एमसिसी परियोजनाअन्तर्गत नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता गरिएको छ।
भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग सम्झौता भएको हो।
बुधबार ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा एमसिए नेपालले टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग सम्झौता गरेको हो।
सम्झौता पत्रमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङलाई ३८.८९ मिलियन अमेरिकी डलर अर्थात् ५ अर्ब १७ करोड रूपैयाँमा ४०० केभी सबस्टेसन बनाउने ठेक्का दिइएको छ।
नयाँ दमौली सबस्टेसनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनसँग ऊर्जा प्रवाहका लागि महत्त्वपूर्ण विन्दुको रूपमा काम गर्नेछ।
ऊर्जामन्त्री खड्काले सबस्टेसनले नेपालको विद्युत वितरण प्रणालीमा महत्त्वपूर्ण योगदान पुग्ने बताए।
अर्थ सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष रामप्रसाद घिमिरेले सबस्टेसन निर्माणको सबै ठेक्का टुंगो लाग्नु परियोजनाका लागि राम्रो संकेत भएको बताए।
एमसिसी नेपाल कम्प्याक्टले तीनवटा सबस्टेसनका अतिरिक्त काठमाडौंको लप्सिफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नुपर्नेछ।
१८ किलोमिटर लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रको मूल्यांकन कार्य भइरहेको परियोजनाले जनाएको छ। यसको निर्माण सम्झौता साउनमा गर्ने तयारी छ।
बाँकी २९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि टेण्डर आह्वान गर्न बाँकी छ।