयार गरिएको छ। ३३ केभीका २ वटा फिडर जलेश्वर, एउटा गौशाला र एउटा जनकपुर क्षेत्रमा विद्युत आपूर्तिका लागि प्रयोग गरिने छ।
यसमध्ये जनकपुरतर्फ एउटा फिडर निर्माण सकेर सञ्चालनमा छ।
लोहारपट्टी सबस्टेसन वरपरको क्षेत्रमा विद्युत आपूर्तिका लागि ११ केभीका चार वटा फिडर लाइन निकाल्न सक्ने व्यवस्था गरिएको छ।
त्यसमध्ये दुइटा फिडर निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ। प्रसारण लाइन आयोजना तीन वर्षअघि सुरू गरिएको थियो।