नेपाल भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमै विद्युत खुद निर्यातकर्ता बनेको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा १६ अर्ब ९३ करोड रूपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ। निर्यात गरिएको परिमाण आयातभन्दा बढी छ।
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षको साउनदेखि असारसम्म एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रूपैयाँ आम्दानी गरेको हो।
प्राधिकरणले गत आवमा १६ अर्ब ८१ करोड तीन लाख रूपैयाँको विद्युत आयात गरेको छ।
सुख्खायाममा खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदीप्रवाही जलविद्युत् गृहहरूबाट विद्युत उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत आयात गरिएको प्राधिकरणले जनाएको छ। हिउँदयाममा आयात गरिएको विद्युत्को औसत दर प्रति युनिट ९ रूपैयाँ १७ पैसा छ।
गत आर्थिक वर्षमा आयातभन्दा १२ करोड २३ लाख रूपैयाँको बढी विद्युत भारततर्फ निर्यात भएको हो। यसैगरी, ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख लाख युनिट बढी विद्युत निर्यात भएको हो।
वर्ष २०७९/८०मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रूपैयाँको विद्युत आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाख रूपैयाँको निर्यात गरिएको थियो।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत्भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र मध्यकालीन विद्युत सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ।
एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ। निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रूपैयाँ ७२ पैसा छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत आयात गर्नु परे पनि अब निर्यातको परिमाण बढ्दै जाने बताए।
'६/७वर्षअघिसम्म विद्युत् आयातकर्ताको मात्र अवस्था थियो, ३ वर्षअघिबाट भारतीय प्रतिस्पर्धी बजारमा विद्युत निर्यात सुरू गरेतापनि निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था थियो, अब गत आर्थिक वर्षबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था बनेको छ, थोरै परिमाणमा खुद निर्यातकर्ता भएता पनि यो महत्वपूर्ण उपलब्धि हो, ऊर्जा क्षेत्रका लागि एउटा कोशेढुङ्गा हो,' कार्यकारी निर्देशक घिसिङले भने।
विद्युतको पर्याप्त उपलब्ध हुँदा देशभित्र विद्युतीय सवारी साधन र इन्डक्सन चुलोको प्रयोगले पेट्रोलियम पदार्थको आयातमा गिरावट आउँदा र विद्युत् निर्यात परिमाण बढ्दा नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको छ उनको भनाइ छ। यसबाट देशको विदेशी मुद्रा सञ्चितिमा पनि सकारात्मक प्रभाव परेको उनले बताए।
नेपालले भारतको इनर्जी एक्सेचेन्जको डे अहेड मार्केटमासन् २०२१ मे १ मा प्रवेश पाएको थियो। सुरूमा विद्युत आयात अनुमति पाएको नेपालले सन् २०२१ नोभेम्बर ३ मा निर्यातकर्ताको रूपमा पनि प्रवेश पाएको थियो।
हाल नेपालले मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा दैनिक करिब सात सय मेगावाट विद्युत भारतमा बिक्री गरिरहेको छ। प्राधिकरणले १६ वटा आयोजनाबाट उत्पादित ६९० मेगावाट विद्युत निर्यात अनुमति पाएको हो।
कार्यकारी निर्देशक घिसिङले मध्यकालीन सम्झौताअनुसार थप चार सय मेगावाट विद्युत् निर्यात अनुमति पाउने चरणमा रहेको उल्लेख गरे।
'हरियाणा र बिहार राज्यलाई बिक्री गर्ने गरी थप ४०० मेगावाट विद्युत निर्यात गर्न भारतको सम्बन्धित निकायबाट अनुमति आउने चरणमा छ, बंगलादेशसँग पनि छिट्टै सम्झौता गरी यसै वर्षबाट ४० मेगावाट निर्यात गर्दैछौं,' घिसिङले भने,'लिऊ या तिर सर्तसहित विद्युत खरिद बिक्री सम्झौता गरिएका निजी क्षेत्रका जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत प्रसारण लाइनमा समस्या आउँदाको अवस्थामा बाहेक खेर गएको छैन।'