प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो पटक नियुक्ति भएको तीन वर्ष पूरा भएको अवसरमा कुलमान घिसिङले आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्यांकनमा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त भएको प्राधिकरणले बताएको छ।
प्राधिकरणको वित्तीय अवस्थामा थप सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत पुर्याउन विद्युतीकरणको काम प्रभावकारी ढंगले गरिएको दाबी घिसिङले गरे।
विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचना विस्तार एवम् सुदृढीकरणको काममा जोड दिएको पनि उनले बताए।
आफ्नो कार्यकालमा, उत्पादनतर्फका ठूला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक खपत वृद्धि तथा अतिरिक्त विद्युत निर्यातलाई उच्च प्राथमिकतामा राखी कार्य अगाडि बढाइएको उनको भनाइ छ।
पहिलो पटक प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुअघि आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र रहेकोमा अहिले उल्लेख्य बढेको घिसिङले बताए।
'यो अवधिमा भएको उपलब्धिमध्ये विद्युतीकरणमा प्राप्त उपलब्धि महत्त्वपूर्ण रहेको छ। तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ,' उनले भने।
विद्युतीकरणका लागि प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो लगानी गरिएको पनि उनले बताए।
सुकुम्बासी बस्ती तथा चेपाङ, मुसहरलगायतका विपन्नवर्गका घरपरिवारमा विद्युत पुर्याउन निःशुल्क मिटरसमेत वितरण गरिएको उल्लेख गर्दै उनले स्थानीय निकायहरूसँगको साझेदारीमा स्मार्ट सडक बत्ती विस्तार गरी सहर उज्यालो बनाउने कार्यमा समेत ठूलो लगानी गरिएको बताए।
'आठ वर्षअघि प्रतिवर्ष तीन अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकोमा अहिले १० अर्ब २३ करोड युनिट पुगेको छ। प्रतिव्यक्ति ऊर्जा खपत १ सय ३१ युनिटबाट बढेर ४ सय युनिट पुगेको छ,' घिसिङले थपे।
देशमा पर्याप्त निरन्तर विद्युत आपूर्ति हुँदा विद्युतीय सवारी साधनको प्रयोग पनि बढेको र भान्सामा खाना पकाउन विद्युतीय चुलो बल्न थालेकाले गर्दा पेट्रोलियम पदार्थको खपत घट्दा कार्बन उत्सर्जन घटाउन योगदान पुगेको उनको भनाइ छ।
विद्युत खपत बढाउन विद्युतीय सवारी साधनलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न प्राधिकरणले आफैं ६२ वटा चार्जिङ स्टसेन निर्माण गरी सञ्चालनमा ल्याएको उनले उल्लेख गरे।
हाल निजी क्षेत्रको लगानीमा निर्माण गरिएका चार सयभन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा छन्।
विगत ८ वर्षमा मात्र प्राधिकरण करिब एक खर्ब रूपैयाँ पुँजीगत लगानी गर्न सक्षम भएको पनि उनले बताए।
साथै, पछिल्लो आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रूपैयाँभन्दा बढी लगानी गरेको उल्लेख गरे।
'यसबाट प्रष्ट छ संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणबाट देखिएको प्राधिकरणको नाफा कुनै कागजी हैन। यो त आन्तरिक रूपमा लगानीका लागि एउटा दह्रो स्रोत हो,' उनले भने।
तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको घिसिङको दाबी छ।
'आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रूपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता भने ती दिन फर्केर हेर्नु परेको छैन। आर्थिक वर्ष ०७३/७४ मा १ अर्ब ५० करोड रूपैयाँ खुद नाफा कमाउँदै प्राधिरणले सुरू गरेको आफ्नो गौरवमय नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रूपैयाँ पुगेको छ,' उनले भने।
'आठ वर्षअघि ३४ अर्ब ६१ करोड रूपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रूपैयाँ सञ्चित नाफामा पुगेको छ,' घिसिङले थपे।
प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार तथा सुदृढीकरणमा ठूलो लगानी परिचालन गरिएको पनि उनले बताए।