नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले ट्रंक र डेडिकेटेड लाइनको बिल राखेर प्राधिकरण नाफामा देखाइएको भन्ने हल्ला गलत भएको बताएका छन्।
दोस्रो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा पत्रकार सम्मेलन गरेर घिसिङले प्राधिकरणले कागजी नाफा देखाएको भन्ने हल्ला धेरै ठाउँमा चलेको भए पनि त्यो हल्ला गलत भएको बताए।
प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रूपैयाँबाट उकालो लागेको उनले बताए।
महालेखा परीक्षकको कार्यालयबाट गरिएको अडिटबाटै पनि नाफा पुष्टि भएकाले कागजी नभएको उल्लेख गरे।
प्राधिकरणले विद्युत महसुल घटाएर पनि नाफा कमाएको उनको भनाइ छ।
अनावश्यक होइन समितिलाई अनुसन्धानमा सहयोग पुग्ने डकुमेन्ट पठाएका हौं– कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सार्वजनिक लेखा समितिलाई अनावश्यक डकुमेन्ट नपठाएको बताएका छन्।
अनुसन्धानका लागि सहयोग होस् भनेर सबै सम्बन्धित डकुमेन्ट पठाएको उनले बताए।
'अनावश्यक कुनै डकुमेन्ट पठाएको छैन। अनुसन्धानमा सजिलो होस् भनेर ९० कपी अदालतको डकुमेन्ट नपठाएको छौं,' उनले भने।
'आठ वर्षमा विद्युत प्राधिकरणले ८२ अर्ब नाफा कमायो'
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो ८ वर्षमा उल्लेखनीय वित्तीय सफलता हासिल गरेको बताएका छन्।
यो अवधिमा करिब ८२ अर्ब रूपैयाँ नाफा कमाएको उनले बताए। आर्थिक वर्ष २०७२/७३ मा प्राधिकरण ३५ अर्ब सञ्चित घाटामा रहेकोमा अहिले ४७ अर्ब सञ्चित नाफामा रहेको उनले दाबी गरे।
'कतिले कागजी नाफा भन्ने गरेको सुनिन्छ, यो त्यतिकै भएको होइन पछिलो ८ वर्षमा घाटा पूर्ति गेरर ४७ अर्ब नाफामा जाँदा ८२ अर्ब नाफा गरेको छ,' उनले भने।
आठ वर्षको अवधिमा विद्युतको प्रयोग उल्लेख्य बढेको उनले बताए।
प्रतिव्यक्ति विद्युत खपत १३१ युनिटबाट ४०० युनिट पुगेको, विद्युतको खपत बढेको कारण पेट्रोलको घटेको र विद्यतीय गाडी बढ्न थालेको उनले बताए।
उनले प्राधिकरणले आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब रूपैयाँ घाटा बेहोरेकोमा त्यपछिका दिनमा कहिले घटामा जानु नपरेको बताए।
एक अर्बबाट नाफा आर्जन गर्न सुरू गरेकोमा गत वर्ष १३ अर्ब नाफा कमाएको उनले बताए।
वितेका ८ वर्षमा तीन पटक विद्युतको महसुल घटाएको उनको भनाइ छ।
'सायदै कुनै पनि सेवामा यसरी महसुल घटाइएको छैन प्राधिकरणले महसुल घटाएर पनि नाफा कमाएको छ,' घिसिङले भने।
जीवनको सबैभन्दा ठूलो चुनौती उठाएर प्राधिकरणको जिम्मेवारी लिएको हुँ- कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी लिनु आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौतीको समय रहेको प्रतिक्रिया दिएका छन्।
घिसिङले दोस्रो कार्यकाल सुरू गरेको तीन वर्ष पूरा गरेको अवसरमा शुक्रबार गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
'तीन वर्ष अघि आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौती स्वीकार गरेर जिम्मेवारीमा आएको हुँ,' पत्रकार सम्मेलनमा उनले भने।
प्राधिकरणभित्रको सुशासन, वित्तीय अवस्थाको थप सुधार, भरपर्दो र गुणस्तरीय आपूर्ति आफ्नो दोस्रो कार्यालयको प्राथमिकताका विषय रहेको उनले बताए।
अहिले यिनै कामलाई प्राथमिकता दिइएको उनको भनाइ छ।
२०७२/७३ मा ५३ प्रतिशत मात्रै विद्युतीकरण पुगेकोमा अहिले ९९ प्रतिशत पुगेको उनले बताए। तीन वर्षअघि विद्युतका ग्राहको संख्या २९ लाख मात्रै रहेकोमा अहिले बढेर ५९ लाख पुगेको उनको भनाइ छ।
दोस्रो कार्यकालको अघिल्ला दुई वर्षमा कार्यसम्पादन मूल्यांकनमा उच्चतम अंक पाएको विषय पनि उनले बताए।
उनका अनुसार आर्थिक वर्ष २७८/७९ मा उनले ९४.२३ अंक पाएका थिए। त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा ९८.९४ अंक पाएका थिए। तेस्रो वर्षको मूल्यांकन भने अहिले चलिरहेको उनले बताए।