कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बुधबार निर्माण व्यवसायीहरूलाई बोलाएर काम गर्न निर्देशन दिएका छन्।
मन्त्रालयको मातहतमा निर्माण भइरहेका कामको जिम्मा लिएका निर्माण व्यवसायीहरूलाई मन्त्रालयमै बोलाएर मन्त्री भण्डारीले हाल निर्माणाधीन संरचनाको काम समयमै सक्न निर्देशन दिएका हुन्।
‘अहिले जुन आयोजनाको जति काम भइरहेको छ, त्यसमा बाँकी रहेको काम पनि तोकिएकै समयमा गर्नुस्,’ मन्त्री भण्डारीले निर्माण व्यवसायीसँग भने, ‘अबका दिनमा काम भएन भनेर कुनै बहाना बनाउन मिल्दैन।’
निर्माण व्यवसायीलाई बोलाएर भण्डारीले मन्त्रालय मातहत भइरहेको आयोजनाको प्रगतिका बारेमा पनि जानकारी लिएका थिए।
सामाजिक विकास मन्त्रालयअन्तर्गत हाल प्रदेशका विभिन्न जिल्लाका १४ वटा आयोजना निर्माणको क्रममा छन्। त्यसमध्ये पाँच वटा योजनाको तोकिएको समयावधि सकिएको छ।
मन्त्री भण्डारीले समयावधि सकिएका योजनाका लागि मन्त्रालयका तर्फबाट अन्तिमपटक समय थप गरिदिन समन्वय गर्ने र थप भएको समयभित्र काम सम्पन्न गरिसक्न व्यवसायीले निर्देशन दिए।
मन्त्रालयमा पुगेका निर्माण व्यवसायीलाई उनले प्रदेशभित्र मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने क्षमता बनाउन सुझाव पनि दिए।
मन्त्रालयका तर्फबाट व्यवसायीलाई मर्का पर्नेगरी कुनै काममा ढिलाइ हुन नदिने आश्वासन पनि मन्त्री भण्डारीले जनाए।
‘सम्झौता भएर काम गरिरहेका व्यवसायीलाई समस्या सिर्जना हुनेगरी मन्त्रालयका तर्फबाट ढिलाइ हुन दिँदैनौं, तर व्यवसायीले आफैंले काममा ढिलाइ गरेर सरकारलाई दोष दिन भने पाइने छैन,’ उनले भने।
मन्त्री भण्डारीसँगको भेटका क्रममा निर्माण व्यवसायीहरूले पनि आफ्ना सुझाव तथा समस्या दर्शाएका छन्।
विकास निर्माणका कार्यमा निर्माण व्यवसायीको योग्दान भरपुर रहेको बताउँदै निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव मानव बमले समयमा काम सम्पन्न नहुनुमा मन्त्रालय मातहतका कार्यालयको पनि कमजोरी रहेको औंल्याए।
कतिपय कमजोरी निर्माण व्यवसायीले पनि गरेको उनले बताए।
व्यवसायी बमले आयोजनामा गरिने वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका प्रारम्भिक काममा ढिलाइ हुँदा निर्माण कार्यमा प्रभाव परेको बताए।
कर्णाली प्रदेश अस्पतालको भौतिक संरचना निर्माण गरिरहेको गौरा श्यामसुन्दर जेभीले अस्पतालको काम ५० प्रतिशत सम्पन्न भएको मन्त्री भण्डारीलाई जानकारी गराएको छ। लक्ष्य अनुसारको काम समयमै सम्पन्न हुने आश्वासन कम्पनीले मन्त्रालयसमक्ष राखेको छ।
भेटका क्रममा दैलेख अस्पताल निर्माणको जिम्मा पाएको स्टार कन्स्ट्रक्सनका सञ्चालक तारा शाहीले कोभिड र निर्माणाधीन क्षेत्रमा रूख कटानमा ढिलाइ हुँदा समयमै काम गर्न नसकिएको मन्त्रालयलाई जानकारी गराइन्।
कार्यालयले समयमा भुक्तानी नदिँदा समस्या भएको बताउँदै उनले यसै आर्थिक वर्षभित्र अस्पतालको काम पूरा गर्ने प्रतिबद्धता जनाइन्।
सल्यान अस्पतालको भवन निर्माणको जिम्मा लिएको आरोव्य सुवेदी जेभीका प्रतिनिधि जितेन्द्र महतोले ६५ प्रतिशत काम सकिएको मन्त्री भण्डारीलाई जानकारी गराए।
समयमै भुक्तानी पाए ३–४ महिनाभित्र भवन निर्माणको काम सकिने उनले बताए।
यस्तै, रुकुम पश्चिम जिल्ला अस्पतालको भवन पनि ४–५ महिनाभित्र सम्पन्न गरिने निर्माण जिम्मा पाएको कम्पनीले मन्त्रालयलाई जानकारी गराएको छ।